नाकारा
भुनभुनाउँदै आउने लामखुट्टेहरू छेक्न
बजारको कुनै झुल किन्नु भए हुन्छ
तर, अहिलेको लामखुट्टे
त्यस्ता झुलहरूले छेक्न सक्ने छैन
किनभने ती लामखुट्टेहरू
कुनै साधारण हिलोमा उब्जिएका हैनन्
कुनै निर्दोष मनुवाको जुठेल्नामा
कोरलिएका पनि हैनन्
ती त डरलाग्दा दिल्लीको फोहोरको डंगुरबाट
डरलाग्दा सुँड र दाह्राहरू पालेर
हुर्किएका हुन् र आएका हुन्
त्यसैले ए साइँली,
त्यस्ता लामखुट्टेहरूको राज्य ध्वस्त पार्न
खुकुरी र तरबारहरू उध्याएर निस्क।
सिधामाथि आकाशमा उडिरहेका जुरे चिलबाट
चल्लाहरू जोगाउन
सामान्य गुलेली भए पुग्छ
तर, अहिले हाम्रो आकाशमा
पखेटा फटफटाउँदै उडिरहेका जुरे चिलहरू
हाम्रो स्थानीय तारेभिरमा बास बस्ने
जुरे चिलहरू हैनन्
ती त विषालु छिमेकको
तीखो चुच्चो र विषालु नंग्राहरू भएको
दुष्ट जुरे चिलहरू हुन्
त्यसैले तिनीहरूको गर्धन छिनाल्न
ए बिर्खे दाइ,
तिमीले पनि बन्दुक र राइफलहरू बोकेर
युद्धमा निस्क।
समसाँझतिर गर्जिंदै हिंड्ने बाघ र भालुहरू
चोर दाउले ढुकिरहने स्याल र ब्वाँसाहरू
हाम्रो रगत र पसिना चुस्दै मोटाइरहने
उपियाँ, उडुस र जुम्राहरू
जति छन् अहिले चलमलाइरहेका
ती सबै
औंलो दिंदा डुँडुलो निल्ने
छिमेकीका सिपाहीहरू हुन्
विस्तारवादको रगतले सिंचित भएका
दुष्टहरू हुन्
त्यसैले ए हर्के दाइ,
पाता कसेर ती सबैलाई किचिमिची पार्न
धर्नासो छिनाएर जिउँदै जलाउन
दाम्लो र घनहरू तयार पारेर
बाहिर निस्क।
झुलो र चकमक बोकेर
अबेर नगरी युद्धमा निस्क।
हो अब सहने हैन
कुनै छिमेकीको लात्ती र बुट
सहने हैन कुनै छिमेकीको
पेलाइ र अतिक्रमण
हाम्रो स्वाभिमान र राष्ट्रवादको शिरलाई
कुनै डरलाग्दो भिरबाट गुल्टिनबाट जोगाउन
ए दले दाइ,
ए बले भाइ,
एकजुट भएर
दर्बिलो छातीसँग बाहिर निस्क।
प्रकाशित: १८ श्रावण २०७९ ०४:५२ बुधबार