१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

‘मोम्चो’ कथासंग्रहको अन्तरक्रिया

आख्यानकार वसन्त पराजुलीको दोस्रो कथासंग्रह ‘मोम्चो’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं, अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा केही लेखक र समीक्षकको सहभागितामा कथाकार पराजुलीको दोस्रो कथासंग्रह ‘मोम्चो’को अन्तरक्रिया गरिएको हो।

‘साहित्य पोस्ट’का सम्पादक अश्विनी कोइरालाले पत्रकारिताको भाषामा कथा कसरी लेखिन्छ भन्ने थाहा पाउन ‘मोम्चो’पढ्नुपर्ने बताए। मोम्चोमा पत्रकारिताको भाषा पाइन्छ।  समाचार नबनेका समाजका कुरालाई टपक्क टिपेर कथाकारले कथा बुनेको छ।

‘मोम्चो’ कथासंग्रहको सम्पादक तथा पत्रकार केदार भट्टराईले कथाको मर्म जोगाउँदै कथाको सम्पादन गरेको बताए। नारी सौन्दर्यभन्दा नारी समस्यामा केन्द्रित भएर लेखिएका संग्रहका कथाहरूको मर्म जोगाउँदै कथा सम्पादन गरेको छु। तर, सम्पादनको क्रममा सरल रेखीय ढाँचामा लेखिएका कथालाई वक्र रेखीय ढाँचामा ढाल्दा कथाका केही  रूप बदलिएको छ।

त्यसैगरी साहित्यकार सगुना शाहले संग्रहका धेरै कथा महिलाकै पेरिफेरीमा लेखिएको बताइन्। महिलाको त्याग, समर्पण र सहनशीलताभन्दा माथि उठेर लेखिएका कथा पनि संग्रहमा अटेका छन्। उनले कति कथा पढ्दापढ्दै सकिएको पनि बताइन्।

कथासंग्रहका भाषासम्पादक स्थानीय नेपोलियन चेपाङले कथामा चेपाङ केन्द्रित कुरा प्रभावकारी ढंगले उठाएको बताए।

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले कथाकृतिबारे टिप्पणी गर्दै पहिलो कथासंग्रह ‘कुमाता’ देखि दोस्रो कृति ‘मोम्चो’सम्म आइपुग्दा आख्यानकार पराजुलीलाई निकै सफलता मिलेको बताए।

कथाकार सम्बन्धित ठावैमा गई सामाजिक परिवेश टपक्क टिपेर लेखिएकाले कथाहरू मौलिक रहेको बताए। कथामा तात्कालिक घटनाहरूको बाहुल्य रहेको, कथाकार व्याख्याता बनेको, पत्रकारिताको भाषा मिसिएको, धेरै कथामा बन्द समापन भएको जस्ता त्रुटि औंल्याउँदै सबै कथा राम्रा तर केही कथा मात्रै स्तरीय रहेको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले साहित्यले समाजमा तरंग ल्याउने बताए। साहित्यले समाजमा तरंग ल्याउँछ। उनले भने, ‘साहित्यले समाजमा तरंग ल्याउँदै  नागरिकलाई अन्तरक्रियात्मक बनाई लोकतान्त्रिक बाटामा हिंडाउन मद्दत पुर्‍याउँछ।’

कार्यक्रममा प्राडा सावित्री मल्ल कक्षपतिले समीक्षात्मक टिप्पणी गरेकी थिइन्। उनले कथाहरूको विषयवस्तु केलाउँदै कथाहरू सिर्जनात्मक र समाजचित्रण गर्नसक्ने रहेको उल्लेख गरिन्। कथासंग्रहमा चितवनको सिमान्तकृत चेपाङ समुदाय र उसले प्रयोग गर्ने भाषा, जीवनशैली आदि समेटेको उनको भनाइ थियो। उनले कथामा नारीलाई सशक्त र सक्रिय  पात्रको रूपमा प्रस्तुत गर्न पनि कथाकारलाई सुझाइन्।

वरिष्ठ नाट्यकार अशेष मल्लले नाटकमा दर्शकको मन तान्न कलाकार खेलेको भूमिका जस्तै लेखकले पाठकीय मन तान्ने लेखकीय खुबीको उपयोग गर्नुपर्ने बताए।

कथाकार वसन्त पराजुलीले पितृसत्ताको सिकार बनेका नारी वर्गको उत्थानका लागि कथा लेखेको बताए। मैले नारी मनोविज्ञानको नजिकै रही नारी उत्थानका लागि कथा लेखेको छु।मैले यथार्थको नजिक रही कल्पनाको जलप लगाउँदै  कथा लेखेको छु।

आख्यानकार पराजुलीले कथालेखनको अवस्था, परिवेश र समीक्षकहरूले उठाएका विषयबारे आफ्नो पुस्टयाइँ दिएका थिए। उनले कथाले चितवनको चेपाङ समुदायको अवस्था व्याख्या गर्ने  बताए। चेपाङ भाषाको ‘मोम्चो’ शब्दको अर्थ महिला वा नारी रहेको पनि उनले खुलाए।

‘मोम्चो’ पराजुलीको दोस्रो कथासंग्रह हो। यसअघि उनको ‘कुमाता’ नामक कथासंग्रह छापिएको थियो।

भुँडीपुराण प्रकाशनको आयोजना र साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी दिवा भट्टराईको सञ्चालन र प्रकाशक केशव पराजुलीको स्वागत मन्तव्य रहेको थियो।

प्रकाशित: १८ जेष्ठ २०७९ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App