२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘फरैना’ उपन्यासको प्रमोशनल गीत सार्वजनिक

विश्वका धेरै देशका धेरै भाषाका गीतलाई संगीतबद्ध गरेका विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफूलाई उपन्यासकारको रूपमा परिचित गराउने भएका छन्।

 उनैद्वारा लिखित ‘फरैना’ उपन्यास छिट्टै सार्वजनिक हुने भएको छ। उपन्यास सार्वजनिक हुनु केही दिनअघि सन्तोषले ‘फरैना’ उपन्यासको प्रमोशनल गीत ‘हिमाल झुक्न सक्छ’ बोलको भिडिओ आफ्नै अफिसियल यु ट्युब च्यानल ‘गोल्डेन क्रियशन’ बाट सार्वजनिक गरेका छन्।

भिडिओ सार्वजनिकपछि धेरै पाठकमा उपन्यासप्रतिको कौतुहलता बढेको छ। उपन्यासको आवरण मात्र सार्वजनिक गरेका सन्तोषले कथावस्तुबारे अहिलेसम्म केही कुरा सार्वजनिक गरेका छैनन्। उपन्यासको आवरण र प्रमोशनल गीतको आधारमा फरैना एक निम्न वर्गीय महिलाको संघर्ष र साहसिक कथामा आधारित रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

‘हिमाल झुक्न सक्छ’ बोलको गीतमा सन्तोषको आफ्नै शब्द, संगीत र स्वर रहेको छ। गीतमा सुष्मा लिम्बू र दिपा तामाङले गायनमा साथ दिएका छन्। राजु कार्कीको अरेन्ज रहेको गीतमा मिक्सिङ/मास्टरिङ प्रकाश मिश्रले गरेका छन्। हेमप्रभास अधिकारीले निर्देशन गरेको यस भिडियोमा राज पोखरेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

२०५६ देखि औपचारिक संगीत यात्रा सुरु गरेका सन्तोषको एकल संगीतमा ४ दर्जनभन्दा बढी गीति एल्बम बजारमा आइसकेका छन्। ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र, आउँछु भनी निष्ठुरीले भर किन पार्नु, तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ भो, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै, तिमीले हाँसो लुटी लग्यौ रुँदैरुँदै बाँचेकी छु, तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले, परेलीको वर्षातले छातीभित्र पहिरो गयो, तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु, हल्काहल्का लजाएर’ लगायतका गीत सर्वाधिक लोकप्रियको सूचीमा रहेका छन्। यसअघि उनका दुई कृति ‘आँसु (गजल संग्रह–२०६२) र ‘अधुरो सपना’ (लघुकथा संग्रह–२०६८) प्रकाशित छन्।

प्रकाशित: २८ चैत्र २०७८ ०६:३० सोमबार

अक्षर