लक्ष्मीप्रसाद पौडेल
‘यो तराईमा पानी पर्दै पर्दैन, पर्न थालेपछि रोकिने नाम लिंदैन।’ आमा धुम्म परेको आकाशतिर हेर्दै भित्र पसिन्।
कुलो सोझ्याउनु, आली मिलाउनु, गरो सम्याउनु र कोदाली चलाउनु एक्लै कसोरी भ्याउँछन् यी बुढाले। छोराबुहारी मंसिरमा ‘बा’ भन्दै टुप्लुक्क आइपुग्छन्।
‘धानचामल गाउँबाटै आउँछ हाम्रो’ भन्दै फुर्ती लाउन पाएकी छे बुहारीले।’
‘बाबु,दुईचार हजार पठाइदे न! पर्मा लाउने मान्छे छैनन्। खेताला महँगा भए। बा एक्लैले कति गरून्। बाउसेले दुई हजार माग्न थालिसके अचेल!’ आमा टेलिफोनमा एकोहोरो बोल्दै थिइन्। फोन भाउजूले उठाएकी रैछन्। के भनिन् कुन्नि, रन्फनिएर बाहिर निस्किन्।
–सुन्यौ बुढा, अर्को वर्षदेखि खेत जम्मै अधियामा दिने। आधा उब्जनीले हामी बुढाबुढी र यो छोरीलाई खान पुगिहाल्छ। ती शहरीयाले अब किनेर खाने रे!
‘खान्छन् किनेर, किनेर खानलाई फल्नु, फलाउनु परेन!’
बा कोदाली बोकेर खेततिर लागे। म भान्सामा आमालाई सघाउन पुगें।
त्यसपछि आमा बोल्नुभएन। पुरी,तरकारी र अचार बनाएर खेततिर लाग्नुभयो। म पानीको गाग्री बोकेर आमाको पछिपछि लागें।
बाटाभरि एउटै कुरा खेलिरह्यो,‘यो मंसिरमा दाजुभाउजू नआउने नै हुन् त! छिमेकबाट चामल पनि नआउने रे!’
प्रकाशित: १६ असार २०७९ ०७:४२ बिहीबार