अल्पविराम पोखरेली
देउरालीको चौतारीमा गाला समातेर कन्दै बसेको साथी देखेर कान्छालाई माया लागेर सोध्यो, ‘किन गाला समातेर बसिराछौ ए श्यामे? के भो दाँत किराले खायो कि क्या हो हँ?’
– अँहँहँहँ, हो राधे हिजोदेखि दाँत दुखेर मोर्छु कि जस्तो भाछ।
–अनि डेन्टिस्टलाई देखाएनौ त? हिंड जाम डेन्टिस्टका।
–ह्या पैसा न कौडी बजारबजार डौडी जान्न म।
–हैन,के भन्छ यो? दाँत दुखेर मरणान्त भाछ पनि भन्ने अनि डेन्टिस्टलाई देखाउन जाऊँ भन्दा पनि अनेक कुरा गर्ने। होइन के खालका मान्छे हौ तिमी हँ?
–ग’को थिएँ, ग’को त सबै दाँत खोलेर सिमेन्ट भर्नुपर्च रे अनि सके सुनको नसके सुन र पित्तल मिसाएको क्राउन हो कि के जाति राख्नुपर्च रे अनि पैसा कति लाउँच नि भनेर सोधेको त फि सुनेर मेरो सात पुस्ताको सातो गयो। एकातर्फ दाँत बनाउँदाको सास्ती अर्कातर्फ डाक्टरको सातो खाने फि, त्यसको सट्टा त बरु टिल्ल रौसी खाएर जान्चु र डल्लेकी आमालाई रिस उठाम्चु अनि तिन्ले एक बक्सिङ मुखाँ हान्चे। त्यसपछि त मेरो यो दुखेको दाँत भाकभुक्कै झर्च, टन्टै साफ।
प्रकाशित: १२ चैत्र २०७८ ०७:२० शनिबार