सिरेन वान्तावा
कालानलले जलिरहेका गगनको धुवाँमा
भास्वर सूर्यास्तलाई,
अँगालोमा राख्न मनलाग्छ।
घस्रिंदै आउने बादलको थुप्राभित्र
तातो घाउ बोकेका तितीक्षा ताराहरूले सुनाउने छ
सयौं दुःखद् पीडाहरूको रक्योल कहानी
म लामो अनिदोले गाउने
मधुर गीतलाई त्रिकालिक विपनाले सुन्नेछु
झरीले कादम्बिनीबाट वैराएका असिनाझै
क्रान्तिको झरिलो धुन भरिदिनेछु उसलाई।
युगको अनुहार घनज्वालाभित्र
कलाधरको विशाल खाल्डाको छायाँमुनि
उज्यालो दिउँसोभर निदाउँछन्
दनदन जलिरहन्छन् प्रत्येक साँझ
ताराहरूले रोएको आँसुले निभ्नु मुस्किल पर्छ।
तिर्खाले झर्नु लागेका आँखाहरूमा
सम्झीसम्झी खडेरी ल्याउछ
राप,ताप र त्रासले
थोरै न्यानो मिसिएको हुन्छ
तर, मुस्कान मृत माताजीको
जरायुका कब्जाभित्र हुन्छ।
प्रदोषको पल सूर्यास्त प्रेम र क्रोधका संगम तिव्रीमा
भीषण आँधीले खरानीमा सबै आगो बाल्नेछ
धुमधुमती एक्लो बिहान
उभिएको गगनको पञ्जाबाट
किस्ताबन्दीमा चुहिने दिउँसो बिलाइजान खोज्छ
म सौदामिनीको ठिक दायाँ लागेर
विन्द्रावस्तीदेखि मुन्टो निहुराइरहने लजालु ककुदमा पुग्छु।
बांगाटिंगा गल्लीहरू छिचोलेर
मानव वेदनाले नहल्लिने उज्यालोको चिहानमाथि
दिग्दर्शन टुहुराहरूको गीत लेख्छु
त्यो प्रेमको गीत नभएर बतास समेतले मलाई पिरोल्नेछ
तर कुमुद कुञ्जमा
क्रान्तिका हजारौं कुजन लयमा युगको धुन भर्नेछु।
र,भास्वर आधापिल्टो सूर्यास्तलाई प्रेमका साथ
यो घुमाइलो साँझपख
अँगालो राख्न मनलाग्छ।
प्रकाशित: ७ वैशाख २०७९ ०७:०८ बुधबार