१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

कोरोना

निबन्ध

बोधराज पौडेल

एक्काइसौं शताब्दीको सुरुवातमा नै विश्वभर कोरोना फैलियो। लाखौं मानिसले मृत्युवरण गरे। एक किसिमले भन्ने हो भने मृत्युको हाहाकार मच्चियो। मनमा त्रास भए। एकान्तलाभ मानिसहरूको दिनचर्या बन्यो। कति मानिसहरू मृत्युसँग यसरी डराए।

जहाँ उम्कनका लागि कुनै बाटो छैन जस्तो भयो। रोग यसरी फैलियो कि यसबेला न कुनै औषधिको निर्माण भएको थियो। न त यसका लागि आवश्यक पर्ने जनचेतनाका बारेमा चर्चा गरिएको थियो।

एकाएक यो यसरी फैलियो। यो समयमा कोही छोडिएन। वृद्धा, बालक, युवा मृत्यु सबैका लागि बराबर भयो। यसमा कोभिडले कसैलाई अन्याय गरेर उसका लागि सबै बराबर भए। कति मानिसहरू आफ्नै घरभित्र परिवारको मृत्यु हुँदा उनीहरूलाई छुन र हेर्न समेत सकेनन्। 

उसको दुःख–पीडामा उसलाई सहानुभूति दिन पनि सकेनन्। मात्र हेरिरहे टुलुटुल। यसरी हेरिरहे जसरी कैदीहरूका चर्तिकलाहरू बाहिर बसेर जेलरले हेरिरहन्छ। परिवेशको भूमरी र जीवन बाँच्नुको संघर्ष यस्ता कथाहरू धेरै देखिए यो समयमा।

आफ्नै आँखाको अगाडि बच्चाको मृत्यु देख्नुपर्दा वा बाबुको मृत्युबोध गर्नुपर्दा योभन्दा ठूलो पीडा अरू के हुन्छ। हामीले सधैंभरि सरकारी अस्पताल फोहोर भनेर हेला गरेको यहाँ धेरै समय लाग्छ भरेर तर्किएको  यिनीहरूले राम्रो गर्दैनन् भन्ने भान बोकेर दौडिएको। अन्त्यमा तिनीहरू नै काम लागे। निजी क्षेत्रले सेवा दिन नसक्ने भन्दै अस्पताल बन्द गरे।

त्यही बेला अक्सिजनको चरम अभाव भयो। भेन्टिलेटरहरू पाइएनन्। धेरैले अक्सिजन र भेन्टिलेटर नपाएर मृत्युवरण गरे। मरेका मानिसलाई पनि यसरी सद्गत गरियो मानौं तिनीहरू छुट्टै संसारका थिए। तिनीहरू हामीभन्दा फरक प्रकृतिका थिए।

सायद यसैले होला ती मरेका मानिसलाई सेनाले सलामीका साथ सदगत गर्यो। तर, परिवारले उनीहरूलाई छुन पाएनन्। अझ कतिपयले त हाम्रो जातीय संस्कारमा मट्टी दिने चलन छ, त्यो गर्न पाइएन। त्यसैै सेलाइयो। मृत्यु यतिबेला धेरै सस्तो भयो।

हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निको भएका व्यक्तिहरूको संख्या दिन्थ्यो लाग्थ्यो, अब धेरै मानिसहरू बाँच्न सक्छन्। मृत्युलाई जित्न सक्छन्। फेरि नयाँ संक्रमितको पालो आउँथ्यो। त्यसले पुनः निराश बनाउँथ्यो। किनकि आइसोलेसनको बसाइँ त्यो समय त्यति प्रभावकारी थिएन। जो त्यहाँ बसेका थिए, त्यहाँको अवस्थाको बारेमा राम्रो जानकार थिए।

त्यो बसाइँ सुखद् थिएन। त्यहाँ खान, बस्न, पानी र शौचालयको समस्या थियो। फेरि आउँथ्यो मृत्युको भय मर्नेको संख्या। यो खबर सुनेर मन चिसो हुन्थ्यो। थाहा छैन आफू पनि ती मरेका मानिसको संख्यामा थपिने हो। सबैमा यस्तै त्रास थियो। औषधिको निर्माण भएकै थिएन। कतिपय भएका औषधि पनि लुकाइयो। बिक्रेताहरूले मालामाल फाइदा लिए।

एक हजारमा हुने पिसिआर ६ हजार ५ सयसम्म बनाइयो। यो रकम बाँच्ने आशामा तिरियो र तिरे। कतिले त अझ ११ हजारसम्म तिरेर आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जान्न खोजे। देश डाँवाडोलको अवस्थामा गयो। नागरिकको ज्यानको सुरक्षा गर्न लकडाउन गरियो। कमाएर खाने श्रमिक भोकै रहे।

ठेलामा तरकारी बेच्ने र बाटोमा मकै पोल्नेहरू आफ्नो जीवनका अपरिहार्य ठानेर नाम्लो भिरेका दाजुुहरू त्यसै रल्लिन थाले। मानिसले भोक के हो भन्ने कुराको पहिचान पनि सायद यसै बेला गरेको हुनुपर्छ। दाताले दिएको खाना खानका लागि तँछाडमछाडको अवस्थाले यसको भाव बोलिरहेको थियो। कोरोनाकाल यसरी खेपियो, बिताइयो र बाँचियो पनि।

सधैं मुठी कसेर बसेकाहरू, दानधर्म कहिल्यै नगर्नेले पनि मृत्युलाई जितेर आइयो, नाफाको जिन्दगी जिइँदै छ अब जीवनको महत्त्व बुझेर आएको छु। मृत्युलाई जितेर आएको छु भन्ने भावले केही खुला भए। तिनीहरूले पनि अरू पीरमर्कामा परेकालाई केही सहयोग गर्न थाले।

अहो! मानिसको अनाहक मृत्यु साह्रै भयावह हुँदो रहेछ। जब त्यो मृत्युलाई जितेर फर्किन्छ तब उसले थाहा पाउने छ जीवनको मूल्य। र, बोध गर्ने छ जीवनका अनुभूतहरूलाई। आफू हिजो स्वार्थी भएको कुरालाई पछाडि फर्केर कल्पना गर्ने छ र नाफामा पाएको जिन्दगीको अरूको सहयोग र सेवामा लगाउने छ भन्ने कुराको चेतना सबैमा भयो।

कोभिडले विनाश सँगसँगै केही राम्रा कुराहरू पनि दिएर गयो। भेटेरै गर्नुपर्ने कुराहरू जुम प्रविधिबाट भए। विद्यालय र विश्वविद्यालयका पढाइहरू यसैबाट सञ्चालन भए। कार्यालय दिनुपर्ने सेवा पनि यसै प्रविधिको प्रयोगबाट दिए। सरकारी कार्यालयले एउटा कागज दिनका लागि हप्तै धाउनुपर्ने कुरामा पनि सहजता थपिदियो।

इमेल र अन्य अनलाइन सेवा यो बेला प्रयोगमा आए। यो एउटा फाइदाको विषय बन्यो। नयाँ आविस्कार गरियो। बैंकले पनि एप मार्फत अनलाइन सेवा दिए। घरमै बसेर पनि बैंकको सेवा लिन सहज भयो। भनिन्छ, विनाशले विकास पनि निर्माण गर्छ। यो नियम यहाँ लागू भयो। फाइदाका साथै असर पनि देखिए।

बालबालिकाहरू घरमै थुनिनुपर्दा उनीहरूलाई धेरै गाह्रो भयो। बालबालिकालाई स्वतन्त्र र स्वछन्द मानिन्छ। खुला ठाउँमा रमाउनुपर्ने उनीहरू घरभित्रै थुनिए। जसका कारण उनीहरूले चाहेअनुरूपको वृद्धि विकास हुन सकेन। यसले उनीहरूमा मनोवैज्ञानिक असर पर्‍यो भन्ने कुराको कल्पना गर्न सक्छौ।

जुम प्रविधिको पढाइ कलिला बालबालिकाको लागि सन्तोषजनक देखिएन। उनीहरू कक्षामा छलफल गरेर पढिरहेको बेला सीमित समय र बेलामा पढ्न सहज भएन। उनीहरूलाई बानी पार्नका लागि अलमल्याउन सकिन्थ्यो तर बुझाउन कठिन थियो। यस्ता धेरै कुराहरू भए।

यस्तै अवस्था झेलेर जब कोभिड उत्कर्षमा पुग्यो मानिसले धेरै कुराको सिकाइ गरे। यसबेला उनीहरूले बुझे, जीवनको अनुभूतसँगै सार्थकता पनि। यसको सिकाइले नै अस्पतालहरूले भेन्टिलेटर थप गरे। आवश्यक मात्रामा अक्सिजन प्लान्टको निर्माण गरे। धेरै कुरामा सुधार गरियो।

पहिलो चरणको खोपका लागि तँछाडमछाड गरेका मानिसले सजिलै खोप पाउन थाले। बिस्तारै बजार खुले। तर, बजारहरू चलायमान हुन सकेनन्। तर बिस्तारै सामान्य रूपमा फर्किन थाले। मान्छेलाई हामीले भन्ने गरेको चेतनशीलभित्रको एक उत्कृष्ट जाति। तर पनि यति अबुझ, अटेरी र स्वार्थी छ। यसबारेमा योभन्दा धेरै भन्न मिल्दैन।

सरकारले बारम्बार अनुरोध गर्‍यो। मोवाइलका रिङटोनमा सचेतनाका सन्देशहरू राखिए तर पनि मानिसहरूले हात धुन र माक्स लगाउन खुसीले मानेनन्। घरमा बसेको समयमा त्यसै हो तर कतिपयले बाहिर निस्कदा पनि कतिले त लगाउन मान्दै मानेनन/चाहेनन्। कतिले त यो केही पनि होइन भन्ने भ्रम पालेर राखे। जहाँ परिवारको मृत्यु भएको थिएन। ती डराए जसले परिवार गुमाएका थिए।

जातीयताको हिसाबमा अर्को अर्थ नलगाउने हो भने र यसलाई विभेदको रूपमा नबुझ्ने हो भने तराईमुलका मानिसहरू त यो कुरालाई बेवास्ता नै गरे। उनीहरू माक्स लगाउन चाहँदैचाहँदैन थिए। उनीहरू हात धुन मान्दैन थिए। अझ रोचक कुरा के छ भने त्यही हातले मुखमा रहेको खैनीलाई हटाउने र त्यही हातले खाने गर्थे।

यो दृश्यले मनमा कताकता झस्का लाग्थ्यो, हे देव, यिनीहरूलाई कोरोना नलागोस्। कतिलाई लाग्यो कतिलाई लागेन थाहा भएन। यात्रामा एकपटक भेटिएका मानिस फेरि भेटिन्छन् भन्ने पनि छैन। मैले कल्पना गरे मानिसहरू आफूलाई समस्या नपरी चेत्दा रहेनछन्। जसलाई आफूलाई पर्‍यो।

जसले आफैं भोगे, उनीहरूले कोरानालाई भयंकर रहेछ भन्ने बुझे। कसैको पाचन प्रक्रिया र स्मरणशक्ति कम भएको आंकलन गरेका छन्। कहिलेकाहीं आफैं प्रफुल्लित हुनका लागि यतायता ओल्टाईपल्टाई गर्दा दिमागमा केही कुरा आउँदैन। बर्डफ्लुले मरेमा कुखुराहरू एकैठाउँमा गाडेको जस्तै गरी मान्छेका लासहरू खाल्डामा पुर्नुपर्दा मन चिसो भएर आउँछ।

यतिबेला लाग्छ मैले आफै मृत्युवरण गरिसके तर फेरि बिस्तारै सास चल्छ र आशा गर्छु जीवन जिउन र बाँच्नका लागि संघर्षरत छु। मैले बाँच्नुपर्छ र हेर्नुपर्छ उज्यालो भोलि बिहानको। विश्वमा जेजे हुन्छ होस् तर यो महामारीको रूपमा कुनै पनि रोग नफैलियोस् मेरो अन्तिम इच्छा यही छ।

प्रकाशित: ७ वैशाख २०७९ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App