महिलाको महान् पर्व हरितालिका तीजको आगमन भइसकेको छ। यतिबेला तीजका लागि गरगहना किन्ने कस्मेटिक र कपडा पसलहरू भिडभाड देखिन थालेको छन्। महिलाहरू गहना, नयाँ पोते–चुरा, कपडा, सौभाग्यका सामानहरू किन्न व्यस्त देखिन्छन्। दर खाने र खुवाउने चहलपहल बढिरहेको छ। तीजको आगमनसँगै महिला दिदीबहिनीहरू सबै उत्साहित देखिन्छन्।
तीज पर्व हरेक वर्ष भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइन्छ। दर खाने दिनसँगै तीजको आगमन हुन्छ। यस दिनमा घरका सबै विवाहित अविवाहित छोरीचेलीहरू एकै ठाउँमा जम्मा भई दर खाने चलन छ। यो दर खाने चलन मध्यरातसम्म नै हुन्छ।
दोस्रो दिन महिलाहरू निराहार व्रत बस्छन्। नसक्ने कतिले पूजा पाठ गरेर फलाहार गछन्। यस दिनमा विवाहित नारीहरूले रातोपिरो भएर सिँगारिएर बस्छन्। नाँचगान गर्दै भगवान् शिवको आरती गर्छन्। त्यस दिन शिवालयहरूमा दर्शन गर्नेको भिड हुन्छ नै। नाँचगान पनि भव्य हुन्छ। आफ्नो श्रीमान्को सुस्वास्थ्यको कामना गदै बसिने यो व्रत विशेषतः श्रीमान्का लागि बसिन्छ। पार्वतीले श्रीमान् शिव पाऊँ भनेर व्रत गरेपछि उनलाई शिव प्राप्त भएको पुरानो किंवदन्ती रहेको छ।
हुन त अहिले दर खाने र नाँचगान गर्ने कार्यक्रम महिनौ दिनअघिदेखि नै सुरु हुन्छ। कतिले यसलाई देखावटी भन्ने गरेका छन् भने कतिले रमाइलो गर्ने र आआफ्नो घरमा बोलाएर सत्कार गर्ने रूपमा लिएका छन्।
हिन्दु संस्कारमा व्रतको ठूलो महत्व छ। वैज्ञानिक पक्षबाट हेर्दा पनि व्रतले मान्छेलाई स्फूर्ति बनाउँछ भन्ने धारणा पनि छ। पूजापाठ, भगवान्को नाममा योग–ध्यानमा मस्त हुँदा आनन्द हुने गर्दछ भने एकातिर यसले हामीमा भगवान्प्रति आस्था र विश्वास बढ्दै जान्छ र मानसिक रूपमा स्वस्थ पनि तुल्याउँछ। अर्कातर्फ व्रतले शारीरिक अवस्थामा सन्तुलन लिई शरीरलाई स्फूति तुल्याएको हुन्छ। आध्यात्मिक रूपमा शुद्धता ल्याई मानसिक स्वास्थ्मा पनि शुद्ध राख्दछ। तीजको व्रत बसेमा श्रीमान्को आयु बढ्ने, सम्बन्ध गाढा हुने एवम् घरमा सुख शान्ति हुने भएकाले हिन्दु नारीहरूले तीजलाई विशेष रूपमा व्रत लिने गरेका छन्।
वर्षको एकपटक भए पनि दिदीबहिनीहरूसँग भेटघाट, नाँचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई विशेष रूपमा महिला दिदीबहिनीले लिने गरेका छन्।
यस दिनमा छोरीचेलीहरूले माइती तथा समाजमा आफूमाथि परेको अन्याय–अत्याचार एवम् हिंसालाई गीतसङ्गीतमार्फत व्यक्त गर्ने गर्छन् तर अहिले यो तीज गीतमा पुरुषको सहभागिता बढी देखिन थालेको छ। विरहभन्दा पनि अहिले तीजका गीतसङ्गीत आधुनिक हुँदै गइरहेका छन्। समयअनुसार तीज गीतको ढाँचा पनि बदलिएको छ।
अहिलेका कति तीजका गीतहरू आडम्बर, विकृति फैलाउने भड्किलो बन्दै गएको आरोप पनि लागिरहेको छ। पहिलेका गीतहरू समाजसँग मेल खाने हुन्थे तर अहिले समयसँगै गीत गाउने र नाँच्ने ढाँचामा बदलिएका छन्। पुरुषहरूले पनि साडी लगाएर गाउन–नाँच्न थालेपछि तीजजस्तो पर्वमाथि धारे विरोध हुने गरेको छ। कतिले समय सान्दर्भिक गीतमा भाका हालेर तीजलाई उत्साहजनक बनाएका पनि छन्। आफ्नासँग रमाइलो गर्ने पर्व तीज आफैमा विशेषता बोकेको सङ्गीतमय पर्व पनि मानिन्छ। पहिले आफ्नै नन्द, आमाज्जू, आमा, भाउजू, बुहारी र साथीसँगीसँग मनाएर रमाइलो गरिन्थ्यो। तर अहिले परिवर्तन हुँदै साथीभाइ र सङ्गठित भएर दर खाने र नाँचगान गर्ने चलन बढिरहेको छ। पालो पुर्याएर सबैको घरमा दर खुवाउने र खाने चलन बढ्दो छ। यो राम्रो कुरा पनि यस्तै चाडबाडले नै हामीलाई सम्बन्ध गाँस्न सिकाउँछ।
पर्वको आकर्षण पनि यही नै हो। समयसमयमा आउने यस्ता पर्वहरूले धर्म र संस्कार जोगाएका छन्। मिठो खाने, राम्रो लगाउने, भेटघाट गर्ने माहोल पनि मिलाइदिएका छन्। यस्ता परम्पराले हाम्रो जीवनमा ऊर्जा पनि थपेका छन्। जसबाट हामी अलग हुन कहिल्यै सक्दैनौँ। झन् तीज यस्तो पर्व हो, जसले महिलाका लागि विशेष मान्यता राख्दछ।
केही वर्ष यतादेखि तीजले विकृति निम्तायो भन्नेहरू धेरै छन्। बढी आडम्बर देखाउनेलगायतका नकारात्मक पक्षलाई लिएर यस पर्वमाथि टीकाटिप्पणी गरेको पनि पाइन्छ। व्रत लिएर लोग्नेको खुट्टाको पानी खाएर के नै हुन्छ? यो प्रथाले महिलालाई निचा देखाउने काम गरेको छ भन्नेहरू पनि धेरै छन् भने पर्वले कसैको कुभलो चाहँदैन, पर्वले कसैलाई हानी गर्दैन भन्नेहरू पनि छन्। बरु यस्ता परम्पराले त समाजलाई ऊर्जा थपेको छ। यस्तै रीतिथितिले नै समाजमा आत्मीयता गाँसेको छ। संस्कार र परम्परा समाजलाई बाँध्ने कडी पनि हो
तीजको मुख्य आकर्षण नै व्रत हो। आफ्नो स्वास्थ्यलाई असर नपर्ने गरी कोही व्रत बस्छ भने अरूको टाउको दुखाउने अधिकार कसैलाई छैन। पर्वको महत्व सबैले बुझेका छन्। आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। धेरै महिलाले राम्रो नराम्रो कुरा बुझेका छन्। व्यक्तिगत चाहना र अधिकारमाथि हस्तक्षेप पनि गर्नु उचित होइन भन्ने लाग्छ। पहिलो कुरा त धर्मकर्म आफ्नै लागि गर्ने हो। आफ्नो संस्कृति आफै जोगाउने हो। आफ्नो रीतिरिवाजअनुसार कर्म गर्दा भावी पुस्ताले पनि अँगाल्छन्। हामीले हरेक कुरामा बुझेकाउठाउनुभन्दा पनि त्यस चिजको महत्वलाई बुझेर काम गर्ने हो भने हाम्रो परम्परा दिगो रहिरहन्छ। पुर्खाले छोडेका संस्कारलाई सन्ततिले संरक्षण नगरेर कसले गर्छ। हामीले पर्वलाई उत्साहित रूपले हेर्न जरुरी छ।
प्रकाशित: ११ भाद्र २०७९ ०२:५८ शनिबार