१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

बालापनको सजीव चित्रण ‘स्मृतिको आँखीझ्यालबाट’

पुस्तक

रमेश प्रभात

आरम्भ

सर्जक सूर्यप्रसाद लाकोजूका रचनाहरू छिटफुट रूपमा विभिन्न पत्रपत्रिकामा पढेको भए पनि उनको सिङ्गो कृति पढ्ने र उनीसँग भेट्ने अवसर मिलेको थिएन। उनीसँग प्रत्यक्ष भेटघाट भने चितवन साहित्य परिषद्ले उनलाई सम्मानित गर्दाको क्षणमा विसं २०७६ मा चितवनको नारायणगढमा भएको हो। ठिक्क बोल्ने उनी साहित्यमा लागिपरेका स्रष्टा हुन् भन्ने कुरा उनीसँगको पहिलो भेटले नै भान गराएको थियो। हुन त त्यसअघि र पछि पनि प्रविधिमार्फत् हाम्रो भेटघाट भइरहेको थियो। उनको भर्खरै ‘स्मृतिको आँखीझ्यालबाट’ निबन्धसंग्रह प्रकाशित भएको छ।

आफ्नो व्यक्तित्वको दायरालाई निकै फराकिलो बनाएका सूर्यप्रसाद लाकोजू नेपाली साहित्यका लेखन, प्रकाशन र सम्पादनमा निरन्तर लागिपरेका एक अथक साधक हुन्। पनौतीमा स्थायी बसोबास गर्ने नेवारी मातृभाषी स्रष्टा लाकोजूले नेपाली भाषामा साहित्यको निरन्तर सिर्जना गरिरहेका छन्। यतिबेला उनी ‘स्मृतिको आँखीझ्यालबाट’ शीर्षकको संस्मरणात्क निबन्धकृति लिएर पाठकका माझ आएका छन्।

विसं २०३३ साउन २८ गते पिता विष्णुप्रसाद लाकोजू र माता हेममाया लाकोजूका पहिलो सन्तान अर्थात् जेठो छोराको रूपमा काभ्रे जिल्लाको पनौतीमा जन्मेका सूर्यप्रसाद लाकोजू परिचयका विविध आयाम बनाएका व्यक्तित्व हुन्। शिक्षा, साहित्य, पत्रकारिता, समाजसेवा उनका परिचयका मूल क्षेत्र हुन्। उनको क्रियाशीलता हेर्दा लोभलाग्दो खालको छ।

‘काभ्रे टाइम्स’ साप्ताहिकमा २०५४ सालमा ‘फूल’ शीर्षकको कविता प्रकाशित गरी सार्वजनिक साहित्ययात्रा प्रारम्भ गरेका लाकोजूले कविता, मुक्तक, हाइकु, निबन्ध, नियात्रा, गीत तथा बालसाहित्यका २९ वटा कृति प्रकाशित गरिसकेका छन्। नेपाली भाषाका अतिरिक्त उनका कृतिहरू अंग्रेजी र हिन्दीमा पनि अनुवाद भएका छन्।

त्यस्तै उनले अरनिकोबारे नेवारी/नेपाल भाषामा लेखिएको एउटा कृतिलाई नेपाली भाषामा अनुवाद पनि गरेका छन्। उनले सम्मान वा पुरस्कार पाइन्छ भनेर लेखेको नभए पनि उनका कृतिले थुप्रै सम्मान र पुरस्कार हात पारिसकेका छन्। अहिले उनी ‘स्मृतिको आँखीझ्यालबाट’ शीर्षकको संस्मरणात्क निबन्धात्मक कृति लिएर तपाईं पाठकका माझ उभिन आइपुगेका छन्।

बालापनबारे छोटो अभिमत

बाल्यकालमा देखिएका घटना, भोगिएको भोगाइ र गरिएको अनुभूति नै यथार्थमा बालापन हो। यसर्थ बालापन सबैले कुनै न कुनै रूपमा अनुभूत गर्ने वैयक्तिक खालको अनुभूति हो। त्यसो त हरेक व्यक्तिले आआफ्नै तरीकाले फरकफरक प्रकृतिका बालापन गुजारेका हुन्छन्। कतिपयका बालापन खुसी नै खुसीले भरिएको मनोरम खालको हुन्छ भने कसैको बालापन दुःख नै दुःखले भरिएको दारुण खालको पनि हुन सक्छ।

भनिन्छ नि बालबालिका भनेका यो धर्तीका काँचो माटोजस्तै हुन्, तिनलाई जस्तो आकारमा ढाल्न चाह्यो त्यस्तै बनाउन सकिन्छ। यसर्थ बालापन सिकाइको प्रारम्भिक चरण पनि हो। बालमष्तिष्कमा परेका सकारात्मक र नकारात्मक कुराको प्रभाव उसको जीवनमा निकै पछिसम्म कायम रहन्छ। बालकलाई सकारात्मक कुराहरू सिकाइयो भने सत्मार्गमा हिंड्छ भने उसलाई ज्यादा तनाव दिने काम गरियो भने खराब मार्गमा हिंड्ने सम्भावना प्रबल हुन्छ।

निस्सन्देह हरेक मान्छेसँग बालापनसँग सम्बन्धित तितामिठा भोगाइ हुन्छन् तर सबैले आफ्ना भोगाइलाई शब्दका माध्यमबाट अभिव्यक्त गर्न सक्दैनन्, जान्दैनन् र कतिपयले चाँहदैनन् पनि। चाहनेहरूमध्ये पनि अधिकांशले त्यसलाई कविता, गीत, गजल, मुक्तक, हाइकुजस्ता काव्यका माध्यमबाट अभिव्यक्त गर्न ज्यादा रुचाउँछन्। त्यसो त कसैले त्यसलाई मिलाएर कथा र कसैले उपन्यास पनि बनाउने गर्छन्। नेपालको निकै सुन्दर शहर पनौतीमा लामो समयदेखि शिक्षाका क्षेत्रमा लागिपरेका साहित्यकार सूर्यप्रसाद लाकोजूले भने आफ्नो बालापनको बारेमा सम्झना गर्दै ‘स्मृतिको आँखीझ्यालबाट’ शीर्षकको निबन्ध कृति नै तयार पारेका छन्। जुन कृति यतिबेला तपाईंको हातमा छ।

‘स्मृतिको आँखीझ्याबाट’ का निबन्धहरूको सामान्य विश्लेषण

डिमाइ साइजको जम्मा ८३ पृष्ठको आयाममा फैलिएको ‘स्मृतिको आँखीझ्यालबाट’ शीर्षकको निबन्धकृतिमा मझौला खालका तेह्र निबन्ध समेटिएका छन्। लेखकका वैयक्तिक अनुभूति समेटेर तयार पारिएका यी निबन्धहरू चार पृष्ठदेखि बाह्र पृष्ठसम्मको आयामसम्म फैलिएका छन्। लेखकका निजी भोगाइ भएर पनि कृति पूरै पढिसकेपछि यिनले पाठकलाई अवश्य नै आफ्नो बालापन सम्झाउन पुग्छन्, यसर्थ यी निबन्ध पाठकमैत्री छन्।

कृतिभित्रको पहिलो निबन्ध ‘रातो कलम’ले जम्मा छ पृष्ठको आयाम ओगटेको छ। यसमा उनको बुबा, विद्यालयका गुरु र आफूलाई सधैं पिट्ने साथीसँगको सम्झना छ। साथीको नियमित पिटाइबाट दिक्क भएका लेखकले स्कुल जान्नँ भनेर जिद्दी गरेको समयमा उनलाई बुबाले सम्झाउँदा गुरुको जस्तै रातो कलम पाए स्कुल जाने सर्त अघि सार्छन्। यसरी अड्डी कसेको बालकको जिद्दी स्वभावलाई मत्थर पार्न उनका बुबाले उनले भने जस्तै रातो कलम किनिदिने कुरा गरेपछि उनी स्कुल जान थालेको मार्मिक सम्झनालाई यसमा चित्रण गरिएको छ।

त्यस्तै दोस्रो निबन्ध ‘आमाको थप्पड’ले पनि छ पृष्ठकै आयाम ओगटेको छ। यसमा उनले आमासँगको स्मृति उल्लेख गरेका छन्। आफू सानो छँदा साथीलाई सान देखाउन घरको पैसा चोरेर चकलेट खाएको कुरा थाहा पाएपछि आमाले गाली गर्नुको सट्टा सम्झाउँदै पैसा चोर्नु नराम्रो काम हो भन्नुभएको र उनलाई अर्को एक सुका दिएर ‘अबदेखि कहिल्यै पैसा नचोर्नू’ भनेर सम्झाएको घटना मार्मिक तरीकाले चित्रण गरेका छन्।

कृतिभित्र समेटिएको तेस्रो निबन्ध ‘त्यसपछि भाग्नु परेन’ पनि छ पृष्ठकको आयाममा फैलिएको छ। यो निबन्ध विद्यालय जीवन र त्यहाँका विभिन्न खालका गुरुसँग सम्बन्धित छ। खासगरी विद्यार्थी तर्साउने गुरु र फकाएर पढाउने गुरुका कारण बालकका मनमा कस्ताकस्ता प्रभाव पर्छन् भन्ने कुराको खुलासा यो निबन्धमा गरिएको छ।

गुरुले ज्यादा तर्साउँदा विद्यार्थीले विद्यालय नै छोड्न पनि सक्छ भन्ने कुरालाई यसमा मार्मिक रूपमा चित्रण गरिएको छ। त्यस्तै चौथो निबन्ध ‘ऐंसेलु’ले भने सबैभन्दा कम चार पृष्ठको आयाम ओगटेको छ। यसमा मूलतः बाबुसँग सम्बन्धित स्मृति आएको छ। आमा माइत गएको समयमा बाख्रा हेर्न गएको बेलामा ऐंसेलु टिप्न जाँदा लडेर घाउ नै घाउ भएको र त्यो बेला बुबाले वनमारा झार निचोरेर बग्दै गरेको रगत रोक्न सहयोग गरेको कुराको स्मरण गरिएको छ।

यसैगरी पाँचौं निबन्ध ‘टेलिभिजनको चर्चा’ले जम्मा पाँच पृष्ठको आयाम ओगटेको छ। यसमा साथीसँगको स्मृति आएको छ। टेलिभिजनमा केके देखिन्छ भन्ने प्रश्नको जवाफमा राजारानी देखिन्छ भन्ने उत्तर उनलाई अचम्म लागेको कुरा यसमा गरिएको छ। त्यस्तै छैटौं निबन्ध ‘हामीले किरा खायौं?’ ले पनि जम्मा छ पृष्ठको आयाम ओगटेको छ। प्रश्नात्मक खालका शीर्षक रहेको यो निबन्धमा लेखक सानो छँदा पलाञ्चोक घुम्न गएको कुरा गरिएको छ। लेखकलाई ढिंडो मन नपर्ने भएकाले उसका बाबुले साथमा चामल बोकेर लगेको र बास बसेको घरमा सोही चामलको भात पकाउन लगाएर खान लाग्दा रैथाने बालबालिकाले दशैंमा मासुमा पर्ने किरा खाएको भनेर जिस्काएको कुरालाई मार्मिक तरीकाले चित्रण गरिएको छ।

सातौं निबन्ध ‘नवदुर्गा जात्रा हेर्न जाँदा’ जम्मा आठ पृष्ठको आयाममा विस्तारित छ। यो निबन्धमा भक्तपुर, पनौती, धुलिखेल, बनेपा लगायतका शहरमा लाग्ने नेवारहरूको नवदुर्गा जात्राको चर्चा पनि गरिएको छ। यसमा जात्रा हेर्न भनेर पनौतीबाट धुलिखेल पुगेका लेखक र उनका साथीहरूको कुरा आएको छ। जात्रा हेरेर फर्कने क्रममा खुट्टा दुखेर लेखक हिंड्नै नसकेको र कुनै बसले नलगिदिएपछि उनका साथीहरूले बोकेर फर्काएको कुरालाई मार्मिक तरीकाले स्मरण गरिएको छ।

त्यस्तै आठौं निबन्ध ‘चिउराले जन्माएको गीत’ ले जम्मा छ पृष्ठको आयाम ओगटेको छ। यसमा लेखक सानो छँदा साथी राजुसँग मिलेर पनौतीबाट हिंडेर खोपासी घुम्न गएको कुरा गरिएको छ। साथमा पैसा र खानेकुरा केही नभएका कारण उनीहरू भोकै परेकोमा उनको गाउँका चिनेजानेका व्यक्तिका छोरा भेटिएको र उनले त्यहाँ चिउरा मिल खोलेका हुनाले उनीहरूको पाइजामाको खल्ती दुईदुई मुठी चिउरा राखिदिएकाले त्यही खाँदै अँध्यारोमा नेवारी गाउँदै घर फर्केको कुरा गरिएको छ।

कृतिभित्र समाविष्ट नवौं निबन्ध ‘गल्ती स्वीकार गर्नु सानु बन्नु होइन’ जम्मा पाँच पृष्ठको आयाममा फैलिएको छोटो निबन्ध हो। यसमा लेखक छ कक्षामा पढ्दाको स्कुले घटना उल्लेख गरिएको छ। फुटबल खेल्ने क्रममा साथीले आफूलाई ताकेर बल हानेपछि लेखकले उसलाई बेस्सरी कुटेका कारण साथीको नाकबाट रगत बगेपछि लेखक स्कुलबाट भागेको कुरा गरिएको छ। आफूले गल्ती गरेको महसुस गरेर लेखकले शनिबारको दिनमा साथीको घरमा गएर माफी मागेको र यसपछि उनीहरू पुनः मिलेर स्कुल जान थालेको प्रसङ्ग यसमा उठाइएको छ।

दशौँ निबन्ध ‘त्यसपछि कहिल्यै माछा मार्न गइएन’ ले जम्मा सात पृष्ठको आयाम ओगटेको छ। यसमा लेखक सानो छँदा आफू सरह साथी र आफूभन्दा केही ठूला दाजुहरुसँग मिलेर नदी, खोला र खेतमा माछा मार्न जाने गरेको सन्दर्भ उठाइएको छ।

यसरी मारेको माछा सबैलाई पुग्ने गरी भाग लगाएर घरमा लिएर जाने गरेको कुरा पनि गरिएको छ। यस्तैमा एक दिन माछा समात्न दुलोमा हात हालेको साथीले माछा भनेर सर्प समातेको तर संयोगले सर्पको घाँटीमा समातेका कारण टोक्न नपाएको कुरा पनि गरिएको छ। यसले गर्दा लेखकमा माछा मार्दा ज्यानसमेत जान सक्दो रहेछ भन्ने कुराको ज्ञान भएको र त्यो घटनापछि उनी कहिल्यै माछा मार्न नगएको कुरा यो निबन्धको अन्त्यमा गरिएको छ।

कृतिको एघारौं निबन्ध ‘बुबाको वचनले ल्याइदिएको परिवर्तन’ पनि जम्मा छ पृष्ठको आयाममा संरचित छ। यसमा लेखकले स्कुल पढ्दाको क्षणको सम्झना गरेका छन्। उनी सानो छँदा पढ्नमा ज्यादै अल्छी भएको कुरा यसमा गरिएको छ। सरकारी स्कुल पढेको भए पनि त्यतिबेला स्कुल फि तिर्नुपर्ने र त्यसका लागि उनका बुबाले एक बोरा धान बेचेको घटना यसमा आएको छ। बुबाले धान बेचेर आफ्नो स्कुल फि तिरेपछि उनले बुबासँग त्यति धानले हाम्रो परिवारलाई कति समय खान पुग्छ भनेर सोध्दा बुबाले एक महिनालाई पुग्छ भनेपछि लेखकले मन लगाएर पढ्न थालेको कुरा गरिएको छ। बाह्रौ निबन्ध ‘मैले अंग्रेजी सुधारेँ’ ले पनि जम्मा छ पृष्ठको आयाम ओगटेको छ। यसमा लेखक आठ कक्षामा पुगेपछि आफू कमजोर रहेको अंग्रेजीमा सुधार गर्नका लागि साथीहरूको सङ्गत, किताबमा ध्यान र समय तालिका मिलाएर पढेका कारण सफलता पाएको कुरा गरिएको छ।

कृतिको अन्तिम अर्थात् तेह्रौं निबन्ध ‘युद्ध जितेको अनुभूत भयो’ ले भने सबैभन्दा बढी जम्मा बाह्र पृष्ठको आयाम ओगटेको छ। यसमा लेखकले कक्षा आठ, नौ र दशमा पढ्दाका कुरा लगायत एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको कुरा गरेका छन्। त्यति मात्र होइन, त्यतिबेला एसएलसीको रिजल्ट हेर्न कति कठिन हुन्थ्यो, गोरखापत्रमा बाहेक अन्यत्र रिजल्ट नभेटिने भएकाले विद्यार्थीले कति सास्ती भोग्थे भन्ने कुरालाई पनि मार्मिक पाराले उल्लेख गरेका छन्। अचेलजस्तो मोबाइलमा रिजल्ट हेर्न पाइने भएको भए कस्तो सुख पाइन्थ्यो होला पनि भनेका छन्। यसर्थ यो निबन्धले अहिलेको प्रविधियुक्त जमानामा बाँचिरहेका त्यतिबेलाका विद्यार्थीलाई आफ्नो स्कुले जीवन सम्झाउने काम गरेको छ। यसर्थ यो निबन्ध नोस्टाल्जिक किसिमको र ज्यादै मन छुने खालको छ।

समग्रमा यो कृतिमा समेटिएका तेह्रवटा निबन्ध लेखकका बुबा, आमा, गुरु, भाइ, बहिनी, साथी, आफन्त, छिमेकी लगायत बाल्यकालमा आफूसँग कुनै न कुनै रूपमा ठोक्किन आएका व्यक्तिका आनीबानी तथा घटनासँग सम्बन्धित छन्। यी र यस्ता घटना अन्य व्यक्तिसँग पनि घटित हुनसक्ने खालका घटना हुन्। यसर्थ यो निबन्धकृतिमा बालापनको स्मरण गराउन सक्ने खालको सामर्थ्य रहेको छ। यस्ता वैयक्तिक घटनालाई सार्वजनिक गराउन सक्नु लेखकको प्राप्ति हो।

समापन

नेपाली साहित्यमा कवि, मुक्तककार, गीतकार, हाइकुकार, बालसाहित्यकार, निबन्धकार, नियात्राकार, समीक्षकजस्ता साहित्यका विविध परिचय बनाएका सूर्यप्रसाद लाकोजू ‘स्मृतिको आँखीझ्याबाट’ का माध्यमबाट निबन्धकारका रुपमा पुनः देखापरेका छन्। उनले आफ्ना अनुभूतिलाई बढाइँचढाइँ नगरी जस्ताको त्यस्तै पस्केका छन्। त्यसो भन्दैमा ती अनुभूति कोरा खालका भने छैनन्। सरल र सहज भाषाशैली उनको लेखनको शक्ति हो। निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्ने गरी तयार पारिएका यी निबन्धले स्कुले छात्रछात्रादेखि कलेज तहका विद्यार्थीहरू, सामान्यदेखि विशिष्ट खालका पाठकहरू लगायत अनुसन्धाताका लागि समेत खुराक पस्कन सकेका छन्।

अन्त्यमा नेपाली साहित्यमा उनको क्रियाशीलता अझै बढ्दै जाओस्, हार्दिक शुभेच्छा।

प्रकाशित: १६ श्रावण २०७९ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App