माधव खनाल
भानुलाई श्रद्धाञ्जली
हे भानु तिम्रा
अक्षर-अक्षरका
बिउ उमारेर
हामी तिम्रा पुस्ताहरू
फक्राउँदै छौ शब्दशब्दका फूलहरू
हरेक फूलहरू तिमीले छाडेजस्तै
छैनन्
तिमीले छरेको जस्तै छैनन्
तिमीले रचना गरेको सुवासजस्तै छैनन्
तिम्रो युग अनि मेरा युग फरक भएको छ
कायापलटै भएको छ
भानु तिमीले देखेको युग
तिमीले लेखेको समाजभन्दा
धेरै फरक भइसकेको छ,
म बाँचेको समाज।
चीरायु रहने छन् तिम्रा उपदेश
दर्शन बनिरहने
तिम्रा अर्तीहरू
बुज्रुकहरू मपाइँत्वमा सजिएका छन्
तिम्रो दर्शनभन्दा माथि छन्
आज त यहाँ कायापलटै भयो
बुझ पचाउने बढी भएपछि
विजय उनकै रहेछ
इतिहासलाई गिज्याउँदै
ठडिन्छन् नयाँ शालीकहरू।
अमरसिंहको कांगडा ठिङ्ङ उभिएर हेर्छ
लिपुलेकको अपहरण।
तिमी भन्थ्यौ
बिउहरू अक्षर हुन्
साना-ठुला उस्तै हुन्छन्
यहाँ त सबै
ठुला बनेर रमिता छ
तिमीले देखेको भन्दा पनि धेरै रमिता
कारिन्दार फेरिए
तालुकदार फेरिए
हाकिम फेरिए
बस
बेथिति फेरिएन
घटेन
थपिइरह्यो
नातावाद,फरियावाद,भोलिवाद छँदैछ
दुख उस्तै छ
घुसको आकार मात्र फेरिएको हो
न्याय मन्दिर लिलाममा छन्
तेञ्जिङले सगरमाथा चढेका कुरा
बुद्धले शान्ति छरेका कुरा
पुर्खाले टिष्टा टेकेका कुराभन्दा
बाँकी गौरव केही रहेन
मानवता बोलीमा छ
व्यवहारमा छैन
शान्ति गोलीमा छ
तिम्रो कान्तिपुरीमा छैन
यहाँ यस्तै-यस्तै छ
पश्चिमी धमिरा सल्केर मान्छेको मन
गिजोलिएको हो
तिम्रो अक्षरको बीउ
गिजोलिएको हो
तिम्रा अक्षर-अक्षरका
असारे खेती
मंसिरे दाइ
भकारी भर्न लालायित छन्
सदाबहार रहनेछन्
तिम्रा सत्य उपदेश।
साधुवाद भानु तिमीलाई
यो युगको
श्रद्धाञ्जली शब्दसुमनको।
प्रकाशित: २९ असार २०७९ ०७:१८ बुधबार