लक्ष्मण अर्याल
‘आमा नभन मलाई अब।’जुनाले श्रद्धालाई भनी।
जुनाकी साख्यै छोरी हो श्रद्धा। बाबु मरे गर्भे टुहुरी भई। उमेरकै थिई जुना। जुनाले श्रद्धाको मुख हेरेर जीवन साथी पनि चुनिन्।
श्रद्धा अब ठूली भई। उसलाई बिहे गरेर पठाउनुपर्छ। उसको बिहे पछि जुना एक्ली हुन्छे। अब जीवन कटनीका लागि पनि मन मिल्ने साथीको खोजी गर्नुपर्छ कि भन्ने ठानी जुनाले।
अधबैंसे शेखर भेट भयो अचानक एकदिन जुनाको दोबाटामा। दुवैको मन मिल्यो, बिहे गरे। जुनाले लोग्ने पाई र समाजको आँखामा शेखरले एउटी नजन्माइएकी छोरी भेट्टायो।
समय बित्दै गयो। श्रद्धाका हात माग्न पढेलेखेकादेखि ठूलाठूला घरानियाँ पनि आए। श्रद्धाले बिहे गर्न मानिन। जुनाले धेरै सम्झाई तर व्यर्थ भयो।
जुनाले दिक्क मनले श्रद्धालाई भनी, ‘भो, आमा नभन अब मलाई!’
श्रद्धा खिस्स हाँसी मात्र–बेसोमती हाँसो। केही बोलिन।
जुनाले अराजक चिठी भेटी श्रद्धाको। खङरङ्ङ भई। समाज भत्कियो।
चिठीमा लेखिएको थियो-आमा तिमी नरिसाऊ है। हामी बीच धेरै समयदेखि एउटा आत्मीय सम्बन्ध थियो। ऊ मलाई चाहान्थ्यो। म पनि उसलाई चाहान्थें। दुर्घटना भयो। तिमीले बिहे गर्यौ शेखरसँग। म तिमीलाई पाल्थे। दुधको भारा तिर्थें। किन हतारियौ तिमी? मैले कोसिस पनि गरेकी हुँ छुट्टिन तर सकिनँ। बिन्ती आमा नरिसाऊ है। अब तिमी आफ्नो सुर गर।’
शेखर बिलायो समाजबाट। जुना फेरि एकपल्ट विधवा बनी।
प्रकाशित: १६ जेष्ठ २०७९ ०७:०६ सोमबार