२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

फरक पोसाक

लघुकथा

शान्ता तिम्सिना

बजारबाट घर जाँदै थिई। घर नपुग्दै परैबाट घरभरि मान्छे देखी उसले। मनमा कौतुहलता बढ्यो। घर पुग्नासाथै सबैको नजर उसैमाथि पयो।

लगभग कुरा सकिएको थियो। केटी हेर्न मात्रै बाँकी थियो। केटा पक्षबाट कुराको  फाइनल गर्न अनुरोध गरेका थिए। एसएलसी दिएकी छोरी। क्याम्पसको प्राध्यापक जस्तो जुवाइँ भेटेर कन्या पक्ष निकै खुसी देखिन्थे।

छोरीको मनसाय कसैले सोधेनन्। आफ्नो निर्णय सुनाएका थिए उनीहरूले। विचरी, कलिलो उमेर, के प्रतिक्रिया दिन सक्थी र! गाउँकै परिवेशमा हुर्केकी उसलाई राजधानीमा घर र क्याम्पस पढाउने सर भन्ने सुनेर सहमति जनाएकी थिई।

दुवै पक्ष खुसी देखिएका थिए।

केटाको भनाइ थियोे,‘अबको पाँच दिनमा मैले क्याम्पस पुग्नै पर्छ।’

आखिर भोलिपल्ट किनमेल गरेर पर्सिको दिन विवाह गर्ने  निर्णय गरिएको थियो।

छोटो समयमै भए पनि आफन्त र छिमेकीको सहयोगले विवाह सम्पन्न भयो। उनीहरू राजधानी फर्किए।

छिमेकी साथीहरूले भन्दै थिए, ‘भाग्यमानी रहिछ, राजधानीको विद्वान श्रीमान भेटी।’

चार कोठाको घर जहाँ उनीहरू मात्र बस्थे। घरबेटी अमेरिका भएको, आफूले घरको रेखदेख मात्र गरेर बसेको कुरा कहिल्यै बताएका थिएनन् श्रीमतीलाई।

प्रत्येक महिना थोरै तलब ल्याएर श्रीमतीलाई दिंदै भन्थे,‘घरको किस्ता बुझाएर यति बाँकी छ। अब एक वर्षमा त सकिन्छ।’

क्याम्पसको वार्षिक उत्सव थियो। उनले पनि जाने इच्छा व्यक्त गरिन्। गइन् पनि। कार्यक्रम सुरु भयो। प्राध्यापकहरू सबै एकै ठाउँमा बसेका थिए। उनले श्रीमानलाई त्यहाँ देखिनन्।

एक्कासि उनको आँखा गेटमा पुग्यो, जहाँ उनको श्रीमान् फरक पोसाकमा उभिएका थिए।

प्रकाशित: ८ श्रावण २०७९ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App