२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

समालोचक खेमराज पोखरेलको ‘पाठकीय सन्दृष्टि’ को लोकार्पण

काठमाडौं, बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा समालोचक खेमराज पोखरेलद्वारा लिखित तथा मोलुङ फाउन्डेसनद्वारा प्रकाशित ‘पाठकीय सन्दृष्टि’ नामक कृतिको लोकार्पण भएको छ। मोलुङ फाउन्डेसनका तर्फबाट प्राडा मोहनप्रसाद तिमिल्सिनाले सभापतित्व गरेको सो कार्यक्रममा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, कथाकार नारायण तिवारी, कृतिकार खेमराज पोखरेल लगायत उपस्थित सम्पूर्ण अतिथिबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो।

पुस्तकमाथि चर्चा गर्दै समालोचक ज्ञाननिष्ठ ज्ञवालीले पोखरेलका समालोचना हरेक दृष्टिले उत्कृष्ट रहेको बताए। पोखरेलको थोरैमा धेरै भन्नसक्ने सामर्थ्य रहेको तथा लोभलाग्दो बिम्ब र प्रतीक, नयाँनयाँ शब्दको प्रयोग, सान्दर्भिक रूपमा व्यक्तिगत कुरा उठान र आत्मपरक निबन्धजस्तो भएकाले उनको समालोचना पठनीय रहेको कुरा बताएका थिए।

अर्का समीक्षक डा. फणीन्द्रराज निरौलाको विचारमा यो समालोचना कृतिमा पोखरेलको कवि, कथाकार, निबन्धकार व्यक्तित्वको खुलापनको प्रभाव परेको र भन्नुपर्ने कुरा नलुकाई ड्याङ्डुङ बताएकाले कृति एकदम सुन्दर बनेको छ। साथै परम्परागत ढाँचाभन्दा फरक ढंगको प्रस्तुतिले लोकार्पित कृतिको छुट्टै महत्त्व रहेको कुरा बताए।

कार्यक्रममा कथाकार महेशविक्रम शाहले आफ्ना विचार व्यक्त गर्ने क्रममा भनेका थिए -समालोचक पोखरेलकृत यो पुस्तकमा उच्च लेखकीय क्षमताको प्रयोग भएको छ। सिद्धहस्त समालोचकले लेखेकोजस्तो उम्दा समालोचना रहेको छ। कलेजमा पढाइने मेरा कति कथाको आशय नबुझी समालोचना गरिएको छ। लेखकलाई कक्षाकोठामा कहिल्यै उभ्याइएको हुँदैन। मेरा कथा र पाठकीय सन्दृष्टिको समालोचनामा तादात्म्य छ। त्यसैले समालोचक पोखरेल असल पाठक पनि हुनुहुँदो रहेछ भन्ने अनुभूति भएको छ।

त्यसैगरी साहित्यकार नारायण तिवारीले आफ्नो विचार व्यक्त गर्ने क्रममा भने,‘समालोचक पोखरेलले सबै विधा उत्तिकै राम्रो लेख्ने गरेको मैले पाएको छु। म कसैलाई एउटै विधामा मात्रै लेख्नुपर्छ भन्दिनँ। लेखक पोखरेल कथामा मात्रै लागेको भए हामीले यति गहन कृति पाउने थिएनौ।

वरिष्ठ पत्रकार प्रा. सोमनाथ घिमिरेले शुभकामना दिंदै लेखकमा समसामयिक विषयमा नयाँ दृष्टिकोण दिने अद्भूत खुबी छ भन्ने विचार व्यक्त गरेका थिए। यसैगरी कथाकार मन्दिरा मधुश्रीले समालोचक पोखरेल इमानदार लेखक र पाठक दुवै भएको र समालोचनाको सैद्धान्तिक तत्त्वलाई आफ्नै सुन्दर तरीकाले मिलाइएको कुरा बताइन्।

नियात्राविद् जय छाङ्छा राईले नियात्राकार पोखरेल बहुआयामिक व्यक्ति भएको विचार प्रस्तुत गरे। पोखरेल असल नियात्राकार पनि भएको तथा उनको ‘यायावर पाइला’ नामक नियात्राकृति यसैको प्रमाण हो भन्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्राडा हेमचन्द्र नेपाल, पूर्वमन्त्री त्रिलोचन ढकाल, स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, डा. विदुर चालिसे, सावित्री शर्मा आदिले आफ्नो शुभकामना मन्तव्यमा कृति तथा कृतिकारको योगदानमाथि प्रकाश पारेका थिए।

प्रकाशित: ११ वैशाख २०७९ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App