१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

जीवनदान

कथा

म्यामराज राई

छोकुबुङ राई अर्थात् बेली, जसको लालीगुराँस घारी नजिकै घर थियो। सदाबहार हरियो। प्रकृतिले सजिएको उनको गाउँ। गुराँसको लाली उनको गालामा पनि चढिसकेको थियो। यही साल एसएलसी गरिन्। परिवारमा उनको उच्च शिक्षाका लागि भाइको साथमा उनलाई शहर पठाउने निधो भयो। शिक्षाशास्त्र संकाय प्रवीणता प्रमाणपत्र तहमा भर्ना भइन्। परिचयात्मक कार्यक्रममा जाने अघिल्लो साँझ भविष्यका योजनाहरू एक झोला बोकेर शहर पुगेकी थिइन्। एक महिनाअघि नै बुवाले दुवैको भर्ना गरिदिएका थिए। भोक र थकाइले लखतरान भए। भाडाको डेरामा खानाको बन्दोबस्ततिर लागिन्। कोठाको साथी माध्यमिक तह पढ्ने भाइ अर्थात् कविन थियो। उनलाई त्यही डेरा छेउको माध्यमिक तहमा पढाउने परिवारको सल्लाह थियो। दुवै जना खाना खाए। दिनभरिको हिँडाइको थकानले रात गएको पत्तै भएन। दिदीभाइले सपना देख्न भ्याएनन्। एकैचोटि बिहानको सूर्यनारायणको दर्शनले ओछ्यान छोडे।

‘ओहो, आज क्याम्पस जाने पहिलो दिन। कस्तो साथी भेटिने हो? कहाँकहाँका साथीहरूसँग भेट भइने हो? मन मिल्ने साथी भेटिए त पढाइमा पनि सहयोग पुग्ने थियो।’ बेलीले अनेक सोच्दै चिया बनाइन्।

भाइलाई आठ सेरका दुई ओटा ग्यालेनबाट पानी ल्याउन अह्राइन्। धारा त्यही भुई तलामा थियो। उनीहरूको कोठा दोस्रो तलामा। दुई चुल्हो भएको नयाँ स्टोभ थियो। एक महिनाअघि मात्र गाउँकै सानो बजारमा किनेको। एउटामा चिया,अर्कामा दाल पाक्दै थियो। उनीहरूले चिया खाइसक्दा दाल पनि पाक्यो। घरबाट साँधेको आँपको अचार ल्याएका थिए।

मानौं,आमाको माया बट्टाबाट आएको थियो। आजको खानामा अचार पनि त्यही बनाउने सोचे। प्रेसरकुकरमा दिदीले सानो गिलासको तीन गिलास खाना बसाइन्। तीन सिट्टीमा खाना पाक्यो। भाइले अचार तयार पार्‍यो। दुवै जना साँघुरो कोठामा आमुनेसामुने बसेर खाना खाए। आमाले खाना पकाएर खुवाए जस्तै मीठो भएको भाइले प्रतिक्रिया जनायो। कहिल्यै घर नछोडेको भाइलाई सँगै राख्न सक्ने रहेछु भनेर उनी ढुक्क भइन्। दिदी क्याम्पस जान तयार भइन्। भाइलाई कोठामै बस्न भनेर उनी क्याम्पस लागिन्।

भाइ दिदीले भनेजस्तै चुकुल लगाएर कोठामा बस्यो। दिसापिसाव लागेको बेलाबाहेक ऊ बाहिर निस्किएन। सानैदेखि आज्ञाकारी थियो। आफूभन्दा ठूलो मान्छेले भनेको मान्थ्यो। आज पनि मानेर बस्यो। तर,मोबाइल भने उनको हातबाट क्षणभर समेत फुत्किएन। बरू ब्याट्री सकिन लागेपछि चार्जघरकै छेउमा ऊ बस्ने पिरा सार्‍यो। आँखा झिमिक्कै नपारी मोबाइल गेममा व्यस्त भइरहे। हिजो गाउँबाट ल्याएका कक्षा दशका किताबहरू झोलाबाट खटियासम्म सरे। त्यहाँदेखि भने कतै चलेनन्। असरल्ल भए।

क्याम्पस पोशाकमा छात्राहरूका लागि गाढा बैजनी रङका कुर्ता–सुरुवाल  तोकिएको थियो। छात्रको सेतो शर्ट र कालो प्याइन्ट थियो। विकल्पमा छात्राहरूले समेत लगाउन पाउने थियो। बेलीको रोजाइमा वैकल्पिक  पोसाकचाहिं पर्‍यो। खुट्टामा भने दाइले विदेशबाट ल्याइदिएको भुक्के जुत्ता लगाइन्। ठाँटिएर क्याम्पस गेटछेउ पुगिन्। उनी जस्तै नौतुनहरू थुप्रै भेटे। आफ्ना दाइ, दिदी या चिनेको दाइदिदीको फेरो समाउँदै आउनेहरू पनि थुप्रै थिए।

देब्रे हातले जेल लगाएको कपाल सम्याउँदै उनी गेटबाट प्रवेश गरिन्। छ फिट जतिको अग्लो पाले दाइ गेटमा उभिरहेका थिए। क्याम्पस हाताभित्र केके कहाँकहाँ छन्, कण्ठस्थ हुने गरी बताइरहेका थिए। साथमा क्याम्पसको परिचय पुस्तिका एकएक थान प्रत्येकलाई बाँडिरहेका थिए।

मानौं,  मुख र हात बराबर चल्ने ऊ रोबोट हो। रिमोर्ट थिच्नेबित्तिकै निरन्तर चल्न सक्छ। बेलीले राम्ररी परिचय पुस्तिका हेर्न जानिनन्। पाले दाइको मौखिक गाइड लाइन अनुसार कोठा नम्बर १७ अर्थात् पासाङ ल्हामु शेर्पा हल खोज्दै गइन्। बाटो नागबेलीजस्तै घुमाउरो थियो। वरिपरि थरिथरिका फूलहरू रोपिएको थियो। फूलहरू फुल्ने याम थियो। फूलहरू ढकमक्क फुलेका थिए। आहानमा सुनेको आधारमा इन्द्रको बगैंचाझैं लाग्थ्यो। आँखाको क्यामेराले अघाउन्जेल दृश्य कैद गर्दै गइन्। पासाङ ल्हामु शेर्पा हल खोज्दै जाने क्रममा बाटो भुलेर अर्कै बाटो लागेछिन्। फर्केर सोध्दै आइन्। अन्तिम बेन्चमा ठाउँ भेटिन्।

बुकी बुङ राई अर्थात् चमेलीको गाउँमा बुकी फूल टन्न फुल्छ। उनले लगाएको फ्रकको अगाडिको भाग उल्टाएर पोल्टो बनाउँथिन्। दिनैपिच्छै पोल्टाभरि टिप्थिन्,बुकीसँगै खेल्थिन्। हजुरबाले नाम पनि बुकी बुङ नै राखिदिए। बालमन्दिरमा डेरा थियो। उनको पनि एकजना भाइसित बसाइ। भाइ मावि तह। संयोगले कविनसँग एउटै विद्यालय परेछ। हाम्रोचाहिं क्याम्पस। बाटो भुली हस्याङफस्याङ गर्दै आइन्। परिचयात्मक कार्यक्रमको समय घर्किनै लाग्दा उनी रफ्तारमा कुदेर भ्याइन्। म बसेको बेन्चमा खाली ठाउँ थियो। त्यहीं बसिन्। यी दुई नजिकको साथी बने। एक अर्कामा ‘तँ’ को सम्बोधन गर्थे।

भोलिपल्टबाट क्याम्पस आउनेजाने संयोगले बाटो मिल्यो। सँगैसँगै क्याम्पस धाए। कतै एकजनाको काम परे दुवै जना सँगसँगै हिंड्थे। यी दुईमा धेरै कुरामा समान देखिए। दुवै जना घरका एक बहिनी मात्रै, दुवै अर्गानिक सुन्दरी,घर दुवैको गाउँमा,उमेर पनि एकैसाल रहेछ। दुवै जनाका आमाबाहरू कृषि पेशा अँगालेका, थप आयस्रोतमा दुवै जनाका एकएक जना सहोदर दाइ शिक्षण पेसामा आबद्ध। झट्ट हेर्दा उनीहरूको शारीरिक बनौट पनि एकैखालका देखिन्थे।

यसरी एक अर्कामा कुराहरू मिलेको देख्दा असाध्य खुशी हुन्थे। धेरै मिल्न थाले। उनीहरूका भित्री वस्त्र समेत आपत् पर्दा एक अर्कामा प्रयोग गर्थे। अलग परिवेश, स्थान र पारिवारिक माहोलमा हुर्केका हुन्। तर पनि एउटै आमाले जन्माएका जुम्ल्याहाभन्दा उनीहरूमा तादात्य कम थिएन। एक अर्कामा केयारिङ। एउटालाई दुख्दा अर्काले रोइदिन्थे। कसैले एक जनालाई जिस्कायो भने दुवै सामना गर्थे।

यी दुईको सामिप्य हेर्दा कक्षा र अरू कक्षाका साथीहरूले अघिल्लो जुनीमा जुम्ल्याहा दिदीबहिनी हुनुपर्छ भनेर ठोकुवा गर्थे। सर्टिफिकेटको नामबाहेक साथीभाइले जुराइदिएको नाम–बेली र चमेली। नेपाली संस्कार अनुसार बिहे गर्ने मौसम। गाउँ–शहरमा लगनहरू जुर्दै थिए। पण्डितहरू साइत जुराउनमा व्यस्त थिए।

‘मैले बिहे गर्दैछु। चुले निम्तो छ है।’ माघ महिनाको दोस्रो सातातिर थियो। बेलीले चमेलीले निमन्त्रणा दिएको सम्झिन्। शरदले खेलौना मात्र बनाइन्। सो वसन्तसँग बिहे गर्ने अन्तिम निर्णयमा पुगें।

बेली छाँगाबाट खसेजस्तै भइन्। ‘हो र!’ सम्म पनि प्रतिक्रिया जनाउन सकिनन्।

चमेली मुरमुरिइन्, ‘हामीबीच माया बसेको पूरापूर दुई वर्ष पुग्यो। तैंले वसन्तलाई छ महिनादेखि खेदो लाउँदै गरेको मलाई थाहा छैन र!’

बेलीको आँखामा आक्रोशसँगै बादल मडारियो। नङ र मासु जतिकै नजिकको साथी भइसकेका उनीहरूको सम्बन्धमा दरार आयो। स्नात्तक तहमा दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भयो। बसाइ अलगअलग थियो। आआफ्नो तरीकाले परीक्षा तयारीमा लागे। परीक्षा सकियो। उनीहरू नजिकको साथी बनेको पाँच वर्ष पुगेको थियो। यति सम्म कि म केही कारणले क्याम्पस गइन भने कक्षाका साथीहरूले चमेलीलाई सोध्थे। उनी गइनन् भने उनको बारेमा मसँग सोधिखोजी गर्थे। बेलीले बिस्तार लगाइन्।

एकार्कामा विश्वासको खडेरी लाग्यो। कि पहिले नै हामी सम्बन्धमा छौं भनेर सुनाएको भए म किन सौता लाग्न जान्थें! न चमेलीले सुनाउँछे न त वसन्तले नै। अब बेलीलाई आफैदेखि रिस उठ्न थाल्यो।

हाम्रो पितृसत्तात्मक देशमा पुरुषले नारीलाई विवाह प्रस्ताव राख्छन्। त्यही समाजकी बेलीले नारी भएर पनि आफैं पाइला चालेकी थिएँ। वसन्तसित विवाह गर्ने प्रेम प्रस्ताव राखिन्। बत्तीस लक्षणले भरिएकी रूपकी रानी, मायाकी खानी तिमीजस्तीसँग जिन्दगी बिताउन पाउनु त मेरो अहोभाग्य हो भन्ने जवाफ पाइन्। सकारात्मक जवाफ पाउँदा खुशीले अँगालोमा बाँधिएर एकछिन सँगै रोएका थिए। मिहिनेती, कर्तव्यनिष्ठा, अग्लो कद तथा बलिष्ठ शरीर आदि। मानौं, भगवानले फुर्सदमा बनाएकोझैं वसन्त देखिन्थे। पहिलो पटक भेट्ने जो कोहीले पनि मुख मिठ्याउँथे। हाम्रो बारेमा एक कान, दुई कान मैदान समेत भयो। घोर कलियुग आयो।

हुन त नारीले पुरुषलाई प्रेम/विवाह प्रस्ताव राखेको पहिलो घटना भने हैन। भद्रमाया दिदीले आफ्नै जातको केटालाई प्रस्ताव गरी विवाह गरेको कुरा गाउँमा सेलाएको थिएन। अन्तरजातीय प्रस्ताव गरेको भने पहिलो घटना हो यो।

शरदले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्न सकेन। आफ्नो खुट्टामा उभ्नुपर्ने दबाबले वैदेशिक रोजगारतिर हानियो। त्यही बिन्दुबाट शरद र चमेलीको बाटो छुट्टियो। यता दुई ओटा विषयमा स्नात्तकोत्तर गरेको वसन्ततिर चमेली लम्किइन्। वसन्तले शहरमै पढाउने जागिर थाल्यो। वसन्तले बेली र चमेलीलाई पटकपटक तराजुमा जोखिरहेका थिए। जसरी सुनारले सुन,चाँदी जोख्छन्। उनीहरूमा कमजोर पक्ष त्यति थिएन।

यी दुईमध्ये जो आए पनि उनको जीवनलाई फरक पर्ने थिएन। फरक यति मात्र थियो। चमेलीले दुई वर्ष अगाडि प्रेम प्रस्ताव राखेकी थिइन्। बेलीको प्रस्ताव डेढ वर्षपछि। अन्ततः चमेलीसँग लगनगाँठो कस्यो। परिवारसँग घर बनाएर शहरमा बस्न थाले। मुलघरमा कहिलेकाहीं जान्थे। बेलीको मोबाइलमा टिरिरिङ मेसेजको घण्टी बज्यो। एउटा मेसेज आयो। निकै औपचारिक भाषामा चमेलीले पठाएकी रहेछिन्।

‘नमस्ते, सन्चै हुनुहुन्छ? बर्खे बिदामा गाउँ गएको बेला घाँस काट्न चढ्दा टाँकीको रुखबाट वसन्त लडे। उनलाई रगत चाहिएको छ ‘ओ पोजेटिभ’। तैपनि भेटिन। सम्झें, क्याम्पस पढ्दा रक्तदान गरेका थियौं। त्यसमा तपाईको रगत समूहको याद आयो। यही शहरमा हुनुहुन्छ भन्ने विशेष स्रोतबाट थाहा पाएँ। मेरो वसन्तलाई पुनर्जीवन दिनुहुन अनुरोध गर्दछु। बेलीले हत्तपत्त मोबाइल स्वीच अफ गरिन्।’

सोचिन्-वसन्तलाई प्रेम गरें। बदलामा मेरै नजिकको साथीसित बिहे गर्‍यो। अहँ,त्योभन्दा बढ्ता त आफ्नै साथीले चाहिं धोका दिएको हो। टुडिँखेलमा उँधौली र उँभौलीमा दिनभरि सँगै साकेला नाचेका थियौं। सँगै सिली टिपेका थियौं। मैले मन पराउँछु भनी चमेलीलाई समेत चिनाएकी थिएँ। वसन्तले पनि मलाई माया गर्छु भनेको थियो। बरू चमेलीले चाहिं एक शब्द नफुटाई मुसुमुसु मुस्कान मात्र फिँजाएकी थिइन्।

बुढापाकाले भन्थे, मन्द हाँसो गालाको पासो हो,रहेछ। झसंग भइन्। धोका दिने साथीलाई धोकै दिने मन लागेको थियो। तर, एक मनले सोच्यो,‘माया पाउनु मात्र हैन, त्याग गर्नु पनि त माया नै हो। अस्पताल सरासर गइन्। आफूलाई मनपर्ने मान्छेलाई जीवनदान गरेर फर्किन्।

प्रकाशित: १३ जेष्ठ २०७९ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App