२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

न्यायको भिख

लघुकथा

अम्बिका धिताल

एक कक्षामा पढ्ने छोराले घर आउनेबित्तिकै ममीलाई भन्यो,‘ममी, हाम्रो बाबा कहिले आउनुहुन्छ?’

ममीले हाँसेर भन्नुभयो,‘बाबुले धेरै पढेपछि बाबा आउनुहुन्छ है?’

‘ममी, आज म धेरै पढ्छु अनि भरे बाबालाई बोलाइदिनु है त!’

छोराको कुरा सुनेर ममी बोल्नुभयो, ‘आज होइन के! तिमी ठूलो कक्षामा पुगेपछि मात्रै बाबा आउनुहुन्छ।’

छोरा आक्रोशित भएर बोल्यो,‘नाइँ, मेरा साथीहरूलाई त उनीहरूका बाबाले शनिबार चिडियाखाना लाने रे! रोहितलाई त पौडी खेल्न लाने रे! म पनि साथीहरूको जस्तै बाबासँग घुम्न जाने।बोलाइदिनुस् बाबालाई। मैले कहिल्यै बाबा देखेको छैन। साथीहरूलाई चाहिं उनीहरूको बाबाले स्कुल पुर्‍याउन अनि लिन पनि आउनुहुन्छ।’

मेरोचाहिं हिहि भन्दै छोरो रुन थाल्यो।

ममीले टाउको सुम्सुम्याउँदै भन्नुभयो,‘यसरी रोयो भने त बाबा कहिल्यै आउनु हुन्न। ल हाँस त,म नै मेरो प्यारो छोरालाई घुमाउन लान्छु!’

छोराले सुकसुकाउँदै  भन्यो, ‘नाइँ, तपाईले धेरै पटक ढाँटिसक्नुभयो। यो पटक त बाबालाई जसरी नै बोलाइदिनुपर्छ। म त बाबा नआई खाजा पनि खान्नँ। स्कुलको अर्को कक्षाकी दिदीले भन्नुभएको, मेरो बाबा हुनु हुन्न रे!’

मैले भनें, ‘होइन,आजै आउनुहुन्छ।’

–त्यसोभए भोलि बाबालाई पुर्‍याउन लेराउ त रे। मलाई मेरो बाबा चाहिन्छ हिंहिं मेरो बाबालाई नबोलाएसम्म म रोइरहन्छु।

छोराको कुराले ममीलाई नौ रेक्टरको भूकम्प गएजस्तो भयो। उनी थचक्क बसिन् र भनिन्,‘मलाई बिनागल्ती फकाईफकाई टोकेर भाग्ने त्यो अधर्मी अरिंगाललाई ठिक पार्न र आफूले न्याय पाउन अब म जाग्छु छोरा। अब म न्यायको भिख माग्न महिला राष्ट्रपति कहाँ नै जान्छु। हिंड्,अब तैंले तेरो बाबा छिट्टै पाउँछस्।’

प्रकाशित: १० असार २०७९ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App