दिनेश निरौला
‘एउटा घडेरी पनि जोड्न सकिनस् यो उमेरमा। छोराछोरी सरकारी स्कूलमा पढाको छस्। अर्ती दियो भने उल्टै रिसाउँछस्। तँ त खानदानकै अर्घेलो भइस् केटा। तँलाई आफ्नो हो भन्न पनि लाज लागेर आउँछ। हेर् त तँसँगै जागिर खाएका अरूलाई। हामीले जागिर नखाएरै हाइदाइ गरेका छौं। गीता पुज्ने हो बाबै, काखी च्यापेर हिंड्ने हैन। छोड् दे यो जागिरसागिर। हामीसँगै व्यापारमा हिंड्।’ ठुल्दाइले फोन उठाएर सञ्चोविसञ्चो समेत सोधेनन्। हिजो साल्दाइले पनि पैसा पुराण मात्रै सुनाए।
-जसरीतसरी चलेकै छ। मलाई ठिक छ त यिनीहरूको टाउको किन दुखेको! गाउँमा पुर्ख्यौली छँदै छ। घडेरी नभएर के फरक पर्छ र?
सरकारी स्कूलमै भए पनि नानीहरू कहिल्यै दोस्रो भएका छैनन्। आखिर हिजो सबैले त्यै स्कूल पढेका हुन्। आज त्यै स्कूललाई घृणा गर्नु भनेको यिनीहरूलाई आफ्नै विश्वास नलाग्नु त हो। मैले पनि यिनको चासो छोड्नुपर्छ अब। आफैसँग बात मार्दै कोठामा पुगिसकेछु। सामान्यमा फर्किदै भित्र छिरें।
छोरीले हडबडाउँदै भनी, ‘बाबा, भुजा तयार छ। छिटै खाएर ठाना गैस्यो हजुर। ठुला बाबाहरू चारै जनालाई प्रहरीले पक्रेर ठानामा लगेको छ अरे।’
‘पछि आएर खाउँला।’ म सर्लक्कै ठानातर्फ लागें। गेटमा चारै जना भाउजूहरू रुञ्चे मुख लगाएर बसेका रहेछन्।
मैले सोधें,‘के भएको हो?’
कसैले जवाफ दिएन।
गार्डलाई परिचयपत्र देखाएर भित्र पसें।
‘यो भित्ताको कान केही थाहा नपाएको नाटक गर्छ। सबै यसकै कर्तुत हो।’ साइँली भाउजूको आवाज थियो।
‘त्यही त विभीषण कहींको’ एकसाथ बोले तीनवटी।
मैले सपनामा पनि नसोचेको चारै वटा कारमा भरिभरि गाँजा रहेछ।
प्रकाशित: १ भाद्र २०७९ ०८:२६ बुधबार