२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मायाको मर्म

दृष्टि

कसैप्रति माया बस्नुको कुनै कारण हुँदैन। माया मात्र मायाका लागि गरिन्छ। यदि कसैले कसैसँग कुनै उद्देश्यका लागि माया गर्छ भने त्यो मायाको कुनै औचित्य हुँदैन।

राधाकृष्णको मायामा आधारित यो भनाइ र आजभोलिको मायाप्रेमको अवस्था हेर्दा समाज कतातिर मोडिँदै छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ। आज जति पनि हिंसाहरू हुँदै छन्, मायाबिनाको सम्बन्धले गर्दा हुँदै छन्। प्रत्येक घरमा श्रीमान् श्रीमतीबीच बहस, झगडा, मानसिक तथा शारीरिक प्रताडना अनि छोराछोरीमा नकारात्मक असर। कतिपय छोराछोरीहरू आमाबुबाको सम्बन्ध बिग्रेको देखेर विवाह गर्न नखोज्ने भएका छन् भने कतिपय छोराछोरीहरू विवाहबिनाकै सम्बन्धमा बस्न चाहन्छन् अनि छोराछोरी जन्माउनसमेत चाहँदैनन्।

भर्खरै मात्र घटेको काभ्रेस्थलीको घटनाले पनि यो कुराको प्रमाणित गर्छ। श्रीमान् र श्रीमतीको झगडाले ठुलो रूप लिँदा २ जना अबोध बालबालिकाको समेत ज्यान गएको छ। मान्छेहरू हिंस्रक बन्दै गइरहेका छन्। सम्बन्ध छ तर माया छैन, विश्वास छैन। मायाले वीर-वीराङ्गना अनि लडाकुहरूलाई समेत वशमा राखेका सुन्दर उदाहरणहरू हामीसँग छन्।

यस्तै उदाहरण लिनुपर्दा नेपोलियन बनापार्ट जो फ्रान्सका शासक अनि विश्वकै शक्तिशाली लडाकु व्यक्ति, उनी पनि प्रेमको लडाइँमा नमजासँग हारे। उनलाई एक १४ वर्षको छोराकी आमा आफूभन्दा जेठी ३२ वर्षीय विधवा जोसेफिनसँग पहिलो नजरमा माया बस्यो। उनले जोसेफिनलाई मायाको प्रस्ताव राखे तर जासेफिन रानी बन्न चाहँदैन थिइन् तर पनि उनले नेपोलियनसँग विवाह गरिन्।

साह्रै राम्री जोसेफिनसँग दिनहरू बित्दै थिए। उनले संसार जित्ने सपना पूरा गर्न लडाइँ पनि लड्दै थिए। लडाइँको मैदानबाट आफ्नो प्रिय पत्नीलाई थुप्रै चिठीहरू लेख्थे तर जोसेफिनले ती चिठीहरूको कुनै मतलब राख्दैनथिन्। उल्टै उनले आफ्नो दरबारमा आफ्नो प्रेमी चाल्सलाई बोलाएर समय व्यतित गर्न थालेकी थिइन।

यो कुरा नेपोलियनले आफ्नो गुप्तचर मार्फत चाल पाए। केही समयसम्म उनी चुप रहे। अचाक्ली भएपछि उनले चाल्स र जोसेफिनलाई युद्धको मैदानमा बोलाए र चाल्सलाई मृत्युदण्ड दिन आफ्नो तरबार उठाउँदा यो देखेर जोसेफिनले माफी मागेर चाल्सलाई बचाइन् र चाल्सलाई देश निकाला गरियो।

जोसेफिन पुनः नेपोलियनसँग बस्न थालिन् तर उनले चाल्सलाई बिर्सन सकिनन्। उनले नेपोलियनसँग तलाक लिएर चाल्ससँग बस्न थालिन्। नेपोलियनले पछि लुसीसँग विवाह गरे तर १५ वर्षसम्म सँगै बिताएकी आफ्नी प्रिय पत्नी जोसेफिनलाई बिर्सन सकेनन्। बाँकीको जीवन युद्धमै बिताए र प्राण त्यागे। ‘इच्छाशक्ति भए असम्भव भन्ने केही छैन’ भन्ने मान्यता राख्ने ‘नेपोलियनजस्ता शक्तिशाली व्यक्तिले पनि प्रेममा हार खानुपर्‍यो।

अर्का प्रख्यात भारतीय उद्योगपति रतन टाटा जो जीवनभर अविवाहित रहे। चार पटकसम्म विवाहको नजिक पुगेर पनि उनले विवाह गरेनन्। पढाइको क्रममा उनी लसएन्जलस हुँदा उनकी एक प्रेमिका थिइन् र टाटाले उनीसँग विवाह गर्ने बाचा गरेका थिए। उनकी प्रेमिकाका अभिभावकले उनलाई भारत जाने अनुमति दिएनन्। फलस्वरूप रतन टाटाले उनीसँग गरेको बाचा पूरा गर्न जीवनभर विवाह गरेनन् र आफ्नो वचनमा कायम रहे।

यस्तै भगवान् श्री कृष्ण र राधाको प्रेम संसारमै सबैभन्दा प्रख्यात अनि सुन्दर प्रेमको अनुपम उदाहरण हो। कृष्ण मुखियाको छोरा अनि राधा साधारण गोठाल्नी। कृष्णको बाँसुरीको धुनमा मुग्ध भएर कृष्णको प्रेममा विलीन बनेकी कृष्णभन्दा जेठी राधाको विवाह अरू कसैसँग भयो र कृष्णको आत्मीय अनि मौन प्रेममा नै दुवै जना खुसी थिए। दुवैले आआफ्नो जीवनमा गर्नुपर्ने कर्तव्य गरिरहे।

 भनिन्छ, कृष्णलाई नजिकबाट नियाल्न राधाकृष्णको दरबारमा सेविकाका रूपमा काम गर्न थालिन् र गरिरहिन्। शारीरिक रूपमा अशक्त भएपछि उनले काम छोडिन्। एक दिन अशक्त र बृद्ध राधाले कृष्णलाई बोलाइन्। आफ्नी प्रेमिकाको पुकार सुनी कृष्ण राधा भएको ठाउँमा पुगे। त्यतिबेला राधा आफ्नो अन्तिम श्वास फेरिरहेकी थिइन्। उनले कृष्णलाई बाँसुरी बजाउन अनुरोध गरिन् र कृष्णले बासुरीको धुन राधालाई सुनाए। कृष्णको अन्तिम बाँसुरीको धूनसँगै राधा यो संसारबाट विलीन भइन्। त्यस दिनपश्चात् कृष्णले बाँसुरी बजाउन छोडे।

यस्ता प्रेमका अनुपम उदाहरणहरू हामीमाँझ धेरै छन्। तर, आजभोलि माया, प्रेम भने शारीरिक हुन थालेको छ। मानसिक र मनले नजोडिएको शारीरिक प्रेमको आयु शरीरले साथ दिँदासम्म रहन्छ। त्यसपछि लडाइँ, झगडा र तनावबाहेक केही रहँदैन। हाम्रो समाजमा फैलिँदै गरेको यो दुषित प्रेमबाट टाढा रहने हो भने यो संसार सुन्दर छ, मायालु छ।

आजको समस्या विदेश जान गरिने कागजी विवाह, धेरै जना प्रेमीप्रेमिका बनाउनु, सहजै धोका दिनु हो। यी सबै कुराहरूबाट आफ्नै छोरा छोरीहरूलाई जोगाउन अभिभावकहरू सचेत हुनु जरुरी छ। छोराछोरीहरूको कुरा सुनिदिने र उनीहरूलाई एक्लो महसुस नगराई उनीहरूको साथ दिने गरेमा समाजमा हुने अपराधको संख्यामा कमी आउन सक्छ।

प्रकाशित: ११ भाद्र २०७९ ०३:५६ शनिबार

अक्षर