२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

एकैसाथ आमाछोराको कृति लोकार्पण

कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को ‘हृदयका स्पन्दनहरू’ (कवितासंग्रह) सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे। सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरियो।

पुस्तक सार्वजनिक कार्यक्रममा मन्तव्य दिंदै प्रमुख अतिथि उप्रेतीले मनमायाको कृतिले एक सय वर्षअघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश समेटिएको बताउँदै पुस्तक एउटा कालखण्डको अभिलेख भएको बताए। उनले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै कविता यात्रालाई निरन्तरता दिन आग्रह गरे।

साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैंमा एउटा कृति भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो।’

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कविता कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवनजगतका विभिन्न पाटा अभिव्यक्त भएको बताए। कवीन्द्रको काव्यसाधना यात्रा पुरानो भए पनि उनी दृश्यमा ढिलो आएको उल्लेख गरे।

‘मैले बिताएको युग’ की सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनबारे सोध्दै डायरी लेखेको र आज त्यही डायरीले पुस्तकको रूप लिएको बताइन्। उक्त आत्मकथा राधिकाले सम्पादन गरेकी हुन्।

कार्यक्रममा कृतिकार मनमाया सिटौलाले पूर्वेली लोकभाका गाएर सुनाएकी थिइन्। हरिचरण सिटौला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विजया पन्त, कवीन्द्र सिटौला र डा. वसन्त पन्त गायतले बोलेका थिए।

कार्यक्रममा धन्यवाद दिंदै वरिष्ठ साहित्यकार मोहनलाल सिटौलाले परिवारभित्र साहित्यिक सिर्जना गराएर समाजलाई ऐना देखाउने काम भइरहेकामा खुशी व्यक्त गरे। उनले परिवारमा युवा पुस्ता सक्रिय भएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै पुरानो पुस्ताले हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए। मोहनलाल मनमायाका जेठा छोरा हुन्।

प्रकाशित: २७ असार २०७९ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App