२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

इतिहासको सँगालो र सामाजिक प्रवृत्तिको ऐना हो ‘अग्नि’

पुस्तक

उमेश अवस्थी आदर्श

एक कविको बीस वर्ष लामो साधनको प्रतिफल रहेछ अग्नि। करीब २ घण्टामा पढेर भ्याउँदा–

मलाई तिमीले जस्तै

सबै कुरा बिर्सदै जाने छुट छैन

नसम्झीकन त कसरी गर्नू र

समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब?

यत्ति सम्झ कवि–

तिमी उभिने माटो तिमीलाई कसले दियो?

कसले बाल्यो त्यही माटोमा झरिलो अग्नि?

र यो पनि नबिर्स

तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर

खरानीमा छोपेर राखेका हुन्

तिम्रो भान्साको बिउ आगो

आरन बिटुलो छ भने

तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले

साँच्चै बन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ?

शासक र शोषितबिचको सम्बन्धलाई यही हरफले लेखिदिएको छ। आक्रोशका अग्नि हरफहरफमा लेखिएका छन्। समाजको यथार्थताको दर्पण बनेको छ अग्नि। ‘अग्नि’ महाकाव्यका रचयिता डा. नवराज लम्सालसँग मेरो न निकट सम्बन्ध छ न त गहिरो चिनजान नै। एकरात भेट भएको थियो सुदूर पश्चिमको एक होटेल। जब मैले हाम्रो छोटो बसाइँमा वर्तमान समाज र लेखनीबारे चिन्ता व्यक्त गरे तब कविले मलाई माथि हरफहरू सुनाउनुभयो।

मैले सोधें, ‘यी हरफहरू कसको कवितामा छन्?’

कविले भन्नुभयो, ‘जीवनकालको बीस वर्षे लामो यात्रामा ‘अग्नि’ नामक महाकाव्य लेखेको छु। त्यसैमा छ यो हरफ।’

उहाँ यत्ति भनिसकेपछि निदाउनुभयो। मेरो मनमा हुटहुटी चल्यो। म कतिबेला काठमाडौं पुगेर अग्नि पढ्न पाउला भन्ने। काठमाडौं पुगेपछि  हेरे, आफ्नै कोठाभरिमा। मलाई कुनै दिन कसैले ‘अग्नि’ दिए जस्तो लागेको थियो। कोठामा राति ११ बजे पुगेको थिए। हेरे कोठाभरि ‘अग्नि’ भेट्टिएन। रात जसोतसो कटाएँ।

मलाई किताब पढ्ने एक रोग लागको छ। म प्राय एकै बसाइमा पुस्तक पढी सिध्याउने गर्छु। दोस्रो दिन बिहानै हानिए पुतलीसडकतर्फ। खल्तीमा जम्मा पाँच सय रुपैयाँ थियो। पुतलीसडकको एकपसलमा भेटे ‘अग्नि’ तर दुर्भाग्य अग्निको मूल्य मसँग भएको पैसाभन्दा अलिक बढी रहेछ। पुस्तक नकिनी कोठा फर्के। दिउँसो कार्यालय गएँ। एक सहकर्मीबाट पाँच सय सापट मागे र अग्नि सँगै १/२ वटा पुस्तक थप लिएर आए। दिनभरको थकानको महसुसले साँझ ‘अग्नि’ खोल्न नै मनले मानेन। यो साँझ पनि गएरातिझैं निदाएँ।

बिहान ४ः३० बजेको समय, खोले अग्नि र अग्नि प्रवेशसँगै मैले पनि अग्नि प्रवेश गरे। अग्नि पढ्दापढ्दै कैयौ पटक आँसुहरू झरेछन्। म अलिक भावनामा बढी भावुक हुने मान्छे हुँ। अग्नि भित्रका इतिहासका दागहरू छन् भने विद्रोहका झिल्का पनि छन्। उसो त मैले बुझे अनुसार अग्निमा वैदिक सनातन अर्थात् आदिगुरु शिव हुँदै बाबा विश्वकर्मा र वर्तमान समाजको ज्वलन्त छुवाछुतको उदाहरणसम्मको इतिहासलाई टपक्कै टिपेको छ। ठूले कामीको जीवनगाथामा आधारित अग्नि हजारौं लुप्त ठूले कामीको जीवनगाथा हुन सक्छ र हो पनि।

अग्नि प्रवेश गर्दा कविले भावुक हुँदै भनेका छन्,

कसरी बिर्सन सक्छु पत्नीको प्रेम

र कसरी च्यात्न सक्छु

आशीर्वादको हत्केला हुर्किएको

आफ्नै छोरीको सपना?

यस्तै अगाडि बढ्दै जाँदा अग्नि प्रवेशमै कविले लेखेका छन्,

नेपाली परम्परामा वीरताको अर्थ के हो?

यसको अर्थ र उत्तर खोज्नुअघि

भन्नुस् दाजै को हुन् ठूले कामी

र किन लेखिएन जेठी तरबार निर्माणको त्यो इतिहास?

हामीहरू नेपाली वीर हौ त भन्दछौ र हाम्रा पुर्खाहरूले लडेका केही युद्ध कथाहरू पनि पढ्दछौ तर नेपाली परम्परामा वीरताको अर्थ नै धेरैले नबुझेका हुन् सक्छन्। युद्ध लड्नु मात्र वीरता होइन, युद्ध लड्न साहस थप्ने ठूले कामी जस्तै लाखौं लाख तरबार बनाउने कालिगडहरूको साहस पनि वीरता हो तर आजसम्म किन लेखिएन ती कालिगडहरूको  इतिहास। त्यस्तै जेठी तरबार निर्माणको इतिहास? बडो चिन्ता व्यक्त गर्दै आक्रोशित हुँदै लेखेका छन् कविले उल्लिखित हरफमा। यसैबाट प्रस्ट हुन्छ कि अग्निभित्र पक्कै पनि इतिहासको समीक्षा छ र वर्णन छ। जब कवि अग्निभित्र हिंड्दै छन् कविलाई छेलाङीले प्रश्न गरेको छ,

हेर्नु भो त?

के देख्नुभो कविजी–

नियत कि नियति?

चिन्ता कि चिन्तन

शरीर कि मन?

जात कि कर्म?

यो वर्तमान समय हो। हामी कहाँ छौ समाज खोज्नु पर्दैन। अग्नि महाकाव्यको सुरुवातमै छेलाङीले कविलाई गरेको प्रश्न पढे पुग्छ। हामी मन हेर्दैनौ शरीर हेर्छौ र थालिहाल्छौ शरीरको वर्णन गर्न। हामी कर्म हेर्दैनौ र कर्मको वर्णन गर्नु पूर्व नै थालिहाल्छौ जातीयताको नारा लगाउन।

सेतो हुँदैमा चौलानी दूध हुँदैन–वास्तविक कुरालाई यहाँ बिम्बित गरेको छ। सत्य यही हो शाश्वत यही हो मानिस दुई हात, खुट्टा,आँखा, नाक, कान र मुख हुँदैमा मान्छे बन्दैन। मान्छे बन्न मानिसभित्र संवेदना हुनुपर्छ भन्ने कुरालाई दर्साइएको यो एक हरफ मानव जीवनका लागि महत्त्वपूर्ण हरफ बन्न सक्छ,

स्कूल जान सकेका छैनन् नानीहरू

शिक्षाभन्दा बढी तिरस्कार छ

अपमान पिएर फर्कन्छन्

स्कूल गएकाहरू पनि।

वर्तमान समय र समाजको लागि यो हरफ ठ्याक्कै ऐना हो। अग्निमा छेलाङीले कविलाई यसरी नै भनेका छन्। हुन पनि शिक्षा सिक्न विद्यालय गएकाहरू आफ्नै कथा पढेर फर्किन्छन् र अबोध बालबालिकाको मनमा प्रत्येक दिन चिसो कथाका धारा बर्सिन्छन्। जसलाई म एक विद्यार्थी हुँ भन्ने थाह थियो उसलाई विद्यालयले नै त दलित होस् भन्ने कुरा दिन प्रतिदिन सिकाइरहेको छ। छेलाङीले कविलाई यहाँ बडो भावुक हुँदै सोधेका छन्,

कविजी

तपाईको सन्तान

हतियार चलाउन सिक्छ युद्ध सिक्छ

सेना बन्छ प्रहरी बन्छ विद्रोही बन्छ

तर आरनमा बसेर

हतियार बनाउन सक्दैन किन? लेख्नूस्।

वास्तविक कुरा यही हो। सेना, प्रहरी, विद्रोही मात्र हैन। आज हरेक मानिस हतियार चलाउन सिकिरहेको छ र चलाइरहेको छ तर आरनमा बसेर हतियार किन बनाइरहेको छैन? जसले हतियार बनायो उसैलाई थप संज्ञा दिइएको छ तर हतियार चलाउनेलाई ससम्मान सम्मान गरिएको छ किन? यस्तो प्रश्न यहाँ उठेको छ र यो उठ्नु जरूरी पनि छ।

इतिहासमै सच्याउनु छ इतिहासको गल्ती

र नयाँ इतिहास लेख्नु छ समयको!

कविले यहाँ एक चिन्तन तथा विचार व्यक्त गरेका छन्। यो निकै राम्रो कुरा हो। इतिहासमा एकपटक गरिएको एक गल्तीले भविष्यमा समेत त्यसको प्रभाव पर्दछ र व्यक्तिको इतिहास लेखे त्यो त्यही महान कार्य होइन तर समयको इतिहास लेख्नु आफैमा चुनौतीपूर्ण कार्य हो साथै समयको इतिहास लेख्दा वर्तमान र भविष्यलाई समयको इतिहासले राम्रोसँग दिशानिर्देश गर्ने गर्दछ,

संसारको के कुरा

तिम्रो आफ्नै गाउँ एउटा कुटुम्ब जस्तो छ त?

हाम्रो आजको परिवेश यस्तै छ।

यस पंक्तिमा गहिरो चिन्ता व्यक्त गर्दै गरेको प्रश्न हो यो। यो कुरा साँचो समेत छ हामी संसार र लोकको चिन्ता लिएर मनमा अनेकौ कुरा खेलाइरहेका हुन्छां,ै अनेकौ भाषण छाँटिरहेका हुन्छौ तर वास्तवमा आज गाउँगाउँमा झगडा छ र मनमुटाव छ। गाउँगाउँ जस्तो छैन र अब रहेन पनि।

बेहिसाब यस जिन्दगीको पनि

खास हिसाब छ

तर म कुन मष्तिष्कको क्यालकुलेट दाबूँ

र खास गणितको योगफलमा

कुन वियोगको गणना पढूँ?

यस पंक्तिमा कवि अलिक बढी भावुक भएको देख्छु र आफैमा खिन्न भएको देख्छु। इतिहासको ज्वारभाटा र अग्निको ज्वाला लेख्ने कविले यत्ति सानो कुरामा भावुक नहुनुपर्ने हो तर जिन्दगीको खास हिसाब गहिरो छ। यसर्थ गणितको योगफलबाट जिन्दगीको हिसाबकिताब गर्न सकिदैन। जिन्दगीको हिसाबकिताब गर्न मस्तिष्कको प्रयोग गर्नै पर्दछ।

समय फुट्दैन घडी फुटेझैं–कविताको यस वाक्यले युद्धमा मर्नै लागेको लडाकुलाई पनि आफ्नो कर्म गर्ने कुरामा हौसला दिन सक्छ। घडी फुट्ला समयको आँखा छोप्न सकिएला तर समयको दृष्टि रोक्न सकिदैन। दुःखसुख आउनेजाने प्रकिया चलिरहन्छ तर जिन्दगीको प्रकृति आफैंमा समय हो घडी होइन,

पराजयको पीडाले पोलेपछि

झुपडी झर्दा रहेछन् शासकहरू

यही बेला हो जनताले जित्ने क्षण।

यो कुरा हाम्रो समाजमा आज पनि जीवित छ। विश्व मानव समुदायको जुनसुकै पनि युगमा हेर्ने हो भने शासकहरू पराजयको पीडाले पोलेपछि मात्र आफ्नो धरातल सम्झन्छन् र झुपडीतर्फ फर्कन्छन्। यसको साटो विजयको हर्षले विभोर भएमा शासकहरू झुपडीमाथि बन्दुक समेत चलाउन तम्तयार हुने गर्दछन्।

सत्ताको न कान हुन्छ न आँखा–हामी अब धेरै वर्ष यसै धर्तीमा रहँदैनांै तर यो काव्य युगौंयुगसम्म रहिरहनेछ। यो पंक्तिको समालोचना युगले गर्ने छ। सत्ताले न कान सुन्छ न आँखा नै देख्दछ। सत्ताले देख्ने शक्ति मात्र हो। त्यो पनि भौतिक बलको राजकीय सत्ता। यसमा एउटा कुरा थप्छु हरेक शासकलाई कैयौ पटक पराजयपछि मात्र विजयको शिखरमा चढ्ने अवसर आओस्, त्यो पनि जीवनभरमा मात्र एकटपक।

राजा भएर मात्रै राजपाठ छ जस्तो नहुने रैछ–शासक भएर मात्र देश देश बन्दैन। शासले न संस्कृतिको संरक्षण गर्न सक्छ न पहिचानको नै। पहिचान र संस्कृतिको संरक्षणका लागि प्रजा सदैव खटिरहनुपर्छ भन्ने कुरा यही पंक्तिले दर्शाएको छ। यसैले आफ्नो राजपाठबारे नागरिक कटिबद्ध रहनै पर्छ। शासकको भरमा आफ्नो संस्कृति पहिचान प्रचलन छोडे, शासकले आफू अनुकूलको संस्कृति थाल्ने छ र संस्कार संस्कृति हराउने छ,

संसार प्रश्नहरूको घर हो

र जीवन उत्तरहरूको खोजी हो।

जीवनसँग पनि कवि निकै चिन्तित हुनुहुन्छ। साथै कवि जीवन–जगतसँग जानकार पनि हुन्छ। यसरी नै लेखिएको छ किस्साकिस्सामा अग्निको महाकाव्य। क्रूर निरंकुश शासनको मात्र होइन लोकतन्त्रमा आउने क्रूर शासक र क्रूर प्रवृत्तिको निकै मिठो भाषा प्रयोग गरेर लेखेका छन् कविले अग्नि महाकाव्य।

मलाई लाग्छ अग्नि महाकाव्य मात्र होइन अग्नि त जीवन हो जगत हो र दुई युगका पूरा इतिहास छन् अग्निमा। उसो त अग्नि ऋषि महर्षि विश्वामित्र वेदव्यास रामकृष्ण सबैको बारेमा वर्णन छ। सत्य, त्रेता, द्वापर र कलियुग सबै समेटिएका छन् तर आधुनिक नेपाल निर्माणको एक अभियान र आजको समयलाई कविले अग्निमा विशेष भाग बनाएकाले युद्ध तथा निरंकुश शासन र लोकतन्त्र तथा लोकतन्त्रबाट पिएको अपमानलाई दुई खण्डीकरण तरीकाले लेखेको हुनाले। अग्नि इतिहासको एक पुल हो।

महाकाव्यको अन्तिम भागतिर पुग्दा कविले जीवन दर्शको एक दर्शन महाकाव्यको पंक्तिमा भनेका छन्।

सुख पनि छ

तर दुःखीहरू देख्दैनन्

दुःख पनि छ  

तर सुखीहरू अनुभूत गर्दैनन्।

यो हरफ कविताको हरफ मात्र नभएर जीवन दर्शनको हरफ हो। साँचो कुरा यही हो हिमालको तिखो चुचुराले तराईको समथर फाँट अनुभूत गर्न सक्दैनन्। तराईको समथर फाँटले हिमालको तिखो चुचुरालाई अनुभूत गर्न सक्दैनन् चुचुरो र फाँट एकै ठाउँमा हुन सक्दैनन। जीवन पनि यही हो दुःख र सुख दुवै हुन्छन् तर दुःखी र सुखी एकसाथ सबै हुदैनन,

कविले यस्तै अर्को हरफमा भनेका छन्  

शासन आफैमा उत्तराधिकार हो

बोल उत्तराधिकारीहरू

विजयको अर्थ हत्याउनु हो कि

युद्धको सुरक्षा र योद्धाको संरक्षण पनि हो।

फूल नचिन्ने मौरीले  

के मह खोज्ला?

जुनसुकै शासन होस्, जस्तोसुकै युग आओस्, उत्तराधिकारी मात्र सत्ताको मार्गमा हुनेछन्। उत्तराधिकारीहरूको सत्ताको मार्ग मात्र बुन्नेछन्। यसैले शासक र उत्तराधिकारीहरूलाई बेलाबेलामा घचघच्याइरहनुपर्छ। शासक र उत्तराधिकारीहरूलाई उनीहरूको कर्मबारे बेलाबेलामा भनिरहनुपर्छ। नत्र शासक र उत्तराधिकारी स्वयं शासक, स्वयं राष्ट्र, स्वयं नै प्रजा हुँ भन्न थाल्ने छन्। शासक र शासकको उत्तराधिकारीलाई झुपडी त्यति राम्रोसँग ज्ञान हुँदैन पनि। यसकारण शासक र उत्तराधिकारीलाई नागरिकले हरबखत दबाब दिइरहनुपर्छ र शासक निरंकुश बन्न नपाओस् एकातिर यस्तो किसिमको लक्षणा दर्शाएका कविले अर्कातिर उत्तराधिकारीहरू र शासकलाई फूल नै नचिन्न मौरीको उपमा दिनुभएको छ। यो व्यंग्यात्मक बिम्ब मलाई निकै मनप¥यो।

कविले अन्तिममा भनेका छन्,

दियो दियौं धप्धप बल्छ बत्ती

सियो दियौं छोप्दछ लाज जत्ति

छिनो दियौं टुकटुक मूर्ति खोप्न

गाह्रो छ आफ्नै जिउज्यान छोप्न।

दोहोरो अर्थ लागिरहेको यो हरफमा कविले निकै चलाखी धुत्र्याइँ गरेका छन् एकातिर कलिको बढ्दो युगीन समयमा मान्छे आधुनिकताको नाममा जिउज्यान नछोपी हिंडिरहेका छन् भने अर्कातिर आरनमा आगो बालेर बस्नेहरू र गिट्टीमा भाग्य र जीवन खोज्नेहरूले वास्तवमा जिउ छोप्न लुगा नपाएका पनि छन्। अहिले पनि दलित भनिने शब्दसँग यस पंक्तिको निकै गहिरो सम्बन्ध छ। वास्तविक कुरा त्यही सियो र छिनोबिना हाम्रा जीवनका अधिकांश कुराहरू अधुरा छन र रहन्छन पनि। यसै पंक्तिसँगै कविले अर्को पंक्तिमा भनेका छन्,

बिना मनुष्यत्व मनुष्य बाँचे

बाँच्दैन स्रष्टा सृजना नबाँचे

गोडा नचल्दै गति चल्न सक्छ

दन्केर यो आगो बल्न सक्छ।

वर्तमान मनुष्यको चरित्रलाई टपक्क टिपेको यस हरफले शासकलाई चुनौती समेत दिएको छ।

पूर्वीय दर्शन र संस्कृत वाङ्मयसँग झुकाव रहेको अग्नि महाकाव्यमा प्रश्न त धेरै ठाउँहरूमा उठ्न सक्लान् र अवश्य नै उठ्नेछन्। उठ्नु स्वाभाविक हुनेछ तर दर्शन र इतिहासका साथै समाजका आला घाउहरू र विशेषतः जेठी तरबारको कथा समेटिएको यस महाकाव्यले नव युगलाई पुरानो इतिहास पढाउन अग्निको महत्त्वपूर्ण भूमिका रहने मेरो बुझाइ छ।  

प्रकाशित: १४ चैत्र २०७८ ०३:३५ सोमबार

अक्षर