१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पल्लो घरको बुरुस

कथा

सुरेन उप्रेती

त्यसबेला हाम्रो गाउँमा चर्पी बनाउने चलन थिएन। घर नजिक जंगल हुनेहरू लोटामा पानी बोकेर जंगलतिर जान्थे। घर नजिक खोल्साखाल्सी हुनेहरू खोल्सातिर जान्थे। नजिक जंगल र खोल्सा नहुनेहरू बारीका डिल, ठूलो ढुंगा र रूखको फेदमा गएर मलमूत्र विसर्जन गर्थे। निश्चित स्थानमा विसर्जन भएपछि जतासुकै फोहोर नहुने कुरा महसुस हुँदै गयो। घाँस काट्दा पनि फोहोरमा कुल्चिनु परेन।

ती मलमूत्र विसर्जनस्थललाई हगनगौडी भनिन्थ्यो। प्राय: मान्छेहरूले निश्चित ठाउँमा विसर्जनस्थल बनाउँदै गए। पाहुनाहरू पनि कति बुज्झकी हुन्थे। कता छ शौचालय भनेर कसैले नसोध्ने। जंगल जाने लोटा कता छ सम्म सोध्थे। लोटामा पानी हालिदिएपछि आफैं स्थान पत्ता लगाएर आफ्नो व्यवस्था गर्थे। पण्डितहरूले जंगल जाँदा कानमाथि जनै सिउरिएर जान्थे। जंगल जाँदा लगाउने तेर्से धोती छुट्टै हुन्थ्यो। पण्डितनीहरू कम्मरमा बाँध्ने पछ्यौरा बाँधेर पेटिकोटमा जंगल जान्थे। जंगल जाँदाका लुगा फर्किएर नुहाइधुवाइ गरेर फेर्थे। जंगलबाट फर्किंदा सिमाली, सरुवा वा बाँसका हाँगा भाँचेर दाँत माझ्दै आउँथे। दाँत माझ्ने बुरुसहरू आएका थिएनन्।

मंसिरको धान थन्क्याइसकेपछि पहाडमा काम हुँदैन थियो। हिँउदे गहुँ छर्ने र आलु रोप्ने चलन फस्टाइसकेको थिएन। बारीमा लगाएको कोदो टिप्ने, घोरे काट्ने, कोदो कुट्ने आदि मात्र काम हुन्थे। महिलाहरू गुन्द्री, गजेरा बुन्ने पिरा र बिँडा बाट्ने, पात टिपेर दुनाटपरी गाँस्ने गर्दथे। बारीका कान्ला फाँड्ने, जंगलमा गएर दाउरा काटेर ल्याउने र दाउराको हार लगाएर राख्ने चलन थियो।

हिँउद लागेपछि गाउँका लोग्ने मान्छेहरू काम खोज्न तराईतिर जान्थे। पल्लाघरका कान्छा काका पनि मदेस गएका थिए। दुईतीन महिना मधेस घुमेर काका गाउँ फर्के। परिवारका सबैलाई नयाँ जुत्ता र लुगा ल्याइदिएछन्। उनले एउटा डावरको दन्त मन्जनको बट्टामा रातो धुलो र एउटा दाँत माझ्ने बुरुस पनि ल्याएछन्।

उनी आइपुगेको भोलिपल्ट संयोगले शनिवारको दिन परेछ। बिहान सबैलाई घरबाहिर बोलाए। घरलाई  चौगाराले घेरिएको थियो। आँगनको डिलमा भाँडा माझ्ने ठाउँ थियो। पर्खालदेखि मुनि चारपाँच झ्याँग केरा थिए। हरिया लहराहरू थाँक्रामा लहरिएर टाटे सिमी फलेका थिए।

भाडा माझ्ने ठाउँलाई जुठेल्नु भन्दथे। काकाले जुठेल्नाको छेउमा सबैलाई भेला गरे। सबैका हत्केलामा अलिकति रातो दन्तमन्जनको धुलो हालिदिए। उनले पनि हत्केलामा अलिकति मन्जनको धुलो हाले। बुरुसलाई पानीले भिजाएर हत्केलाको रातो धुलोमा दले। अनि दाँतलाई दायाँबायाँ गर्दै घोटे। उनले पानी मुखमा हाले र कुचुकुचु गर्दै पिच्च थुके। काकाका सुर्ती खाएर काला भएका दाँत पनि अलि उज्याला देखिए। उनले बुरुसलाई पानीले पखालेर काकीलाई दिए। ल यसरी नै दाँत माझ्नु भनेर सिकाए। काकीले पनि त्यसरी नै दाँत माझिन्। छोरा, बुहारी, छोरी, सबैले दाँत माझे। सबैका मुखहरू सेता दाँत पाएर मक्ख भएझैं लाग्दथ्यो। सबैले दाँत माझिसकेपछि घरभित्रको अगेनाछेउको खोप्पामा बुरुस राख्नु भनेर काकाले सम्झाए।

पल्लाघरका सबैको शान नै बेग्लै भयो। बोल्दा पनि दाँतका कुरा गर्थे। मान्छेहरू दाँत नमाझी पनि कसरी बस्न सक्छन् होला भनेर पँधेर्नीहरूसँग काकीले कुरा गर्थिन्।

एकडेढ महिनासम्म एक बट्टा मन्जनले राम्रैसँग धान्यो। डेढ महिनामा दन्त मन्जन सकियो। अब कहाँबाट मन्जन ल्याउने चिन्ता हुँदै थियो। काकाले मन्जन बनाउने जुक्ती निकालेछन्। काकाले अँगार कुटेर कालो धुलोलाई मन्जनको बट्टामा भरे। अँगारको धुलाले माझ्दा दाँत त अझ सुकिला पो हुँदा रहेछन् त! परिवारका सबैले काकाको जुक्तिको प्रशंसा गरे। त्यस्तै दुई महिना जति भएको थियो होला।

एकदिन बिहान दाँत माझ्ने बेलामा बुरुस भेटिएन। घरमा हल्लीखल्ली भयो। अगेनाछेउको खोप्पो, भुई, झ्याल, कुना सबै खोज्दा बुरुस छैन। काकीले टुकी बालेर खोज्दा पनि भटिएन। काकाले टर्चलाइट बालेर खोज्नुभयो। अहँ बुरुस भटिएन। काकाले सबैलाई भेला गरेर हिजो कसले अन्तिममा दाँत माझेको थियो भनेर केरकार शाखाका हवलदारले झैं सोध्नुभयो। भाउजूले होला! भनेर कान्छी छोरीले भनी। मैले माझेपछि कान्छा देवरले माझेर स्कुल जानुभा हैन भनेर माउजूले कान्छातिर  खन्याइदिइन्। कान्छो घरमा थिएन। पक्कै पनि त्यसले उसका अस्कोटका गोजीमा राखो होला। जाओ गोजी चेक गर। अस्कोट त्यहीं होला। काकाले उर्दी गरे। कान्छीले गएर दाइको अस्कोटको गोजीमा हेरी। बुरुस फेला परेन।

काकीले अड्कल काटिन्। कतै कान्छाले बिर्सिएर त्यहीं छोडेको त थिएन। के बेर कागले घुर्‍यानतिर पो झारिदियो कि। काकीका कुरा सुनेर काका र दाजु रछ्यानमा बुरुस खोज्न ओर्लिए। लठीले फोहर पल्टाउँदै खोज्दा बुरुस त फोहरका थाकमा भेटियो।

बुरुस त फोहोरले थिचिएर गोलघरको पिंजडामा थुनिएको राजबन्दी जस्तै भएर बसेको रहेछ। काकाले त्यो बुरुसलाई नुहाइधुवाइ गरे। नाकको नजिकै लगेर सुँघी हेरे। अझै फोहोरको गन्ध आइरहेको रहेछ। बटुकामा साबुनपानी राखेर डुबाए। एकडेढ घण्टा साबुनपानीमा डुबेपछि गन्हाउन छोड्यो। परिवारमा बुरुस हराउँदा बढेको कलह र आरोप-प्रत्यारोप पनि सकियो।

प्रकाशित: १३ जेष्ठ २०७९ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App