२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पालो

लघुकथा

अम्बिका धिताल

पेटको दुखाइ सहन नसकेपछि राजधानीको मुटुमा रहेको अस्पताल पुगें। पैसा तिरेर टोकन नं. ५१ हातमा आएपछि भिडियो एक्सरेको लाइनमा पुग्दा आठ बजेको थियो।

बल्ल टोकन नं. ३ मा पुगेछ। अब ४८ जनापछि पालो आउने भयो भन्ने सोचे। एकैछिन रोकियो। ठुला मान्छे आरे आएर भिडियो एक्सरे गरेर गए। केही समयपछि टोकन नं. ७ पुगेको के थियो वार्डका बिरामीहरू आए र एक्सरे गरेर गए। जसोतसो टोकन नं.१२ पुग्यो। पुनः आकस्मिक कक्षका बिरामी भन्दै भिडियो गराएर गए। भोको पेटमा भिडियो एक्सरे गराउन बसेकी मेरो पेटमा मुसा कराउन थाले। यसो घडी हेरेको त बाह्र पो बजिसकेछ।

यस्तै हो भने पालो आउन चार बज्छ भन्ने सोची थोरै नास्ता गरेर आएँ। पालो कुरेर बसेका मध्ये कति कुर्सीमा नै निदाएका,कति हाईहाई काड्दै बसेका,कति मोबाइलमा हात र आँखा रग्गदै बसेका दृश्य देखिन्थ्यो। दिउँसो दुई बजे टोकन नम्बर ३५ पुग्यो। अब तिन बजे मात्र खुल्छ भन्दै भिडियो एक्सरेका मान्छे  खाजा खान गए।

एकातिर पेटको दुखाइ, अर्कातिर भोकका साथै अस्पतालको दिक्कलाग्दो वातावरण सहँदै बस्दाबस्दै बल्ल ४ः३० मा टोकन नं ४५ पुग्यो। अब पाँच जनापछि पालो आउँछ भन्ने सोच्दै वर्षौपछिको फल प्राप्त गर्ने दिनझैं प्रतीक्षामा बसें पाँच बज्यो। टोकन नम्बर ५० पुग्यो। नौ घण्टापछि बल्ल भिडियो एक्सरे गराउन भित्र जान पाउने भएँ भनेर ढोकामा उभिएर आफ्नो नाम सुन्न आतुर भएँ। भित्रबाट आवाज आयो। अब बाँकी भोलि आउनु होला। आज समय सकियो।

प्रकाशित: १२ वैशाख २०७९ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App