७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

धार्मिक तथा सामाजिक महत्त्वको पर्व तीज

हाम्रो समाजमा जति पनि चाडपर्व छन्, ती सबै सनातन धार्मिक परम्पराअनुसार सौर्यमास र चान्द्रमासका आधारमा छन्। गतेको आधारमा मनाइने पर्वलाई सौर्यमासअनुसार र तिथिको आधारमा मनाइने पर्वलाई चान्द्रमास अनुसार बताइएको छ।

नयाँ वर्ष, बुद्धपूर्णिमा, गुरूपूर्णिमा, मातातीर्थ औंसी, नागपञ्चमी, जन्माष्टमी, हरितालिका तीज, कुशेऔंसी, विश्वकर्मा पूजा, दशैं, तिहार, सरस्वती पूजा, शिवरात्रि, होली लगायत जति पनि पर्व छन्, ती सबै सौर्यमास र चान्द्रमासका आधारमा छन् र ती सबैको आआफ्नै किसिमको धार्मिक तथा सामाजिक महत्त्व रहेको छ। ती पर्वहरूमध्ये हरितालिका तीज पनि एक महत्त्वपूर्ण पर्व हो, जसले सामाजिक प्रपञ्चमा बाँधिएर पराई घर गई नयाँ जीवनको सुरुवात गरेकी चेली र माइतीको सम्बन्धलाई नजिक गराइदिन्छ।

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्त्वपूर्ण पर्व हो, हरितालिका तीज। आउँदो सोमबारदेखि सुरु हुँदै छ। हिन्दू पात्रोअनुसार चान्द्रमासका आधारमा प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीका दिनसम्म मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ।

धार्मिक पक्षलाई हेर्दा अनादि कालमा आदिशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ। राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शिवजीको तपस्या गरिन्। लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत गरिन्।

अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ। सोही आधारमा तीज उत्सव मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।

तीजको पहिलो दिन द्वितीया खुवाउने भनेर माइती तथा मावली पक्षले आफ्ना छोरीचेली,दिदीबहिनी, भान्जीलाई बोलाएर विभिन्न मिष्ठान्न परिकार तयार पारेर खुवाउने चलन छ। दोस्रो दिन अर्थात् तृतीयाका दिन महिलाहरूले नुहाइधुवाइ गरेर व्रत बस्ने, शिवालय तथा गाउँटोलमा भेला भई शिवपार्वतीको पूजाआजा गर्ने र दिनभर नाचगान गरेर मनोरञ्जन गर्दछन्।

त्यस्तै, तेस्रो दिन गणेश चतुर्थीका दिन सिद्धिविनायक गणेश भगवान्लाई खुसी पार्न उनको दर्शनपूजन गर्ने, सो दिन पनि व्रत बस्ने र पञ्चमीका दिन सप्तऋषिको पूजा गरी हरितालिका तीज समापन गर्ने शास्त्रीय मान्यता रहेको छ।

दरखाने दिन

तीजको पहिलो दिन माइतीले चेलीबेटीलाई लिन जाने वा बोलाएर मिठा–मिठा परिकार बनाएर खुवाउने चलन छ। यसरी भेला भएका चेलीबेटीले खानपानका साथै आफ्ना मनका भावना एवं सुखदुःखसमेत साटासाट गर्ने गर्दछन्। यसै दिनदेखिहरितालिका तीज पर्व सुरु हुन्छ।

यस दिन छोरीचेलीलाई माइतीले, दिदीले बहिनीहरूलाई र मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गरिन्छ। दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो। भोलिपल्ट व्रत बस्न शक्ति प्राप्त होस् भनेर महिला दिदीबहिनीहरूले राति १२ बजेसम्म पौष्टिक आहार गर्ने चलन रहेको छ।

व्रत बस्ने दिन

नेपाली महिलाले बस्ने तीजको व्रत सबैभन्दा ठूलो र कडा व्रत मानिन्छ। यस दिन अविवाहित बालिका तथा किशोरीहरूले मनोकामना पूर्ण होस् अर्थात् समयमै शिवजी जस्तै आफूलाई माया गर्ने, पालनपोषणमा ख्याल गर्ने राम्रो र योग्य वर पाइयोस्, विवाहित महिलाले आफ्नो श्रीमान् दीर्घायु हुन्, दाम्पत्य जीवन सुखमय बनोस् र विधवा भइसकेका महिलाले अर्को जन्ममा सौभाग्यवती भएर जीवन बिताउन पाऊँ, यसरी विधवा भएर एकल महिलाको रूपमा जीवन बिताउनु नपरोस् भन्ने कामनासहित व्रत बस्ने चलन रहेको छ। आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक विधान रहेको छ।

तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय मान्यता छ। सफा पहिरनमा साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नेचलन छ। व्रतालुले आफूमा रहेका नकारात्मक सोचविचार, काम, क्रोध, लोभ, मोह, मद, अहंकार र जानीनजानी गरिएका पापादि कर्म तथा खराब आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश रगणेशको पूजा गरी शिवपार्वतीको षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ। यस दिन व्रतालुहरूले शरीरशुद्धि, आत्माशुद्धि तथा मन शुद्धिका लागि प्रायश्चित्त गोदान गरी व्रत सुरु गर्ने, व्रतकथा सुन्ने र समापन गर्ने चलन रहेको छ।

सो अवसरमा महिलाहरू माइतीमावलीमा भेला हुने र साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पिरमर्का पोख्ने गर्दछन्। यो अर्थमा तीज महिलामैत्री पर्वका रूपमा परिचित छ। साथै सामाजिक व्यवहारका क्रममा कहिलेकाहीँ दाजुभाइ, दिदीबहिनी लगायत नातागोतामा खटपट वा मनोमालिन्य हुनसक्छ, जसलाई यस पर्वले पुनः आत्मीयतामा परिणत गरिदिन्छ। त्यसैले पनि पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलालेसमेत हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ।

यता आधुनिक समाजमा महिला अधिकारकर्मी तथा धर्मभीरूहरूले तीज पर्वको अपव्याख्या गरे पनि यो पर्व वा व्रत पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि, सभ्यता र समाज चलाउन पूर्वीय धर्मसंस्कृतिअनुसार विवाहपछिमहिलाहरू पतिगृह जाने र जीवन बिताउने गर्दछन्।

आफ्नो जन्मस्थल, आमाबुवा, दाजुभाइ, आफ्नाआफन्त र समाजलाई छोडेरअर्काको घरमा जीवन बिताउँदा आउने माइतीको सम्झनालाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा पनि यो पर्वलाई लिइन्छ। अर्काको घरमा, अर्काको अधीनमा रहँदाबस्दा परेको पिरमर्कालाई पनि माइतीको सामीप्यले महिलालाई केही सान्त्वना दिने भएकाले माइती पक्षबाट तीजमा छोरीचेलीलाई बोलाएर मिठामिठा खानाका परिकार खुवाउने, गरगहना तथा नयाँ लुगाकपडा दिने गरिएको हो।

यसरी सामाजिक तथा व्यावहारिक रूपमा महिलालाई पराईघरको तनाव, जिम्मेवारी र माइतीको यादलाई कम गर्न हरितालिका तीज पर्वले ठूलो भूमिका खेलेको पाइन्छ।

धार्मिक पृष्ठभूमि

शिवपुराणका अनुसार हिमालय पर्वतले छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने निर्णय गरे तर यो कुरा पार्वतीलाई मन परेन। कारण, अघिल्लो जन्ममा सतीदेवी भएर महादेवकै पत्नी रहेकी पार्वतीले सानैदेखि शिवजीलाई नै पति पाऊँ भनी सङ्कल्प गरेकी थिइन्। त्यसैले उनी शिवजीलाई पति पाऊँ भनी तपस्या गर्न थालिन्। उनले लामो समयसम्म तपस्या गरे पनि फल नपाकाएले उनले एक दिन शिवलिङ्गको स्थापना गरी पानीसमेतनपिइकन निराहार व्रतबसिन्।

यसरी पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव-पार्वतीको विवाह भएको उल्लेख छ। पार्वतीले मनोकामना पूर्ण होस् भनी वरदान पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले सोही समयदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

गणेश चौथी

हरितालिका तीजको तेस्रो दिन अथवा भाद्र शुक्लपक्षचतुर्थीका दिन गणेशचौथी व्रत गर्ने चलन छ। यस दिन मध्याह्नमाशुभलाभका प्रतीक गणेश भगवान्को जन्म भएकालेयस पर्वलाई सिद्धिविनायकको जन्मदिवस अर्थात् गणेशचौथी नामले मनाउने गरिएको छ।

पाञ्चायन पूजामा गणेशजीको स्थान महत्त्वपूर्ण मानिन्छ र पूजा गरिन्छ। शिवपार्वतीका पुत्र गणेशजीलाई हिन्दूहरूका प्रथम पूज्य देवता मानिएको छ। मनुष्य शरीर भएका श्रीगणेशको मुख हात्तीको जस्तो र पेट एकदम ठूलो मानिएकोछ। यस दिन गणेश मन्दिरमा गएर गणेशजीलाई १०८ वा १००८ दुबो, लावा र लड्डू चढाउनाले सिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन गणेशको जन्म दिन भएकाले रातमा चद्रमाको दर्शन भने गर्न नहुने शास्त्रमा उल्लेख छ। गणेश चौथीका चन्द्रदर्शनले झुठो आरोप लाग्ने र कलंकित बन्नुपर्ने श्रीमदभागवत महापुराणमा बताइएको छ।

ऋषिपञ्चमी

तीजको अन्तिम दिन अर्थात् भाद्र शुक्लपक्ष पञ्चमीका दिन यो पर्व मनाइन्छ। पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानीनजानी गरिएका जति पनि स्पर्शादि दोषहरू छन्, ती दोषबाट मुक्ति पाउन यो व्रत बसिन्छ। श्रीमद्भागवत, गरुड पुराणलगायत धार्मिक ग्रन्थ अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याको पाप लागेको थियो, जुन पापबाट मुक्ति पाउन उनले चार भाग लगाएर एक भाग नारीहरूको मासिक धर्ममा प्रवेश गराएका थिए। त्यसैका कारण महिलाहरू महिनामा चार दिन अशुद्ध रहन्छन् वा रजोवती हुन्छन्।

यो महिनावारी वा रजश्वला प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी महिला हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो। यो समयमा पेटमा रहेका विकारहरू निस्कन्छन् र उनीहरू सन्तान उत्पादन गर्नयोग्य बन्छन् भनेर उल्लेख गरुणपुराणमा उल्लेख छ।

यसरी सम्पूर्ण मानवीय चक्र वा सृष्टिको सुरुवात नै नारीको मासिक रजस्वलाबाट सुरु हुने धार्मिक तथा व्यावहारिक रूपमा प्रस्ट छ।

धार्मिक प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराज आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, जसमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाएको एउटा कथा पनि प्रस्तुत गरिएको छ। पौराणिक प्रसंगमै इन्द्रलाई त्वष्टा ऋषिका पुत्र वृत्रको हत्या गरेको दण्डसजाय व्यहोर्नुपर्‍यो। सो पापबाट मुक्ति पाउन उनले अग्निमा एक भाग, नदीमा एक भाग, पर्वतमा एक भाग र स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा) मा एक भाग बाँडे।

अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउन ऋषिपञ्चमीको व्रत लिनुपर्ने हिन्दूधार्मिक ग्रन्थमा उल्लेख छ। यस दिन महिलाहरू नदी, खोला, पोखरी लगायत जलाशयमा गई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गर्दछन्। ऋषिहरूको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउने चलन छ।

यसरी अरून्धतीसहित सप्तऋषिको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई मुक्ति मिल्ने भविष्योत्तर पुराणमा उल्लेख छ। 

प्रकाशित: ११ भाद्र २०७९ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App