१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

स्मृति

लघुकथा

विनोद नेपाल

स्मृति दिवस मनाइँदै थियो।

‘ए... यिनै हुन्।’ सामुन्नेको टेबुलमा रहेको फूलमालाले ढाकिएको तस्वीर हेर्दै आश्चर्य मिश्रित भावमा युवकले भन्यो।

उक्त कुरा सुनेर नजिकै रहेका एक वृद्धले भने,‘हो यिनै हुन् हाम्रा नेता! उहिले यस्तो कहाँ थियोे र?’

युवकले भन्यो,‘के भन्नुभो बा, बुझिनँ!’

–जोखिम थियो। सरकारी निगरानी उस्तै कडा थियो। भेट्यो कि झ्याप पारिहाल्थे। कहाँ लान्थे र के गर्थे थाहै हुँदैनथ्यो। लुकिलुकी संगठन गर्नुपर्थ्यो तर त्यस्तो समयमा पनि यिनले सबै चाँजोपाँजो मिलाएका थिए। संगठन बलियो बनाएका थिए। अनुशासन र मर्यादा थियो।’

वृद्धले भन्दै गए,‘अहिले त सबै लथालिंग। यिनका आदर्श धुलिसात भए। विचार र सिद्धान्त सबै  हराए। सबैका आफ्नै धुन, आफ्नै सुर! के भन्नू, सबै उस्तैउस्ता! कसलाई दोष दिनु खोई?’

वृद्धले निराश हुँदै भने।

–ए बल्ल कुरा बुझें बा, तस्वीर किन यति धेरै फूलमालाले ढाकियो भनेको त उनको सामु अनुहार देखाउनलायक कोही  रहेनछन् र पो!

प्रकाशित: ६ श्रावण २०७९ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App