मनीषकुमार शर्मा समित
पछिल्लो समयमा नेपाली साहित्यको फाँटमा नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरेको छ।
लघुकथा कथाको लघु रूप मात्र हैन, यो पूर्ण रचना, चातुर्यपूर्ण समापन र अर्थपूर्ण भाव गरी त्रिआयामिक संरचनामा रहेको हुन्छ, जसमा व्यक्ति र समाजको द्वन्द्वको अभिव्यक्ति रहेको पाइन्छ। सामाजिक विसंगति उजागर गर्ने लघुकथाको मुख्य विशेषता सूक्ष्म र अर्थपूर्ण हुनु हो।
लघुकथाको बनावट कथा वा उपन्यासको भन्दा एकदमै भिन्न हुन्छ। लघुकथामा गहिरो भावना व्यक्त गर्ने क्षमता हुन्छ। अधिकांश लघुकथाकारहरूले आम मानिसको जीवनको भावहरू व्यक्त गरेका छन्।
लघुकथाको जन्म विसंगतिको गर्भबाट हुन्छ। हरेक घटना र हरेक समाचारले लघुकथाको रूप लिन सक्दैन। जब लेखकले आफ्नो सिर्जनशीलता र कल्पना शक्तिको सहायताले सूक्ष्म र अर्थपूर्ण तरीकाले घटना र परिस्थितिलाई लेख्छन् तब लघुकथाको खाका तयार हुन्छ।
यस्तै लघुकथाको खाका संग्रहको रूप लिएर हेटौडाली लघुकथाकार देखापरेका छन्।
यतिखेर किशन पौडेलको ‘खुसी’ लघुकथासंग्रह मेरो अगाडि छ। नीलो–हरियो आवरणमा अमित घिमिरेको अमूर्त कला रहेको ८० पेजको पुस्तकले ४८ लघुकथाका खुराक पस्किएको छ। उनको यस संग्रह लघुकथा खुसीबाट सुरु भई तथास्तुमा सकिएको छ। तीमध्ये केही लघुकथाको टिप्पणी गर्ने जमर्को गरेको छु।
खुसी-सद्गुरुले भनेझैं खुसी एउटा भ्रामक लक्ष्य हो। नयाँ जिम्मेवारी थपिंदा खुसीभन्दा तनाव झन् बढ्छ भन्ने सन्देशका साथ क्षणिक खुसीको खोजमा भौंतारिने प्रवृत्तिलाई लघुकथामा सटिक रूपमा उतार्न सफल भएका छन् लघुकथाकार ‘खुसीमा’।
आयु-सौन्दर्यको नभई गुणको महत्त्व हुन्छ। रूप र रङको आयु क्षणिक हुन्छ। रूप र रङ त उमेरसँगै नष्ट हुन्छ। बिम्बको सफल प्रयोग र प्रतीकको उत्कृष्ट लघुकथाको उदाहरण छ लघुकथा आयु।
सुख-प्रत्येकको आआफ्नै रोइलो र पिरलो हुन्छ। कोही कतै सुखी छैनन्। आत्मसन्तुष्टि छैन। यस्तै मानवीय कथाव्यथामा उनिएको मन छुने लघुकथा।
एलियन-दोस्रो ग्रहबाट आएका एलियनलाई मुख्य पात्र राखी बुनिएको घतलाग्दो लघुकथा। मानवीय समवेदना, धर्मप्रति कटाक्ष, आधुनिक विकृतिमाथि झटारो। कथा केही लामो भए पनि यस धर्तीमा भइरहेको गिर्दो मानवीय मूल्यमाथि व्यंग्यात्मक प्रहार छ।
कित्ता-हाम्रो समाजमा राजनीतिले विभेद फैलाएको छ। राजनीतिज्ञहरूले आफ्नो स्वार्थका लागि यसलाई जोगाउन र कायम राख्न चाहन्छन्।
औकात-गरिबी र अभावले चाहना हुँदाहुँदै पनि कति रहर मार्नुपर्छ। आर्थिक औकात नभएको आम मानिसको बाध्यता अनि विवशता ओकल्ने कथा हो यो।
विकल्प-अमूर्त नारामा सीमित घोषणा र योजनाप्रति व्यंग्यात्मक टिप्पणी। पूर्वाधारको संरचना नभई कुनै पनि कार्य सुरुवात गर्न अघि बढ्ने आलोकाँचो निर्णयप्रति कथामार्फत मिठो दनक दिएको पाइन्छ।
सहानुभूति-व्यवहारमा नउत्रिने शब्द र भावना खोक्रो सावित हुन्छन्। मृत्युपछिको खोक्रो समवेदना पोख्ने समाजप्रति लक्षित गरी लेखिएको भावनात्मक लघुकथा हो यो।
इन्द्रिय सुख-आजको समयलाई सही ठाउँमा लगानी गर्नुपर्दछ। आज समय, शक्ति र सामर्थ्य छ तर त्यो भोलि हुँदैन। भोलि न समय हुनेछ, न जवानी, न सामर्थ्य।
परिवर्तन-जुन जोगी आए पनि कानै चिरेको, जुन सत्ता आए पनि बिल्ला भिरेको। सत्तामा पुगेपछि इन्द्रियहरू नियन्त्रणभन्दा बाहिर पुगेर कानुनी शासनको उपहास गर्ने सत्ता सुखको लिप्सामा निर्लिप्त हुने र समसामयिक घटना उजागर गर्न सफल लघुकथा।
आस्था-लासमा दलहरूको राजनीति। लासलाई पार्टीको झन्डा ओढाएर त्यसमाथि दाबी ठोक्न होडबाजी गर्नेप्रति व्यंग्य प्रहार।
साइत-साथ जुटेको तर साइत नजुरेको। उमंगका साथ अगाडि बढेको पाइलामा समय र परिस्थितिले गर्ने अवरोधको कलात्मक राम्रो प्रस्तुति।
मानवता-यस लघुकथामा सामाजिक सञ्जालमा अनावश्यक स्ट्याटस पोस्ट गरी बजारीकरण गरेर आत्मरतिमा रमाउन, चर्चा बटुल्न खोज्ने समाजमा रहेको केही वर्गप्रति तिखो प्रहार छ।
भोलि-नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदै छ र बढ्दै छ गएको छ। सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गए पनि भोलिवादको विकास भएको पाइन्छ। यस लघुकथाले निबन्धकार भैरव अर्यालको ‘जय भोलि’ सम्झाउँछ।
पीडा-जीविकोपार्जन र अस्तित्वका लागि संघर्षरत साहित्यकारको पीडा। नेपाली समाजमा साहित्यकारहरूले लेखेर बाँच्ने कल्पना गर्नु फलामको चिउरा चपाउनु सरह हुन्छ भन्ने सन्देश बोकेको लघुकथा।
बलिदान- जो होचो उसैको मुखमा घोचो। निर्धो र निम्छरो हुनुको सबैभन्दा बढी पिरलो त्यतिबेला हुन्छ जब आफूभन्दा कमजोर प्राणीले पनि लखेट्छ।
संकीर्णता-जातभात, छुवाछुत र उँचनीचको संकीर्ण मानसिकता बोकेकालाई निचो जातिद्वारा गरिएको सेवा। यो लघुकथाले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने महाकवि देवकोटाका भनाइ ताजा गराउँछ।
संग्रहमा समावृत्त अन्य लघुकथाहरूमा आदर्श, संस्कार, आदेश, मृत्युको भय, आमा, नतमस्तक, पश्चात्ताप, हीनताबोध, भविष्यवाणी, एहसास, न्याय दिवस, संकल्प, स्वतन्त्रता, निरुत्तर, फैसला, भाग्य, आकर्षण, योगदान आदि छन्।
यी सबै लघुकथाहरूमा गरीब जनता, डर, शून्यता, आम जनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रबिन्दुमा छन्। राजनीतिक व्यंग्य, सामाजिक, राजनीतिक, आर्थिक, नैतिक, धार्मिक विषयप्रति गहिरो चासो उनको लघुकथाको मुख्य स्वर हो। मानवीय अवमूल्यनप्रति ध्यानाकर्षण गर्दै मूल्यमान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण प्रस्तुत गर्न सफल छन् लघुकथाहरू।
कहीं कतै सम्पादन पक्ष अलि कमजोर भयो कि भन्न सकिने ठाउँ देखिन्छ। कहीं कतै शुद्ध-अशुद्धिले भनाइ खजमजिएको छ। पाठकीय दृष्टिकोणबाट केही स्थानमा सुधारको आवश्यकता महसुस गरेको छु।
लघुकथा लेख्नु अलि कठिन नै हुन्छ। लेखकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। फेरि अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ। यद्यपि यो मामलामा कथाकार किशन पौडेल खरो उत्रिएका देखिन्छन्।
उनको लेखनले आफूले अनुभव गरेको यथार्थलाई चित्रण गरेको छ। सकारात्मक सोच र संवेदनशीलता उनको लघुकथाको मुख्य आधार रहेको छ। वस्तुपरक लघुकथाहरू यस संग्रहको सबैभन्दा ठूलो उपलब्धि हुन्। विषयवस्तुको विविधता र शिल्पको चेतनाले यो संग्रहको लघुकथाहरूले पक्कै पनि पाठकको मनमा छाप छोड्न सक्षम हुनेछन्।
पाठकहरूले लामो समयसम्म भुल्न सक्ने छैनन्। खुसीमा संकलित रचनाहरू नेपाली लघुकथाहरूका लागि बलियो मेरुदण्डको रूपमा रहेन विश्वास लिएको छु।
अन्तिममा लघुकथाकार पौडेललाई हार्दिक बधाई एवं शुभकामना।
प्रकाशित: २० असार २०७९ ०७:४९ सोमबार