६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार विप्लव ढकाल र रेखा सुवेदी सम्मानित

बेलबारीमा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले साहित्यकार डा.विप्लव ढकाल र रेखा सुवेदीलाई पुरस्कृत गरेको छ।

२०६१ सालमा स्थापना भएको डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले शनिबार एक कार्यक्रममा साहित्यकार डा.विप्लव ढकाललाई नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार र बेलबारीका साहित्यकार रेखा सुवेदीलाई नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो।

ढकाललाई प्रदान गरेको नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार राशि २१ हजार र सुवेदीलाई प्रदान गरेको नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा पुरस्कार राशि ११ हजार १ सय ११ रूपैयाँ रहेको छ। दुवै साहित्यकारलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

बेलबारी नगरपालिकाको सभा हलमा भएको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलबारीका नगरप्रमुख दिलप्रसाद राई रहेका थिए भने विशिष्ट अतिथिको रूपमा प्राडा टंक न्यौपाने रहेका थिए।

अतिथिहरूमा दधिराज सुवेदी, कविराज न्यौपाने, प्राडा बद्रिविशाल पोखरेल, सरला चापागाईं, पुर्व सांसद हर्कमान तामाङ, खेम नेपाली, संविधान सभा सदस्य मधु गुरुङ, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ विवश पोखरेल रहेका थिए।

बेलबारीका नगरप्रमुख दिलप्रसाद राईले बहुआयामिक व्यक्तित्व नरेन्द्र चापागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रतिष्ठानले बेलबारीको सभाहलमा आएर सम्मान कार्यक्रम राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। साथै आगामी दिनमा पनि प्रतिष्ठानसँग हातेमालो गर्न आफू तयार रहेको बताए। प्राडा टंक न्यौपानेले सम्मानित दुवैलाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा विभिन्न ठाँउबाट आएका २१ जना कविले आआफ्नो कविता वाचेका थिए।

हालसम्म २८ जना स्रष्टालाई सम्मान गरिसकेको प्रतिष्ठानले विभिन्न अरू साहित्यिक संस्थाले आयोजित साहित्यिक कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको प्रतिष्ठानका प्रमुखसंरक्षक सरला चापागाईंले बताइन्।

प्रतिष्ठानका अध्यक्ष मधु पोखरेलको सभापतित्वमा भएको यो कार्यक्रम सचिव दिङलाली कान्छो (दिनेश पोखरेल)ले चलाएका थिए भने कविता वाचन कार्यक्रम कविता केशरीले चलाएकी थिइन्।

प्रकाशित: २७ असार २०७९ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App