२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बदला

लघुकथा

म्यामराज राई

ऊ मीठो बोल्थ्यो। पार्टीले पत्यायो। उसले टिकट पायो। उम्मेद्वार बनेर केन्द्रबाट घोषणापत्र ल्यायो। जहाँ निम्न कुराहरू उल्लेख थिए,

–हरेक गाउँमा सडक।

–एक घर एक रोजगार।

–घरघरमा धारा।

–बिजुली बत्तीमा भारी छुट आदि।

मैले पत्याएँ। गाउँलेले विश्वास माने। भोट हाल्यौं। ऊ संसद् भवन छिर्‍यो। मन्त्री पड्कायो। हाम्रो प्रतिनिधि त्यो पनि हाम्रै गाउँको मन्त्री बनेको थाहा पाउँदा असाध्य खुशी भयौं। भोलिपल्ट पाँच जना जति मिलेर उसलाई भेट्न उसको मन्त्रालयमा पुग्यौं। चुनाव ताका पाएको आश्वासनहरू सम्झायौं। संयोगले ऊ गरिबी उन्मूलन मन्त्री थियो। उसले अनेकन् सम्झिन खोज्यो। अहँ, सम्झिन सकेन। उसको जवाफ थियो,‘यस्तो खेस्रा बोकेर आउने त दिनमा हजार जना हुन्छन्। मैले दिएर साध्य छैन।’

निराशाको सास तान्दै सरासर गाउँ फर्कियौ। उसको निर्वाचित अवधि सकिन लाग्यो। केन्द्रन्बाट चुनाव तयारीका लागि गाउँ फर्कायो। ऊ गाउँ आइपुग्ने निश्चित भएपछि हामी स्वागतार्थ कार्यक्रम तयारीमा लाग्यौं। पुनः एकपटक जिताइदिनुस् भन्दै ऊ आइपुग्यो।

पाँच वर्षको कार्यकालमा विकासको नाममा एउटा सिन्को नभाँचेको उसलाई जुत्ताको माला लगाइदिई कालो मोसो दलेर गाउँ घुमायौं। सबै गाउँलेको सहमतमा उसलाई गाउँ निकाला  गर्‍यौं।

प्रकाशित: १२ चैत्र २०७८ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App