रोशन पराजुली
‘हैट मत कस्लाई दिने हौ दाजै?’ शुरुविरेको झोकिलो स्वर।
–हैन के भन्छ हौ यो शुरे पनि’ मत त झारेलाई नि दिनुपर्छ कि?
–किन नि दाजै झारेलाई दिनु र, म त दिन्न है अब त्यसलाई। पाँच वर्षको बजेट पनि विकासमा झारो टारेर दिक्क बनायो मुला फुसेले।
–झन् टुहुरो भनेर यसो केही गर्छ कि भनेको। ऊ पनि उस्तै रैछ फटाहा। म त दिन्ना। बरु मल बोक्छु। पानी पर्न लाग्या छ। यसो माटो रसाउँदैछ अहिले!
–मकै नि छर्न छ! फेरि बुढी पनि विसञ्चो छे।
–यसलाई यसो तातो चिसो बनाएर खान दिनुपर्छ नत्र रोग बल्झियो भने बालाखा बचेराको विजोग हुन्छ मेरा त!
–म नि अलि कमजोर छु आजभोलि।
–त्यसो नभन न हौ भाइ। यसपालि त मत हाल्नै पर्छ नि।
–विर्खे पनि उठ्या छ। झन् ऊ ता शहरबाट केही जान्नेसुन्ने ठुला नेता भएर आएको छ रे!
–हुन्न,दाइ हुन्न।
–जोगी जुनै पनि काँधमा झोला भिरेरै आएका हुन्छन है माग्न। नाम हाम्रा बेच्छन्। दाम उनीहरू कुम्ल्याउँछन् विकास योजना देखाएर।
–म त यसपालि कसैलाई दिन्न! मेरी बुढी विमारी हुँदा जावो अस्पतालमा पनि ओखती किन्नुपर्ने रे!
–त्यही पनि नपाएर दुःख पाएँ मैले त पोहोर।
–भो दाइ भो जोसुकै उठून्। मतलव छैन मलाई अब।
–आफै दुखजिलो गर्छु,जे जस्तो हुन्छ सुखले बाँच्छु।
–मलाई त विश्वासै लाग्न छाड्यो यी देश मासाहरूसँग।
–भो दाइ भो अब सुन्दिनँ। कसैका कुरा म ता गए है अब घरा।
प्रकाशित: ७ जेष्ठ २०७९ ०७:५२ शनिबार