‘श्री ५ कस्तो होइबक्सँदो रहेछ?’ नेपाल टेलिभिजनका प्रस्तोता प्रश्न गर्छन्।
जनआन्दोलन २०४६ को नेतृत्व गरेर राजासँग भर्खरै सफल वार्ता सकेका सन्त नेता कृष्णप्रसाद भट्टराई अत्यन्त हँसिलो मुद्रामा देखिन्छन्। उनी प्रस्तोताको जवाफ दिँदै भन्छन्– ‘श्री ५ अत्यन्तै जेन्टलमेन्ली होइबक्सिन्छ।’
त्यतिबेला टेलिभिजन हेरिरहेका धेरै नेपालीले यस्तो शब्द सायदै सुन्न पाएका थिए। मैले पनि यो पहिलोपटक सुनेको हुँ। ‘जेन्टलमेन’ भन्ने त सुनेको हो। ‘जेन्टलमेन्ली’ भनेको अत्यन्तै भलादमी भन्ने अर्थ रहेछ।
किसुनजीको शब्दको मिठास यहाँ फेरि एकपटक झल्किएको थियो।
चैत २६, २०४६ को राति टेलिभिजनअगाडि बसेर हेरिरहेको यो एउटा दृश्य मेरा निम्ति अझै ताजा छ। राजदरबारमा राजा वीरेन्द्रसँग नेपाली कांग्रेस र वाम मोर्चाका तर्फबाट वार्ता सम्पन्न हुन्छ। वार्ता सम्पन्न भएसँगै दलमाथिको प्रतिबन्ध हट्छ।
अब के चाहियो? देशमा उन्मुक्तिको वातावरण छायो। मानिसहरू फेरि घरका छतछतमा चढेर समवेत स्वरमा कराउन थाले– ‘आयो, आयो...।’
जनआन्दोलनका क्रममा कफ्र्यु लागेका बेला मानिसले घरका छतछतमा गएर ‘आयो, आयो’ भनी कराउने गरेका थिए। यो प्रजातन्त्र आयो भन्ने अर्थमा थियो। घरको बत्ती निभाएर अन्धकार बनाई यसरी घरघरबाटै जुलुस लगाउनुको अर्थ जनता परिवर्तनका निम्ति तयार भइसकेका छन् भन्ने थियो।
२०१७ पुस १ गते खोसिएको प्रजातन्त्र पुनप्र्राप्तिका निम्ति गरेको ३० वर्ष लामो संघर्षको प्रतिफल थियो त्यो उपलब्धि। २००७ सालको राणाविरोधी आन्दोलनमा भाग लिएका र त्यसको एक दशकमै मुलुकमा निरंकुशतन्त्रमा बाँच्न बाध्य भएका व्यक्तिका निम्ति यो सपना थियो। त्यो सपना विपनामा अनुदित भएको क्षण थियो।
हामी त पञ्चायत ढल्ने तर्खरमा पुगेपछि मात्र राजनीति धेरथोर बुझ्ने भएका हौं। २०३६ सालको जनमत संग्रहका बेला निर्दल अर्थात् पञ्चायतको पहेँलो र बहुदल अर्थात् प्रजातन्त्रको निम्ति नीलो रंगको मतपत्रको व्यवस्था भएको त्यो समय सम्झँदा अहिले पनि रमाइलो लाग्छ। नीला र पहेँला पर्चा, पम्प्लेट हाम्रा निम्ति मीठा सम्झना बनेका छन्। हो, यही बेलादेखि राजनीति केही हदसम्म बुझ्न पाइयो।
वास्तविक अर्थमा पञ्चायतको उत्पीडन बुझ्न भने २०४२ सालमा यसको रजत जयन्ती वर्षले पनि धेरै मद्दत गर्यो। पञ्चायतले आफ्ना २५ वर्ष पूरा गर्यो। यो बेलामा हाम्रा धुरन्धर विद्वान् भनिएका कतिपय व्यक्तित्वले यसको महिमा मण्डित गरे। यसैबेला पञ्चायतले गरेका कामको व्यापक प्रचारप्रसार समेत भयो। यसबाट उन्मुक्ति खोज्ने चेतनशील परिवर्तनप्रेमीलाई भने भित्रभित्रै गाह्रो परिरहेको थियो।
२०३६ देखि एक दशकको प्रतीक्षापछि बल्ल मुलुकमा प्रजातन्त्र आएको हो। २०३६ सालको जनमत संग्रहका निम्ति केही समय खुकुलो भए पनि फेरि पञ्चायती निरंकुशताले पञ्जा कसिलो बनाएको थियो। हामी विद्यार्थी थियौं। तैपनि स्वतन्त्रताप्रतिको उत्कट चाहनाले हामीलाई कुनै न कुनै रूपमा सक्रिय बनाउँथ्यो।
२०४६ सालको परिवर्तनले हाम्रो जीवनकालमा आएको एउटा अभूतपूर्व परिवर्तन थियो। विश्वमा प्रजातान्त्रिक परिवर्तनको हावा चल्दै गरेको त्यो समय नेपालका निम्ति पनि प्रेरक बनिरहेको थियो। कात्तिक २०४६ मा बर्लिन पर्खाल ढल्यो। बर्लिन पर्खालले जर्मनीलाई दुई भागमा बाँडेको थियो। कम्युनिस्ट कित्तामा रहेको पूर्वी जर्मनीका नागरिकको संघर्षको प्रतिफल स्वरूप यो पर्खाल मात्र ढलेन, त्यसले प्रजातन्त्रको आकांक्षालाई बढायो। यो पर्खाल २४ कात्तिक २०४६ मा भत्केको थियो। त्यो बेला पूर्वी जर्मनीका पाँच लाख मानिसले आन्दोलन गरिरहेका थिए।
भौगोलिक दूरीका हिसाबले जर्मनी नेपालभन्दा ६ हजार ४ सय किलोमिटर टाढा भए पनि राजनीतिक प्रभावका हिसाबले बर्लिन पर्खाल भत्किनुले नेपालीलाई पनि स्वतन्त्रतातर्फ आह्वान गरिरहेको थियो। जनआन्दोलन २०४६ को श्रीगणेश भने सर्वमान्य नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो। भारतीय नेताहरू चन्द्रशेखर लगायतले त्यहाँ आएर भाषण गरेका थिए। स्वतन्त्रताका लागि दह्रिलो हुन उनीहरूले नेपालीलाई प्रेरित गरेका थिए। त्यही भेलामा गणेशमानले फागुन ७ देखि मुलुकमा प्रजातन्त्रका निम्ति जनआन्दोलन हुने घोषणा गरेका थिए।
प्रायः फागुन–चैत उत्साहको समय हुन्छ। पुस–माघको जाडोबाट कठांग्रिरिएका मानिसका निम्ति यो समयले उत्साह भर्छ। फेरि बोटबिरुवाले पालुवा हाल्छन्। एउटा संकटबाट गुज्रिएर अर्को सुखद समयको यात्रामा अगाडि बढेको अनुभूति हुन्छ। माघ ५ को चाक्सीबारी भेलाले पक्कै पनि मुलुकमा परिवर्तन आउँछ भन्ने विश्वास दिलाएको हो। पञ्चायत अब ढिलोचाँडो ढल्छ भन्ने विश्वास बढ्दो थियो।
नभन्दै फागुन ७ गते पनि आयो। जताततै जुलुस निस्किए। पञ्चायतले दमन गर्न खोज्यो। आन्दोलन चर्किंदै गयो। जनआन्दोलनको सफलताको एउटा कारक भने वामपन्थी र प्रजातन्त्रवादीबीचको एकता थियो। त्यस अघिसम्म आन्दोलनमा यी दुई पक्षबीच मिलन हुन सकेन। नेपाली कांग्रेसले वामपन्थीलाई साथ लिएर हिँड्न चाहेन। वामपन्थी पनि कताकता भड्किएका थिए। सहाना प्रधानको अध्यक्षतामा बनेको वाममोर्चा गठन र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताको सुझबुझको परिणाम थियो, २०४६ को जनआन्दोलनको सफलता।
२०४६ फागुन ७ देखि चैत २६ को मध्यरातसम्मको ५० दिनको समयावधि मुलुकको मुहार फेर्नका निम्ति पर्याप्त थियो। त्यो राति दलमाथिको प्रतिबन्ध हट्यो र पञ्चायत विघटन भयो। भोलिपल्ट सहरभरि जुलुस जिस्किए। जुलुस त राति नै निस्किएका थिए। कफ्र्यु लागिरहेको त्यो बेला जुलुसमा निस्किँदा केही मानिसलाई सुरक्षाकर्मीले गोली चलाउँदा मृत्यु पनि भएको थियो।
चैत २७ गते टुँडिखेलको आमसभाले कसलाई तानेन र? प्रायः मानिस त्यहाँ पुगेका थिए। सडक अबिरले रातै भएको थियो। टुँडिखेलको आमसभामा नेताहरूका भाषण भए। यसअघि कहिल्यै नदेखिएका नेता पनि त्यहाँ देखिए। गणेशमान सिंहको एक झलक पाउन मानिस लालायित भएको देखिन्थ्यो। त्यो ऐतिहासिक आमसभालाई सम्झिँदा अहिले गौरव महसुस हुन्छ। आखिर त्यही बिन्दुबाट हो, मुलुकको शासनमा जनताका छोराछोरीको प्रवेश भएको।
आमसभामा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ‘यो जित पञ्चहरूको पनि हो’ भन्दा ठूलो होहल्ला भयो। एउटा प्रजातन्त्रवादीका निम्ति यस्तो परिवर्तन सबैका निम्ति हुन्छ भन्ने कोइरालाको आसय हुनुपर्छ। मानिसले तत्कालै यस्तो अभिव्यक्ति पचाउन सक्ने अवस्था थिएन। तीसौं वर्षसम्म राजनीतिक अधिकार नपाएर कुण्ठित भएका नागरिकका निम्ति परिवर्तनले ठूलो अर्थ राख्थ्यो। त्यो दिनबाट भित्ताका पनि कान हुन्छन् भन्ने पक्ष समाप्त भयो। अन्यथा कतै एउटा ठूलो बोझ टाउकामा राखेर बाँचिरहेजस्तो थियो। त्यसैले स्वतन्त्रताको मूल्य त्यो समयमा बाँचेका हाम्रा निम्ति बढी छ। स्वतन्त्रता सजिलै प्राप्त भएको होइन।
जहिल्यै चैत २६ गते आउँदा म त्यही रात सम्झन्छु, जसले स्वतन्त्रताको उज्यालो बोकेर आएको थियो। टाउकाभरि अबिर लगाएर आएको त्यो परिवर्तनको दिन सम्झँदा तिनै दिन तरेली खेल्न थाल्छन्। त्यसयता परिवर्तनका अपेक्षा अनुसार काम नभए पनि प्रजातन्त्रको विकल्प छैन। प्रजातन्त्रको विकल्प बढी प्रजातन्त्र मात्र हो।
प्रकाशित: २६ चैत्र २०७८ ०१:२० शनिबार