२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अक्षरमार्गले गर्‍यो स्रष्टाालाई सम्मान

अक्षरमार्गले सात नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखीय योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान गरिएको हो।

पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोकार्पण कार्यक्रममा चार वटा पुस्तक पनि लोकार्पण गरिएका छन्। सो सम्मान समारोहमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ।

यस्तै वरिष्ठ साहित्यकार तथा समालोचक डा शैलेन्दुप्रकाश नेपाललाई नरबहादुर अक्षरमार्ग सम्मानबाट सम्मानित गरिएको छ। श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार गंगा सुवेदीलाई सम्मान गरिएको छ।

यसैगरी कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार श्रीराम श्रेष्ठ सम्मानित भए। साहित्यकार डा. साधना पन्त प्रतीक्षालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने सर्जक डा. विजय पण्डितलाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट सम्मानित गरिएको छ।

यस्तै अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार तुयुकाजी ताम्राकार सम्मानित भएका छन्। गायक तथा संस्कृतिकर्मी  विजयराम कर्माचार्यलाई खड्गवेद अक्षरमार्ग सहयात्रा सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मानित प्रतिभाहरूलाई दोसल्ला, सम्मानपत्र प्रदान गरेका थिए। यस्तै प्रल्हाद केसी र ध्रुवनारायण जोंन्छेबाट सम्मानित सर्जकहरूलाई सगुन प्रदान गरिएको थियो।

अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा चार पुस्तक पनि लोकार्पण गरिएको थियो। सूर्यप्रसाद लाकोजूका ‘घाम फुल्ने याम’ र ‘मकर मेला अफ पनौती’ को दोस्रो संस्करण, कृष्णप्रसाद सिटौलाको ‘मनकुसुम’ र अक्षरमार्गको ‘कथामा समावेत स्वरहरू’ पुस्तक लोकार्पण गरिएको हो।

कार्यक्रममा साहित्यकार मोहन दुवालले सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गरेका थिए। साहित्यकार रामसुन्दर देउजाले विमोचित किताबबारे प्रकाश पारेका थिए। विमोचित पुस्तक ‘मनकुसुम’ का सर्जक कृष्णप्रसाद सिटौलाले एउटा कविता वाचेका थिए।

कार्यक्रममा सूर्योदय माविबाट २०७७ सालको एसईई परीक्षामा  सामेल भई जीपिए ४ ल्याई सूर्योदय टपर शाश्वतप्रसाद लाकोजूलाई पूर्णमाया लुचिकाजी एसईई सम्मानबाट सम्मानित गरिएको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०६:०९ सोमबार

अक्षर