लक्ष्मण थापा
प्रतिभावान् भए पनि देशमा कामधन्दा नपाएपछि श्रवणकुमार अमेरिका हानियो। अवसरहरूको देश भनेर चिनिने अमेरिकामा उसको प्रतिभाको कदर भयो। भनेजस्तो काम र दाम दुवै मिल्यो।
नेपालमै आएर विहेवारी गर्यो र दुलैलाई पनि लिएर गयो। दिनहरू खुशीराजीले बिते।
छोराछोरीको रहर जाग्यो। छोरा जन्मियो, बडो रहरलाग्दो,घोर्ले।
छोरालाई सेकताप र हेरचाह गर्न आमा कुन्तीदेवीलाई ‘वाइड बडी’ जहाजमा चढाएर अमेरिका पुर्यायो।
बुढी आमाले गर्ने हेरचाह र जान्नेबुझ्ने छोरा बुहारीले गर्ने हेरचाहको तालमेल मिल्न गाह्रै पयो। तैपनि आमाको माया र छोराबुहारीको बाध्यताले बालकको रेखदेख हुँदै र हुर्कदै गयो।
बालक एकडेढ वर्षको पुग्यो। बालसुलभ स्वभावको कारणले खाना खुवाउन गाह्रो थियो। टिभी, आइप्याड वा मोवाइल नभै एक गाँस खाँदैनथ्यो।
‘यसलाई एउटा छुट्टै मोबाइल पनि चाहियो, मगाऊ त।’ एकदिन टिभी हेर्दै बिहानको खाना खाइरहेको बालकलाई हेरेर बुहारीले श्रवणकुमारलाई भनी।
‘हुन्छ, म अनलाइनबाट मगाइदिन्छु!’ श्रवणकुमार ल्यापटपमा आँखा गाडेर बोल्यो।
‘बाबु, मलाई पनि एउटा मोवाइल मगाऊ दे न! ह्याँ एक्लै हुँदा गाम्का साथेरू साँ मुख हेरेर बात मार्न मिल्ने, फेस्बुकाँ ‘नि हेर्न मिल्ने!’ कुन्तीदेवीले नातिको कपाल मुसार्दै आग्रह गरिन।
–हो त आमालाई पनि समय काट्न र अत्यास मेट्न मोवाइल भए हुने हो। ल त नि म एउटा।’ बोल्दाबोल्दै श्रवणकुमारका आँखा दुलहीका आँखासँग जुध्न पुग्छन्। तपैं बुढी मान्छेलाई किन मोवाइल–सोवाइल चाहियो? नचाहिने कुरा नगर्नुस्!
प्रकाशित: १२ चैत्र २०७८ ०७:४१ शनिबार