नारायण कोइराला
‘ए! केटा कता?’ घना जंगलले मलाई सोध्यो। मलाई हतार थियो। फटाफट चारपाँच ओटा सीधा लौरा काटे। जंगल रिसले चुर भएको महसुस गरेँ। म अगाडि बढें।
सधैं त यस्तो रिसाएर चुर भएको देखेको थिइनँ। म एकछिन सोचमा परें। एकमनले भन्यो, ‘किन बेकारमा जंगलसँग बहस गर्ने।’
मन न हो। मानेन।जंगलतिर फर्केर सोधे–रिसाएको?
जंगलको प्रश्न। बर्खा लाग्यो।
– छैन–छैन। मेरो उत्तर।
– अनि लौरा किन काटिस्? फेरि जंगल बोल्यो।
–झण्डा राख्न। मेरो उत्तर।
–नेता मर्यो। चारतिर झण्डा झुकाउने। जंगलको जिज्ञासा।
–होइन–होइन। पार्टीमा सम्झौता भयो। हतारमा मेरो जवाफ।
–ए हो! ल बधाई छ। अहिले मलाई काटिस्। चुनावपछि तँलाई काट्छन।
प्रकाशित: २४ चैत्र २०७८ ०५:३७ बिहीबार