निरज कोइराला
आज मैले ऊ जोडजोडले रोइरहेको देखें। ऊ भन्दै थियो, ‘मेरो घर भत्किएको छ। मेरी जीवन सँगिनी खहरेमा बग्दै छे। मैले कसरी आँसु थाम्न सक्छु?’
ऊ भट्याउँदै सुँक्कसुँक्क गर्दै भन्दै थियो, ‘म जताततै सजिलै बास बस्थें हिमाल, पहाड, तराई र भीरपाखा सबैतिर। रमाएर बस्थें म आफ्नी जीवन सँगिनीलाई अंकमाल गरी।’
त्यसैगरी धेरै जीव तथा वनस्पतिको आश्रय दिनु मेरो धर्म थियो। कति मान्छेको घर बनाइदिएको थिएँ मैले। छानो छाएको थिएँ। आँगन सिंगारेको थिएँ। म्बिना धेरै पुलपुलेसा बनाउन सम्भव थिएनन्। मेरा आँसु आज कसरी रोकिन्छन्? तिनै पुलहरू र सैयौं घरहरू बगाएको सम्झँदा।’
उसका कुरा कसैले सुन्दैनन्। मैले सुनेर एक्लैले के नै पो गर्न सक्थें र! मन मात्र कुँडियो। आज आफ्नै अर्धाङ्गिनी पानीमा बगिरहँदा ऊ डिलमा बसेर टुलुटुलु हेरेर रुन मात्र सक्छ, रोक्न सक्दैन।
ऊ रुँदै भन्दै छ, ‘आजका देश चलाउनेहरू, मलाई पत्थर भनी डिलमा अडिन लगाउनेहरू किन मभन्दा कडा मुटु पारेर मेरो मुटु माटो डलरसँग साट्दै छौ? सास हावामा उड्दा लास अड्न त माटै चाहिन्छ होला नि?’
प्रकाशित: १६ असार २०७९ ०५:५२ बिहीबार