१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

ईश्वरले मोबाइल के गर्लान्?

लघुकथा

राजन सिलवाल

  १) मेरो माया लाग्छ भने

‘यसपालि सुन्तला नखुवाउने सर?’ शान्ताले सोधी।

मिनाले थपी, ‘खालिस् सुन्तला। कालिमाटीमा पुगिसक्यो सरको बारीका सुन्तला।’

‘हामीले नखाई कालिमाटी पुग्दैन बुझिस्।’ शान्ताले चिया रित्याई।

‘माघ लागिसक्यो। अब त भेट्नो खाए मात्रै हो’, मिनाले मप्रति कटाक्ष र शान्ताप्रति सहानुभूति राखी।

‘सबै बोट बेचेको त हैन होला नि सर। आफूलाई खान त राखेको होला नि होइन?’ शान्ता धेरै जान्दथी।

‘हो’ सूचक टाउको हल्लाएँ। शान्ताले भनी, ‘शुक्रवार सर घर जानुहुन्छ। आइतबार अफिसमा सुन्तला आइपुग्छ।’

उसले यसरी भनी, मानौं म उसका लागि सुन्तला लिनकै लागि घर जान्छु। जातेआते खर्च केही नभए नि ५०० लाग्थ्यो।

मिनाले भनी, ‘जाबो दुई गेडा सुन्तला खान कस्तो हत्ते हालेकी तैंले।’

‘सरको इज्जतको सवाल छ है।’ शान्ताले दबाब बनाई।

‘सरले लेराउनु नै हुन्न। लेराए पनि कोटेश्वरमा किनेर काभ्रेका सुन्तला लेराउनुहुन्छ। गोरखाको त तेत्तिकै हो।’ मिनाले अन्तिमपल्ट खुम्च्याई शान्तालाई।

म मुसुमुसु हाँसिरहें। मनमा लाग्यो, कदाचित् शुक्रबार गाउँ जान पाइएन भने नि मिनाले अक्कल त सिकाई। अफिस छुट्नेबेला शान्ताले बिस्तारै भनी, ‘मेरो माया लाग्छ भने लेराउनू।’

त्यस वाक्यले मनमा धेरैतिर छोयो।

एउटा बिहेमा नगई नहुने भो शनिबार। घर जान सकिनँ। मनमा शान्ता र मिनाका कुरा लहराइरहे। आइतबार अफिस जानै थियो। कौशलटार चोकमा बाइक रोकेँ र ताजा जस्तै देखिने दुई किलो सुन्तला किनेर झोलामा हालें। हाजिरी गरेर कोठामा छिर्दा शान्ता र मिना सोफामा बसिरहेका देखें। शान्ताले आँखैले सोधी, ‘सुन्तला आयो त? सुन्तला झिकिहाल्नुस् त सर,’ मिनाले अविश्वासपूर्वक भनी।

कम्प्यूटर ब्यागबाट प्लास्टिक झोलाको सुन्तला निकालेर शान्तातिर बढाएँ। ऊ ढकमक्क भएर फुली। मिना हारेजस्ती देखिई। तैपनि भनी, ‘काभ्रेका सुन्तला। कति रूपैयाँँ किलो तिर्नुभयो?’

मैले भनें, ‘ल, घरकै हो नि।’

ती दुवैले पालैपालो सुन्तला उचाले र एकछिन है भन्दै बाहिरिए।

दस मिनेटपछि ती दुवै भित्र छिरे। शान्ताले सोधी, ‘अगाडि पसलमा लगेर जोखेको। ठ्याक्कै दुई किलो रहेछ। भन्नुस् त कहाँ किनेको?’

  २) बाको कोट

बाह्रौं दिनको काम थियो बाको। ब्राह्मणलाई केके दान दिने त्यो सबको तजबिज सान्दिदीले गरिरहनुभएको थियो। इष्टमित्रका थरीथरी धारणाहरू थिए के दान गर्नुपर्छ र के पर्दैन भनेर।

भान्दाइले दिदीलाई भन्नुभयो, ‘ए बैनी, यता सुन् त। मामाको अलि नयाँ खालको कोट छ कि छैन? कोही बुढो मानिसलाई मामाको कोट दान गर्नुपर्‍यो।’

पुरेतको लागि नयाँ कोट त किनिसकिएकै थियो। दिदीले आमातिर हेर्नुभयो। ‘काठको दराजमा तीन चारओटा कोट होलान्। हेरेर लेरा न एउटा।’

दिदीले कुन कोट ल्याउने होलिन् भनेर मेरो मन उत्सुक भयो। मैले नै थाइल्याण्डबाट लेराइदिएको एउटा कोट बाले बढीमा पाँचपल्ट लगाउनुभएको थियो होला। निकै मक्ख परेर त्यसलाई लगाउनुहुन्थ्यो बा।

मेरो मनमा थियो कि बाले व्यवहार गर्नुभएका सबै वस्तुहरू सम्हालेर कोठाको एउटा छेउमा राखूँ र घरभित्र सधैं बाको उपस्थिति अनुभव गरूँ। त्यसले आमालाई भने हरदिन द्रवित बनाउने सम्भावना थियो। दाइहरूले लेराइदिएका कोटहरू पनि थिए दराजमा। उता मेरो मन मैले लेराइदिएको कोटमा घुमिरह्यो। वास्तवमा त्यो कोट म आफैं लगाउन चाहन्थें बाको गन्ध र स्पर्शलाई शरीरमा अनुभूत गर्दै।

मनमनमा सोचें, ‘दिदीले त्यो कोटबाहेक अरू नै कोट झिकेर ल्याए हुने तर दिदी त्यही थाइल्याण्ड कोट लिएर तल झर्नुभयो। त्यो देख्नेबित्तिकै ठुल्दाइले भन्नुभयो, ‘कान्छाले थाइल्याण्डबाट ल्याइदिएको कोट हैन त्यो?’

आमाले हो भन्नुभयो र के सोचेर तपतप आँसु झार्नुभयो।

त्यो कोट अब घरबाट निस्कने भयो भनेर मेरो मन धमिलो भयो। कसैलाई भन्ने कुरा पनि थिएन। दान लिनेले पनि नराम्रो कोट त नलगाउन सक्थ्यो। कोट पूरै नयाँ देखिन्थ्यो। बालाई आदर खातिर गर्ने गाउँकै एकजना वृद्धलाई एउटा हात्ती र त्यो कोट दिइयो। दानप्रति थप मन दुखाउने कुरा थिएन। मैले बाँकी कुनै कोट लगाउँला भन्ने सोचेँ।

भोलिपल्ट बजारतिर जाँदै थिएँ। एउटा दृश्यले विस्मित बनायो। बाको त्यो कोट घरभन्दा १० मिनेट पर्तिरको बकाइनाको रुखको फेदमा फालिएको थियो। टिपें र एकपल्ट सुघें। बाको शरीरको गन्ध अझै बाँकी थियो त्यसमा।

  ३) सैंतिस नम्बरको जुत्ता

श्रद्धाले जुत्ताको मोल सुनेपछि भनी, ‘आम्मा! सत्ताइस सय हालेको यसलाई! ठगेछ ल हजुरलाई।’

मैले भनें, ‘बिस प्रतिशत छुटमा लेराएको हुँ। तिमी ठग्यो भन्छ्यौ।’

‘आइमाईका सामानमा लोग्नेमान्छेलाई ठग्छन्। लोग्नेमान्छेका सामानमा आइमाईलाई ठग्छन्।’

मैले सोधें, ‘तिमीलाई मनपर्‍यो कि परेन?’

‘मन त पर्‍यो तर एक नम्बर ठूलो भयो। यो सैंतिसको रहेछ। भोलि अफिस जाँदा ३६ को साटेर ल्याइदिनू।’

अफिसमा कुनै जरुरी टिप्पणी उठाइरहेको थिएँ। समय सके दुई नाघिसकेको थियो। कसैले ढोका खोल्यो। को आयो भनेर मतलब नराखी फाइलमा लागिरहें।

‘सरलाई त दसैं नि लागेको छैन कि के हो? सधैं बिजी। जति बिजी भए नि पदक पाएको होइन।’देवकीको स्वर थियो।

‘त्यही त है।’ मैले भनें।

ऊ सोफाको मध्य भागमा बसी र बज्न थाली, ‘खाजा खान जाने बेला भएन?’

‘यो फाइल सकेर मात्र जान्छु। तपाईंले खानुभयो?’

उसले भनी, ‘जेन्डरको बैठक थियो। मैले त त्यहीं खाएँ।’

‘दक्षिणा नि मिल्यो कि?’  

उसले ठट्टिंदै भनी, ‘सिदा मात्र हो सर।’

हाँसें म। उसलाई मेरो फाइलसँग सरोकार थिएन र सोधी, ‘अनि अरू के छ?’

‘सब ठिक छ। एकपल्ट न्युरोड जानु छ बुढीको जुत्ता साट्न। हिजो सरप्राइज दिनलाई तीन हजारको जुत्ता लगिदेको। ठुलो भएछ।’

उसले जुत्ता हेरी। आफ्ना गोडामा घुसारी। तीनचार पाइला हिंडेर अभ्यास गरी। त्यसपछि मेरो अनुहारमा हेरी। ‘सर, यो जुत्ता दसैँको गिफ्ट भयो है मलाई?’

मसँग न हस् थियो न नाइँ।

‘मन दुखाउने भए त म लिन्नँ नि।’  मनमनमा लाग्यो, व्यर्थै भनिछु।

प्रकटमा भनें, ‘हुन्छ लगाउनुस्।’

‘थ्यांक यु’ भनेर एउटा गहन मुस्कान फालेर ऊ गई त्यहाँबाट। मनमा लाग्यो, एक जोर जुत्ताको ५४ सयमा पर्ने भएँ।

मोबाइलको घन्टी बज्यो। श्रद्धाको रहेछ।

सोधी, ‘बाबा! जुत्ता साट्या कि साट्न बाँकी?’

भनें, ‘अब जान लाग्या।’

उसले भनी,‘भयो नसाट्नू। त्यो दिदीलाई दिन्छु। मलाईभन्दा एक नम्बर ठूलो लाग्छ। अर्को एक जोर किन्ने मेरो लागि। म हजुरको अफिसको गेटबाहिर छु। जुत्ता लिएर बाहिर आउनू।’

 ४) ईश्वरले मोबाइल के गर्लान्?

प्रभुभाव त उनमा हुने नै भयो। चराचरका मालिक। पूरै ब्रह्माण्डका सृष्टिकर्ता। उनको इच्छाविना रुखको एउटा पात हल्लिन नि सम्भव थिएन। धर्मग्रन्थहरूको शिक्षण र धर्मभीरुहरूको विश्वास त्यही थियो। ईश्वर धरतीको एक महानगरमा अर्धभूमिगत स्वरूपमा हिँडिरहेका थिए। मान्छेहरूले गरेको विकास देखेर ती छक्क परे। बाटाको पल्लोपट्टि रहेको मन्दिरमा जाने विचार गरे उनले। देहधारी ईश्वरलाई बाटो काट्दा एउटा बाइकवालाले हप्कायो, ‘एई बुढा, तेरो आँगन हो यो? जथाभावी बाटो काट्ने?’

अन्तिममा उसले ‘साला ...’ पनि भन्यो। ईश्वरको मनमा त्यो बिझ्यो।

मन्दिरमा पुगेपछि प्रवेशद्वारमा उभिएको पुलिसले उनलाई आदेश ग¥यो, ‘जुत्ता फुकाल्नुस्।’

उनले भने, ‘यो त काठको हो नि।’

‘काठको भए नि फुकाल। दैलेखतिरबाट आयौ कि? राउटे हो?’

ईश्वरलाई लाग्यो कि यस लोकमा न्यायको के हविगत होला? मन्दिरको मुख्य ढोकामा महिला पुलिस थिई। ऊ पनि दर्शनार्थीहरूलाई हप्कीदप्की गरिरहेकी थिई। बेलाबेला लट्ठी पनि उज्याउँथी। ईश्वरले शरीरलाई अलिकति तन्काएर भित्रको जागिरदार पुजारीलाई हेर्न खोजे।

एउटी भक्तिनी कराई, ‘आँखा देख्दैन कि के हो? अर्काको खुट्टामा कुल्चिने?’

अर्की खानदानीजस्ती देखिने भक्तिनीले थपी,‘दिनुस् न एक थप्पड।’

पुलिसनीले उनलाई लाइनबाटै खेदी।

उनी मूलगेटबाट बाहिर निस्कँदै थिए। टोकरीमा फूलप्रसाद बोकेको एउटा पण्डितभेषी मानिस उनीतिर आयो। उसले मुखमा पान चबाइरहेको थियो। लुगा नधोएको सके छ हप्ता भएको हुँदो हो। थालीमा औंला चोपेर उसले ईश्वरको निधारमा टाँसिदियो। टोकरीवालले बिहानैबिहानै रक्सी पिइसकेको देखेर ईश्वरले मनमनै ‘रक्सी किन बनाएँ होला’ भन्ने सोचे।

उनी गौशालातिर आइरहेका थिए। बाटोमा लस्करै माग्नेहरू थिए। कसैले हातमा २० को नोट लिएर वृद्धा माग्नेतिर झुकिरहेको थियो। उसको युवती साथी मोबाइलबाट तस्बिर लिइरहेकी थिई। त्यहींनिर पुगेपछि युवतीले भनी, ‘अंकल, हाम्रो एउटा तस्बिर लिइदिनुस् न।’

उनले हातमा मोबाइल लिए। युवती युवकसँग टाँस्सिई। त्यो वृद्धा माग्ने जुरुक्क उठी र ती दुई तन्नेरीलाई अँगालो हाली।

‘धत्, के गरेको यो?’ भन्दै २० को नोट त्यहीं फालेर ती दुई भागे। ईश्वरले अब त्यो मोबाइल के गर्लान्?

५) गाडीलाइन

कथाकार कलंकी चोकबाट थानकोट जाने बाटाको थोरै उता पेटीमा उभिएको थियो। हिंडिरहेकै बेला एउटा बिस/बाइसेले सोध्यो, ‘चितवन हो दाइ?’

मैले होइनसूचक टाउको हल्लाएपछि उसले वास्ता गरेन। दुई/तीन पाइला के हिंडेको थिएँ त्यस्तैमा माइक्रोको ढोकामा बसेको युवकले सोध्यो, ‘दाइ, गोरखा हो?

मैले वास्ता गरिनँ। उसले लोभ देखायो, ‘सिङ्गल सिट खाली छ, दाइ। मिलाएर लैजान्छु, आउनोस्।’

माइक्रो बसका सानासाना असजिला सिटमा बसेर यात्रा गर्दा कथाकार धेरैपटक आजित भइसकेको थियो।

हरेक ड्राइभर र दलाल अनि खलासीका कहाँ जाने भन्ने प्रश्नहरूले म आजित भइसकेको थिएँ। एउटालाई त मैले नैनीताल भन्दिएँ। उसले फेवाताल बुझेछ क्यारे।

भन्यो, ‘लेकसाइडसम्मै जान्छ हाम्रो गाडी आउनोस्।’

म चारपाँच सय प्राप्त हुन सक्ने ग्राहक थिएँ उनीहरूको लागि। खासमा म टुरिस्ट बस खोजिरहेको थिएँ पोखरा जाने। ओर्लनु त आँबुखैरेनी थियो र जानु थियो गोरखा। एयरकन्डिसन बसमा एक दुई सय बढी तिरे पनि त्यसभित्रको सुविधाले त्यो भाडा असुलउपर भएको ठान्थें म।

त्यस्तो बस आउँदै आएन।

एक घण्टा त मेरो कलङ्कीमै बितिसकेको थियो। अफिस टाइमभित्रै गोरखा पुग्ने र काम सक्ने उद्देश्य थियो मेरो। आठ बजिसकेको थियो। पोखरासम्म जाने एउटा चिटिक्कको मिनिबस आयो। सिटहरू खाली थिए। कन्डक्टरले एक्सप्रेसको रटान लगायो र साँढे १ बजेभित्रै खैरेनी झारिदिने ग्यारेन्टी ग¥यो।

‘त्यतिभित्र नपुगे भाडै नदिनू ल दाइ, भयो?’ मैले विश्वास गरें।

नागढुङ्गा पुग्दा साँढे नौ भयो। त्यो भञ्ज्याङ कटिसकेपछि उसले भएभरका सिट भर्न केके गर्न सकिन्छ ती सब गर्‍यो। नौबिसे, धार्के, महादेवबेंसी, गजुरी, मलेखु सबका सब यात्रुलाई चढाउने र ओराल्ने काम भइरह्यो। पोखरा पुग्ने यात्रुहरूले जति कराए पनि तिनको डाँको झन् ठुलो थियो। गल्छीमा तिनले गाडी बिग्रेको नाटक गरे आधी घन्टा। पर्खाइ थियो नुवाकोटतिरका यात्रुको। कुरिनटारमा करिब एक घन्टा रोकियो तीर्थालुको पर्खाइमा। मैले गोरखामा अफिस टाइमभित्र नपुग्ने लख त काटिसकेको थिएँ।

आँबुखैरेनी पुगेपछि कन्डक्टरलाई भनें, ‘भाइ, तिमीले त मलाई बितायौ नि। यहीं चार बजिसक्यो। माइक्रो छोडेर तिम्रोमा चढेँ। धोका दियौ नि।’

उसले हाँसेर भन्यो, ‘के गर्ने दाइ, गाडीलाइनमा यस्तै हो। तेल नहाली नि भएन।’

(लघुकथाकार सिलवालका ‘बाको कोट’ लघुकथासंग्रहबाट।)

प्रकाशित: १४ श्रावण २०७९ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App