२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा’ को विमोचन

 नेपाल स्रष्टा समाजको आयोजनामा समाजका अध्यक्ष विधान आचार्यले सम्पादन गरेको ‘समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा’ को विमोचन भएको छ। काठमाडौं, बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा उक्त कृतिको सामूहिक रूपमा विमोचन गरिएको हो।

समालोचक डा. ज्ञानु पाण्डेले ‘समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा’बारे  समालोचकीय  टिप्पणी गरेकी थिइन्।

उक्त पुस्तकका संयोजक साहित्यकार खेमराज पोखरेलले  आफ्नो  जन्म उत्सव २०७६ भाद्र ३ गते १६ लघुकथाकारका एकएक र आफूले सम्पादन गरेको एक सामूहिक लघुकथासंग्रह भव्य रूपमा विमोचन भएकामा खुसी हुँदै विमोचित कृतिहरूको समालोचना प्रकाशित गर्ने रहर भएको  र त्यही अनुसार कृति ल्याएको बताए।

उनले भने, ‘अमेरिका बसाइ र कोरोनाका कारण समयमै पुस्तक ल्याउन सकिएन। यतिबेला लघुकथा लेख्नेहरू बढेको छ। म यसलाई अत्यन्तै राम्रो मान्छु।’

नेपाल स्रष्टा समाजका अध्यक्ष कृतिका सम्पादक विधान आचार्यले नेपाल स्रष्टा समाजले प्रकाशन गरेको उक्त कृति  निकै महत्त्वपूर्ण  भएको बताए। 

उनले भने, ‘यो संग्रहमा समालोचनाका कसीमा लघुकथालाई चिरफार गर्ने सबै समालोचना सिद्धान्तपरक वा एकै ढाँचाका छैनन्। सकेसम्म एक रूप होस् भन्ने थियो तथापि विविध सीमाका कारण एकरूपता नभए पनि यो बहत् ग्रन्थ आएको छ। छपाइदेखि लिएर सम्पादनमा समेत राम्रो बनाउने हाम्रो कोसिस हो। यसले मूर्त रूप लिएको छ।’

प्रमुख अतिथि नगेन्द्रराज शर्माले  स्रष्टा समाजले प्रशंसायोग्य काम गरेकोमा र लघुकथा  विधाले फड्को मारेकोमा खुशी पोखे।

लघुकथा समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले  फरकफरक लघुकथाकारका कृति फरक समालोचकका कसीमा आएको उक्त पुस्तक लघुकथाका आधुनिक कालका आयाम तथा विकासक्रमको नमूना रहेको बताए।’

कार्यक्रमको समापनमा  प्रमुख अतिथिको हातबाट पुस्तक प्रकाशनमा सहयोग गर्ने साहित्यकारहरूलाई  मायाको चिनो प्रदान गरिएको  थियो।

कार्यक्रममा साहित्यकारहरू-प्रमोद प्रधान, राधेश्याम लेकाली,रामप्रसाद पन्त, डा. पुष्करराज भट्ट,डा. भरतकुमार भट्टराई ,नवराज पुडासैनी ज्योत्सना, दिव्य गिरी, रामकुमार पण्डित, रन्जुश्री पराजुली,सुमन सौरभ,लीलाराज दाहाल,पवन आलोक, शैलेन्दु प्रकाश नेपाल,मुरारि सिग्देल,श्रीबाबू कार्की उदास, शान्ति प्रियवन्दना, शर्मिला खड्का, ज्ञाननिष्ठ ज्ञवाली, दुर्गाकिरण तिवारी, शारदा पौडेल निशा लगायतको उपस्थिति रहेको थियो

प्रमुख अतिथि वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र सभाध्यक्ष लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेको सो कार्यक्रमको सञ्चालन कवि रन्जना निरौलाले गरेकी थिइन्।

प्रकाशित: ७ श्रावण २०७९ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App