२२ असार २०८१ शनिबार
image/svg+xml
कला

योगमाया राष्ट्रिय सम्मान प्रदान

नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर ‘योगमाया’का नामका सम्मान प्रदान गरेको छ। समाजले दुई नारी स्रष्टा हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ योगमाया स्मृति प्रतिष्ठान, भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गरेको छ।

पाठकलाई २०७८ र कार्कीलाई २०७९ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनल स्वागत मन्तव्य दिएका थिए भने प्राडा गोविन्दमान सिंह कार्कीले पुरस्कृत व्यक्तित्वको परिचय दिएका थिए।

प्राडा कार्कीले योगमायाबारे विशेष अध्ययनअनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’पुस्तक प्रकाशित गरेका थिए। साझा प्रकाशनले सो पुस्तकको तेस्रो संस्करण प्रकाशित गरिसकेको छ।

‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का संस्थापक पवन आलोक र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ का संस्थापक राजेश न्यौपानेले योगमायाबारे बोल्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका थिए।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सम्मानित व्यक्तित्वहरू हिरण्यकुमारी पाठक, रुकु कार्की र मोहनकुमार बस्नेतले पनि मन्तव्य दिएका थिए।

समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका सचिव जानु धितालले चलाएकी थिइन्।

उक्त कार्यक्रममा लेखनाथ भण्डारीले तयार पारेको ‘जीवनी र मूल्यांकन कृति ‘योगमाया’को विमोचन पनि गरिएको थियो।

सोही अवसरमा नेपाल स्रष्टा समाजले व्यवस्थित गर्ने गरी हास्यव्यंग्यकार श्याम गोतामेका नाममा उनका सन्तानहरू नीरा, रीता, सुनील तथा ममता गौतमले आफ्ना मातापिताका नाममा पद्मा–श्याम गोतामे हास्यव्यंग्य स्रष्टासम्मानको स्थापना गरेको समेत घोषणा गरिएको थियो।

यसअघि नेपाल स्रष्टा समाजमा योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान (महामना नारी योगमायाका नाममा संस्थापक–पवन आलोक, रेखा कँडेल तथा रमा शर्मा), सुभद्रा–विश्वराज स्रष्टासम्मान (मातापिताका नाममा संस्थापक छोरा–विधान आचार्य), योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (महामना नारी योगमायाका नाममा संस्थापक (न्यौपाने बन्धुहरू राजेश, दीपा, केदार र दयाराम), प्रसिद्ध कणेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान (प्रसिद्धका नाममा संस्थापक मातापिता चेतनाथ, सीताभण्डारी कँडेल),  दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान (माताका नाममा संस्थापक पुत्री-पुष्पा खनाल) र रमेश–गंगा स्रष्टासम्मान (मातापिताका नाममा संस्थापक छोरा डा. दिनेश, महेश, सुवास र देवेशचन्द्र देवकोटा र परिवारजन) रहेका छन्।

यस शृङ्लामा पद्मा–श्याम गोतामे हास्यव्यंग्य स्रष्टासम्मान सातौं हो। समाजले सम्मानित स्रष्टाहरूलाई जनही सम्मानपत्र तथा नगद राशिसमेत प्रदान गर्छ।

योगमाया नामका सम्मानहरू २५ हजार १ सय ११, सुभद्रा-विश्वराज, रमेश-गङ्गा र पद्मा-श्याम गोतामे सबै २१ हजार १ सय ११,  दमन्ता खनाल १५हजार १ सय ११ तथा प्रसिद्ध कणेल ११ हजार १ सय ११ रूपैया राशि समेतका छन्।

यसअधि नेपाल सरकारले योगमायाका नाममा हुलाक टिकट प्रकाशन गर्नुका साथै एक आयुर्वेद विश्वविद्यालय समेत स्थापना गर्ने निर्णय गरिसकेको छ। महामना नारी योगमायाले आफूसहित ६८ जनाको सामूहिक जलसमाधि लिएको दिनका स्मृतिमा  नेपाल स्रष्टा समाजले असार २२ गतेलाई योगमाया दिवसका रूपमा  घोषणा गर्न नेपाल सरकारसित माग गरिरहेको छ।

प्रकाशित: २४ असार २०७९ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App