चेतनाथ दाहाल
लामो समयदेखि रोगले ओछ्यान परेका वीरध्वजको सह्यारसुसार गर्ने उनका श्रीमती र बुहारी मात्रै थिए। उनको छोरा रोजगारीका लागि विदेश गएको थियो।
एकापट्टि मात्र फर्केर सुतिरहँदा सकस परेकाले अर्कोपट्टि फर्काइदिन वीरध्वजले बुहारीलाई ढिपी गरे। बुहारीले उनलाई अर्कोपट्टि फर्कन मद्दत गर्दै गर्दा सासू आमा पँधेराबाट पानी लिएर टुप्लुक्क आइपुगिन् र ‘नछुनी भएको बेलामा आफूभन्दा ठुला मान्छेलाई यसरी छोइछुत गर्ने पापीनी’ भन्दै बुहारीलाई गाली गरिन् र फेरि यो क्रम दोहोरिए राम्रो नहुने चेतावनी दिइन्।
अर्को दिन सधैंझैं बुढी नुहाउन पँधेरामा गएको बेलामा बुढालाई बिमारले च्यापेर निकै गाह्रो भयो। बुढा ‘पानीपानी’ भन्न थाले। आफूले छुन नमिल्ने भएपछि बुहारी सासूलाई बोलाउन पँधेरातिर दौडिई। बुढी हतारहतार दौड्दै घर आइपुग्दा बुढाले प्राण त्यागिसकेका थिए।
प्रकाशित: २१ जेष्ठ २०७९ ०४:३१ शनिबार