२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नछुने बहाना

लघुकथा

आचार्य प्रभा

तीज नजिकै आयो। रमाको मनमा खुशीको सीमा थिएन कारण सानैमा बाउआमाबाट विमुख हुनु परेकाले कुनै पनि चाडपर्व नजिकिंदा ऊ अत्ति हर्षित हुन्थी। खुशीको मुख्य कारण माइती जान पाउने लालच थियो।

सधैं ऊ तीज नजिकिंदा खुशीले फुरुक्क हुन्थी तर सधैं निराश बन्नुपर्थ्यो। माइतीमा मात्र दाजुभाउजू थिए। अरू बेला पनि माइत जाने माहौल थिएन। जाने बहाना भनेको यिनै चाडपर्वहरू थिए तर अफ्सोच जब चाडबाड आयो तब भाउजूको विभिन्न बहाना हुन्थ्यो कहिले कता जानुपर्ने,कहिले कता जानुपर्ने। कहिले आफूले छुनु नभएको आदि।

यो पटक तीज आउनै लागेको छ। आफ्नो घरमा पनि चेलीबेटी आउने रौनक बेग्लै छ। सासू दङ्ग छिन् छोरीहरू आउँछन् भनेर। बेलाबेलामा रमालाई पनि सोध्छिन्,‘तिमी पनि छिट्टै जान्छ्यौ होला नि? सबै चेलीबेटीलाई माइत जाने उस्तै रहर त हो।’

रमा हाँसेको अभिनय गर्दै मुन्टो हल्लाउँछे।

नभन्दै तीजको दर खाने समय आयो। छोरीहरू अघिल्लो दिनदेखि नै आउन थाले। रमालाई पनि सासूले एउटी चेलीको रहर उस्तै हो अरू बेला पनि त्यति माइत जाँदिनन् भनेर छिट्टै बिदा दिने वचन दिएकी थिइन्। दर खाने अघिल्लो दिनसम्म पनि रमाले माइत जाने नाम नलिएपछि सासूले सोधिन्, ‘बुहारी तिमी पनि जाने होइन माइत? दाजुभाउजूले बाटो हेरिराख्नुभएको होला! फेरि घरबाट बिदा दिएनन् भन्लान् है।’

सासूको अनजान वाक्यले ऊ मौन बनी। माइत जाओस् कसरी? अस्ति नै भाउजूले ‘मलाई त नछुने हुने बेला भयो। तीजमा त छेक्छजस्तो छ’ भनेर खबर पठाएकी थिइन्। त्यति सुनेपछि ऊ कसरी जाओस् माइत?

भाउजूले छलेजस्तै उसले पनि सासूलाई छली, ‘आमा म त पर सर्छु कि क्या हो? तल्लो पेट कटकटी दुख्न थाल्यो। जाँदाजाँदै छुई भयो भने के जाने? म जान्नँ होला’भनी।

सासूलाई पनि बुहारीप्रति माया लागेर आयो र भनिन्, ‘तिम्रो त साइत पनि यस्तै पर्दोरैछ। पोहोर भाउजूलाई नछुने भो भनेर जान पाइनौ। यो पटक आफैलाई पो! यी आइमाई मान्छेलाई पनि भगवानले के सजाय दिनुभएको कुन्नि? त्यसो भए आराम गर न त! दिदीबैनीहरू आउँछन्,रमाइलो गर्छन्,खान्छन् र जान्छन् नि! खान त तिमीले पनि भइहाल्छ नि!’

तीज सकेकै भोलिपल्टदेखि सबै महिलाहरूका  तस्वीरहरू धमाधम पोष्ट हुन थाले फेसबुकमा। हेर्दै जाँदा रमाको भाउजूको पनि तस्वीरहरू देखिए ‘२०७९ को तीजको रमाइलो’ भनेर मन्दिरमा पूजा गर्दै गरेको,पार्टी प्यालेसमा नाच्दै गरेको।

रमा झस्की। हत्तपत्त फेसबुक बन्द गरी र सोच्न थाली, ‘कति बहाना आउँदो रहेछ, चेलीबेटी माइत नआओस् भनेर। यस्तो बहाना मलाई मात्र गर्छन् कि अरूका चेलीबेटीलाई पनि गर्छन् होला’ भनेर रमा एकोहोरो सोच्न थाली।

प्रकाशित: १३ श्रावण २०७९ ०९:१७ शुक्रबार

अक्षर