२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पट्टुको घुमफिर

बालकथा

देवकी केसी

पिन्टुको घर तराईमा पर्दछ। उसका आमाबाबाले घरमा एउटा सुगालाई पिँजडामा थुनेर पाल्नुभएको थियो। त्यो सुगालाई घरका सबैले पट्टु भनेर बोलाउँथे। पिन्टु र पट्टु एक अर्कालाई खुब माया गर्थे। पट्टुलाई पिँजडामा थुनिएर बस्दा निकै नरमाइलो लागेको थियो। ऊ केही समय घुमफिर गरेर रमाइलो गर्न चाहन्थ्यो। त्यसैले उसले एउटा जुक्ति निकाल्यो।

उसले पिन्टुसित भन्यो, ‘पिन्टु, तिमी र म त असल साथी हौ नि। तिमी मलाई पिँजडाबाट बाहिर निकाल अनि हामी सँगै आँगनमा खेलौला नि।’

पिन्टुलाई उसको चलाखी थाह भएन। उसित खेल्न पाइने भो भनेर पिन्टुले उसलाई पिँजडाबाट बाहिर निकाल्यो।

त्यसपछि त चलाख पट्टु बेजोडले उड्न थाल्यो।

‘ए पट्टु, सँगै आँगनमा खेल्ने भनेको होइन। तिमी किन भागेको’ उड्दै गरेको पट्टुलाई हेर्दै पिन्टुले भन्यो तर उसले हाँस्दै भन्यो, ‘पिन्टु, म केही दिन घुमफिर गरेर आउँछु अनि सँगै खेलौला नि?’

चलाख पट्टुले आफूलाई झुक्याएर भागेकामा पिन्टुलाई निकै रीस उड्यो।

पट्टु निकै दिनसम्म पनि घर नआउँदा पिन्टुलाई निकै चिन्ता लाग्यो। एकदिन ऊ रित्तो पिँजडालाई हेर्दै सोचिरहेको थियो, ‘पट्टु, यतिका दिनसम्म किन आएन होला? कतै दुश्मनले हमला गरे कि वा कुनै समस्यामा पो प¥यो कि?’

अचानक पट्टु आइपुग्यो। ऊ धेरै खुसी देखिन्थ्यो। उसलाई आफूसित पिन्टु रिसाएको राम्रोसँग थाह थियो।

पिन्टुले रिसाउँदै भन्यो, ‘पट्टु, तिमी कहाँ भागेको?’

पट्टुले हाँस्दै भन्यो, ‘तिमी नरिसाऊ न मेरो असल साथी। यहाँ मलाई पिँजडामा थुनिएर बस्दा निकै नरमाइलो भएर देश घुमफिर गर्न गएको नि। बरु म तिमीलाई मेरो यात्राबारे सुनाउँछु नि।’

‘लौ ठिकै छ त्यसो भए। भन त पट्टु, तिमी कहाँकहाँ घुमफिर गयौ त।’ पिन्टुले भन्यो।

पट्टुले रमाउँदै आफ्नो यात्राबारे बताउन थाल्यो, ‘पिन्टु, म हाम्रो देशको तराईका प्राय सबै ठाउँ घुमिसकेको थिएँ। त्यसैले मलाई हाम्रो देशको हिमाल र पहाड घुम्न मन लागेको थियो। मैले पहिले पहाडतिर घुम्ने निर्णय गरे। पहाडमा मेरा धेरै साथी छन्। हाम्रो देशको राजधानी शहर काठमाडौंमा पशुपतिनाथको मन्दिरको सबैभन्दा पहिले  मैले दर्शन गरें। त्यसपछि मैले केही मठमन्दिर र गुम्बाहरू पनि हेरे।

मेरा साथीहरूलाई पनि भेटें। हरिया जंगल र अग्ला पहाड देखेर मलाई निकै खुसी लाग्यो। मैले पहाडको सबै जंगल डुलें। त्यहाँ मैले धेरै पशुपन्छीलाई देखे।’

पट्टुको यात्रा वर्णन सुनिरहेको पिन्टुले उत्साहित हुँदै भन्यो, ‘हाम्रो देशको पहाड त्यति धेरै सुन्दर रहेछ, हैन त पट्टु। मलाई त थाह नै थिएन।’

पट्टुले अत्यन्त उत्साही हुँदै भन्यो, ‘हाम्रो देशको हिमाल पनि त्यतिकै सुन्दर छ। म त्यसबारे पनि तिमीलाई बताउँछु।’  

पिन्टुले भन्यो,‘ढिलो नगरी मलाई छिटो बताउन हिमालतिरको यात्रा वर्णन।’

‘लौ सुन पिन्टु, हाम्रो देशको उत्तरी क्षेत्रमा पर्ने हिमाली क्षेत्रको मेरो यात्रा वर्णन। अग्ला र सेता हिमाल हिमाली क्षेत्रमा देखेर मेरो मन लोभियो। मलाई अझै माथि पुग्न मन लाग्यो। हिमालमा सधंै चिसो हुने हुनाले मलाई अलि चिसोले सतायो। त्यसमाथि नौलो ठाउँ र चिनेजानेको कोही नहुनाले हिमालमा यात्रा गर्दा मलाई अलि कठिन भयो।

धन्न, मैले त्यहाँ  रंगीविरंगी, निकै आर्कषक शरीर भएको अपरिचित साथी फेला पारें। ऊसँग परिचय र मित्रता गाँसे। उसको नाम डाँफे रहेछ। उसले आफू नेपालको राष्ट्रि«य चरा भएको बतायो।’

उसले आफ्नो साथी मुनालसित पनि मलाई परिचय गरायो। त्यसपछि उसले मलाई हिमालको भ्रमण गर्न सहयोग गर्‍यो 

हिमालको चिसोले म बिरामी परेको थिएँ। डाँफेले मलाई जडीबुटीले बचायो। उसले मलाई हिमाली भेगको यार्सागुम्बा, पाँचऔले,जटामसी जस्ता जडीबुटी चिनायो।

‘सुनाउन त, डाँफे र तिमी मिलेर कहाँकहाँ पुग्यौ त?’पिन्टुले जिज्ञासु हुँदै सोध्यो।

पिन्टु आफ्नो यात्रा वर्णन सुन्न अत्यन्त उत्साहित भएको देखेर पट्टु फटाफट आफ्नो यात्राबारे भन्न थाल्यो, ‘पिन्टु,पहिले त डाँफेले मलाई हिमाली क्षेत्रको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गरायो। त्यसपछि हिमाली क्षेत्रको उपल्लो मुस्ताङको लोमानथाङमा रहेको राजदरबार पनि देखायो। हिमाली भेगका गुम्बाहरू, सगरमाथा, गौरीशंकर,कञ्चनजघा लगायतका थुप्रै हिमाल र च्छो रोल्पा,गोसाइँकुण्ड, तिलिचो,रारा तालहरू मलाई डाँफेले घुमायो। जताततै सेता हिमाल,झरना, नदी र घुम्न आएका पर्यटक देखेर मलाई रमाइलो लाग्यो।’

–मेरो नयाँ मित्र डाँफेले हिमाली क्षेत्रमा पाइने जनावर र अन्नबालीबारे बतायो। हिमाली क्षेत्र छिमेकी मुलुक चीनको तिब्बतसित सिमाना जोडिएको हुँदा त्यहाँको रहनसहन पनि तिब्बतियनहरूसित मिल्दो रैछ।

डाँफेले मलाई केही हाइड्रो पावर पनि देखायो। प्रशस्त पानीका स्रोत भएकाले हिमालतिर निकै हाइड्रो पावर रहेछ। त्यहाँबाट बिजुली निकालेर देशका अन्य भागमा पठाउँदो रैछन्। अन्त्यमा फर्कने बेला डाँफेले मलाई आफ्नो सुन्दर प्वाँख निकालेर उपहार  दियो।

लौ हेर, यही हो मेरो साथी डाँफेको चिनो प्वाँख। उसले पिन्टुलाई देखायो।

हाम्रो देशको भौगोलिक सुन्दरताबारे पट्टुबाट थाह पाएर पिन्टुलाई पनि आफ्नो देश पूरै भ्रमण गर्न मन लाग्यो। हाम्रो देशको  सुन्दरता त विश्वमै राम्रो रहेछ। देश विकासका लागि सिंगो देशलाई चिनेर हातेमालो गरेर अघि बढ्न सके मात्र देश विकास गर्न सकिन्छ भन्ने कुरा हाम्रा नेतृत्व तहमा बस्नेहरूले बुझे त हाम्रो देश पनि विकसित हुन्थ्यो हैन त पट्टु। पिन्टुले गम्भीर हुँदै भन्यो।

पट्टुले भन्यो, ‘हामीले मात्र देशको चिन्ता गरेर हुँदैन। सबैले गर्नुपर्छ। लौ म त निकै थाकेको छु। आराम गर्छु।’

‘त्यसो भए म पनि आराम गर्न गएँ’ भन्दै पिन्ट ुपनि आफ्नो कोठामा गयो।  

प्रकाशित: १४ चैत्र २०७८ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App