यो संसारमा समय कतिसम्म महत्त्वपूर्ण छ र कतिसम्म बलवान् छ भन्ने कुरा यहाँ देखिएका विभिन्न घटनाहरूले दर्शाइरहेकै छन्। हिजोसम्मका करोडपति मानिसहरू आज रोडपति भइरहेका पनि देखिन्छन्। यो सबै समयको खेल हो भनिन्छ। तर मानिसहरूको जीवनममा विभिन्न घटनाले अनि समय परिस्थितिले गर्दा पनि धेरै नै परिवर्तनभइरहेको देखिन्छ।
हिन्दुस्थानका सम्राट अशोक कतिङ्गको युद्धमा विजयी भइसकेपछि युद्ध क्षेत्रमा देखिएका विभत्स दृश्य, हजारौं मानिसका मरेका लास देखेर उहाँको मनमा ठूलो चोट परेपछि युद्ध जित्ने नाममा धेरै नै मानिसहरूको ज्यान लिन पुगेछन्। यस्तो युद्ध गरेर देश जितेर के गर्ने भनी मनमा अशान्ति छायो। तत्कालै सम्राट अशोकले शान्तिको पथ बौद्ध मार्गमा गई आफै बौद्ध भएर विभिन्न देशहरू घुम्दै छोरी चारुमतिलाई पनि साथै लगेर बौद्धमतको प्रचार गर्न थाले।
यसै क्रममा भगवान् गौतम बुद्धको जन्म भएको स्थान नेपालको लुम्बिनीमा आई अशोक स्तम्भ नै बनाइदिए। गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने एउटा सशक्त प्रमाण नै राखिदिए। त्यस्तै अशोककी छोरी चारुमतिले चाबहिलमा बहाल बनाएर बौद्ध स्तुप चैत्य स्थापना गरेर चारुमति विहार भनी नामकरण गरिदिइन्। यसरी समय परिस्थितिले गर्दा मानिसको जीवनमा धेरै नै परिवर्तन ल्याइदिन सक्छ।
त्यस्तै परिस्थितिले नै रत्नाकरजस्ता डाँकुलाई वाल्मीकि ऋषि बनाइदियो। अंगुलिमाल जस्ता राक्षसलाई समेत बुद्धको अनुयायी बनाएर बोधिसत्व नै बनाइदियो। समय यतिसम्म बलवान् छ कि समयको महत्त्व बुझ्न सकेन भने मानिसको जीवनमा धेरै उतारचढाव आइरहन्छ।
समयको महत्त्वको कुरा गर्दा समयको ज्ञानका ज्ञाता लंकापति दशानन रावणलाई बिर्सनु हुँदैन, किनभने लंकापति रावणले २४ घण्टाभित्रको पृथ्वीलाई दुई भागमा विभाजन गरेर दिन र रातको प्रत्येक सेकेन्डको महत्त्वको विषयमा विश्लेषण गरेका रहेछन्। पृथ्वीमा प्रत्येक मानिसहरूले आफ्नो भलाइका लागि खराब समय राहुकालबाट बच्नुपर्छ भनी रावणले भनेका रहेछन्।
हुन त रावण यतिसम्म शक्ति भएका रहेछन् कि नवग्रहलाई नै आफ्नो वशमा राखेका थिए। रावणले प्रत्येक दिनको राहुकाललाई वर्गीकरण गरिदिएका छन्। उक्त वर्गीकरण गरिराखेको समय पृथ्वीको करोडौं वर्षसम्म त्यही नै भइरहन्छ। त्यसमा कुनै पनि हेरफेर हुँदैन भनिएको छ। यो समयलाई पृथ्वीमा रहेका सम्पूर्ण मानिसहरूले जानकारी राख्न सकेमा आफ्नै कल्याण हुने छ। यसमा शङ्का गर्ने ठाउँ छैन, किनभने यो शास्त्रसम्मत छ।
रावणलाई तन्त्र, मन्त्र, ज्योतिष, रसायन शास्त्र, चिकित्सा शास्त्र र अनेकौं गुढ रहस्यका ज्ञाताका रूपमा लिइन्छ। रावण स्वयम् एउटा वैज्ञानिक पनि हुन्। रावण हावामा पनि उड्न सक्ने व्यक्ति हुन्। रावणले भनेको समयमा वर्षा गराउन र हावाहुरी ल्याउन सक्छन्। रावणको आदेशले पहाडले पनि ठाउँ छोड्छ भनिन्छ। यतिसम्म शक्तिशाली हुन् रावण। रावण समय विज्ञानका विशेषज्ञ नै हुन्।
यो कुरा बुझ्नुभएका भगवान् श्रीरामले रावणलाई युद्धमा हराइसकेपछि रावणले मृत्युवरण गर्न लागेको बेलामा पृथ्वीबाट कालको ज्ञान विद्या लोप हुने ठानेर रावणसँग ज्ञान लिन आफ्ना भाइ लक्ष्मणलाई रावणको पाउमा निहुरिएर कालज्ञान माग्न जाऊ भनी आदेश दिएका हुन् भनिन्छ। लक्ष्मणले पनि रावणको गोडा मुनी बसेर दण्डवत् गरेर रावणसँग काल ज्ञानको विद्या मागेर लिएका हुन्।
रावणले लक्ष्मणलाई ज्ञान दिने सन्दर्भमा भन्छन्- ‘प्रत्येक सेकेन्डसेकेन्डको आफ्नै महत्त्व छ, अनि प्रत्येक सेकेन्ड सार्वभौम छ। कुनै समय कुनै पनि समय अन्तर्गत छैन। त्यसो भएकाले जसले ठीक समयमा समयलाई चिनेर पृृथ्वीमा कामकाज गर्छ, उही सफल हुन्छ।’ यति भन्नेबित्तिकै रावणले समयको महत्त्व बुझाउने क्रममा सुकेका सातवटा रुखको पात भुईंमा राखेर रावणले फलामको पहिलो सियोले भुईंमा राखेका सुकेका सातवटै पातमा छुवाउँछ। सियोले छुनेबित्तिकै पहिलो पात सुनको पातमा परिणत हुन्छ।
दोस्रो पात चाँदीको हुन्छ, तेस्रो पात तामाको हुन्छ, चौथो पात फलामको हुन्छ भने अन्य पात पहिला जस्तै सुकेका पात नै भइरहेका देखाएर प्रमाणित गरी भन्छन्–‘देवता पनि यो समयको बन्धनमा बस्नुपर्छ।’
रावणका यस्ता कार्य देखेर लक्ष्मण आश्चर्यचकित भैरहेको बेलामा रावणले लक्ष्मणको शङ्का निवारण गर्दै भन्छ-‘म यतिसम्म शक्तिशाली भएर पनि आज यसरी किन मर्नुपर्यो भन्ने शङ्का लागेको हुन सक्छ। यो स्वाभाविकै हो तर मलाई यो सबै कुरा पहिला नै थाहा थियो। आजको यो शुभ समय पारेर मेरो अन्त्य यसरी भगवान् श्रीरामको हातबाट हुनु नै मेरो मुक्तिको मार्ग हो। यसमा कुनै शङ्का लिनु पर्दैन।’
जसले पनि शुभ कार्य गर्नुपरेमा साइत हेर्नुपर्छ। शुभ समय पारेर गर्नुपर्छ भनी साइत हेरेर मात्र गर्ने चलन छ। जस्तोसुकै शुभ कार्य गरेको किन नहोस्, यदि त्यो राहुकालमा परेको रहेछ भने त्यस समयमा गरेको कार्य सफल हुन सक्दैन। भारतका ज्योतिष विज्ञानका ज्ञाता त्रिकालदर्शी डा. नारायणदत्त श्रीमालीले पनि रावणको काल ज्ञानलाई आत्मसात गरेर समयलाई महेन्द्रकाल, अमृतकाल, बक्रकाल, शून्यकाल र राहुकाल गरी वर्गीकरण गरेका छन्।
लंकापति रावणले सम्पूर्ण मानिसको कल्याणका लागि करोडौं वर्षसम्म हेरफेर नहुने सात बारका खराब समय अर्थात् राहुकालको समय तोकिदिएका छन्। लोक कल्याणका लागि शुभ कर्म गर्दा, कतै जाने बेलामा, कुनै पनि कुराको निर्णय गर्नुपर्दा यो राहुकालबाट बच्नुपर्छ भनिएको छ। त्यसैले मैले यहाँ सबैको कल्याण होस् भनी राहुकालको समयतालिका प्रस्तुत गरेको छु।
यो समयतालिका प्रत्यक दिन, प्रत्येक महिना र वर्षमा यही नै भइरहन्छ। यसमा परिवर्तन हुन सक्दैन। यो समयतालिका करोडौं वर्ष पनि यही नै रहन्छ। खराब समय अर्थात् राहुकालको समयतालिका यसप्रकार छ-आइताबार दिनको ४ः३० बजेदेखि ६ः०० सम्म, सोमबार बिहान ७ः३० बजेदेखि ९ः०० सम्म, मंगलबार दिनको ३ः०० बजेदेखि ४ः३० सम्म, बुधबार दिउँसो १२ः०० बजेदखि १ः३० सम्म, विहीबार दिउँसो १ः३० बजेदेखि ३ः०० सम्म, शुक्रबार बिहान १०ः३० बजेदेखि १२ः०० सम्म र शनिबार बिहान ९ः०० बजेदेखि १०ः३० सम्म। यहाँ यो दिइएको समयतालिका लंकापति रावणले राहुकालको रूपमा उल्लेख गरिराखेका हुन्।
यस्तै शुभ समय भनेर रावणले उल्लेख गरिराखेको समय यसप्रकार छ-आइतबार दिनको ३ः०० बजेदेखि ४ः३० सम्म, सोमबार दिनको १ः३० बजेदेखि ३ः०० सम्म, मंगलबार दिउँसो १२ः०० बजेदेखि १ः३० सम्म, बुधबार बिहान १०ः३० बजेदेखि १२ः०० सम्म, विहीबार बिहान ६ः३० बजेदेखि १०ः३० सम्म, शुक्रबार बिहान ७ः३० बजेदेखि ९ः०० सम्म र शनिबार बिहान ६ः०० बजेदेखि ७ः३० सम्म। यो शुभ समय पारेर काम गर्नुपर्छ, सफल भइन्छ।
यो समयतालिकामा विश्वास भए पनि, नभए पनि मन लागेका पाठकहरूले व्यवहारमा एकपटक प्रयोग गरेर अनुभव गरी हेरौँ। अस्तु।
प्रकाशित: ११ असार २०७९ ०१:४३ शनिबार