१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

नेपालका लागि समर्पित जीवन

एक विदेशी प्रोफेसर थिए, जसले नेपालमा पढाउन त पढाएनन् तर आफ्नो सम्पूर्ण जीवन र कमाइ नेपाललाई दिए।

ती विद्वान् प्रोफेसरले गणितमा पिएचडी गर्दै गर्दा गणितका केही कठिन समस्या समाधान गर्ने फर्मुला निकालेका थिए र तिनलाई विश्वमा कहलिएका अनुसन्धानात्मक जर्नलमा छपाएका थिए, जसका कारण उनी पीएचडी गर्नासाथ क्यानडाको युनिभर्सिटी अफ् क्यालगरीमा निमन्त्रित भए र प्रोफेसर बने। थ्यौरी अफ् डिफरेन्सिएसन: अ युनिफाइड थ्योरी अफ् डिफरेन्सिएसन भिया न्यु डेरिभेट थ्यौरियम्स एन्ड न्यु डेरिभेटिभ्स’ गणितका क्षेत्रमा उनको एक अद्वितीय किताब हो।

विद्वान् गणितज्ञले क्यानडाको विश्वविद्यालयमा पढाएको एक वर्षपछि एक फ्रेन्च गणितज्ञले बोलाएकाले उनी त्यहाँको जागिर छाडे, आफ्ना सारा सरसामान साथीहरूलाई दिएर फ्रान्सको राजधानी पेरिस गए, त्यहीँ अध्यापन–अनुसन्धान गर्न थाले अनि उनको जीवन एक नेपाली महिला कलाकारको जीवनसँग बाँधिन गयो। पेरिसमै कला पढिरहेकी ती नेपाली युवती सामान्य कलाकार थिइनन्।

लैनसिंह वाङदेल लगायतका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारका समकक्षी र समकालीन थिइन्। पिकासो लगायत युरोपका ठुल्ठूला कलाकारसँग उनको चिनजान थियो तर उनीमा एक फरक विशेषता पनि थियो। उनी गान्धीवादी थिइन्, किनकि उनले बाल्यकालमा कस्तुरबा विद्यालय मधुवनीमा पढेकी थिइन्। त्यसपछि गान्धीको वार्धा आश्रममा र मुम्बईको जेजे स्कुल अफ् आर्टमा पढेकी थिइन्।

एक दिन आफ्ना होस्टेलमा बसेर गणित पढ्ने साथीहरूसँग विद्यालय परिसरमा हिँडिरहेकी नेपाली कलाकारलाई ती प्रोफेसरले देखे र मनमनै प्रेम गर्न थाले। धेरैपल्ट देख्दा क्रमशः प्रेम बढ्दै गयो, मानौं कुनै फूलको बिरुवा थियो, त्यो जुन बढेर ढकमक्क फुल्यो। सन् १९६५ को कुरा हो, एक दिन उनले ती नेपाली कलाकारका लागि शिफनको एक साडी किनेर उपहार दिनुभयो। प्रेमको अभिव्यक्ति त्यसरी आश्चर्यजनक रूपमा हठात् फुलेको फूलका रूपमा प्रस्फुटित भयो।

तर त्यो प्रेम विवाहमा परिणत हुने बिन्दुको नगिच पुग्यो, एउटा समस्या आयो। प्रेमिकाले विद्वान् गणितज्ञका सामू दुई सर्त राखिन्। पहिलो सर्त, विवाह गरे पनि सन्तान नपाउने। दोस्रो सर्त, प्रोफेसरले आफ्नी प्रेमिकालाई पत्नी बनेपछि पनि गान्धीवादी दर्शनको अनुशरण गरी आजीवन कलामार्फत नेपालमा समाजसेवा गर्ने छुट दिने।

प्रेमिकाको यस्तो कठिन सर्त सुनेर उनले सोधे, विवाहमा पनि यस्तो सर्त राखिन्छ र? तर प्रोफेसरले दुवै सर्त माने किनकि उनी प्रेमिकाका ती कठिन सर्त सुन्नुअघि नै यति गहिरो प्रेममा फसिसकेका थिए कि उनलाई त्यसबाट निस्कन असम्भव थियो। प्रेमको यो एउटा मीठो त्रासदी थियो, त्यसैले चाखलाग्दो। एकातिर यो कठिनाइ छिचोलेर विवाह हुन लागेको थियो भने अर्कोतिर नेपालमा अर्कै छटपटाहट।

एक कान दुई कान मैदान हुँदै त्यो कुरा महाराजाधिराज महेन्द्रकहाँ आइपुग्यो र त्यो थाहा पाउँदा राजा चिन्तित भए, किनकि कलाकारलाई राजाले स्वयंले खर्च दिएर पेरिस पढ्न पठाउनुभएको थियो। उतिखेर बीस वर्ष मात्रै भएकी ती कलाकारको काठमाडौंमा एकव्यक्ति चित्रकला प्रदर्शनी भएको थियो, जसको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए। भोलिपल्ट राजा पनि त्यो चित्रकला प्रदर्शनी हेर्न गए। चित्रकला देख्दा राजा खुसी भएर भर्खरकी कलाकारका सबै पेन्टिङ किनिदिए र सोधे, अब अरू के गर्ने विचार छ?

कलाकारले भनिन्– पेरिस गएर कलाको थप अध्ययन गर्न मन छ।

त्यसो भए म सबै कलाकृतिको मूल्य फ्रेन्च फ्रान्कमा दिन्छु। तर, तिमीले एउटा काम नगर्नू, विदेशीसँग बिहे नगर्नू। त्यसो गरयौ भने नेपाललाई ठूलो घाटा लाग्नेछ। लैनसिंह वाङदेललाई बेलायतबाट बोलाएर प्रज्ञाप्रतिष्ठानको सदस्य बनाएजस्तै ती युवतीलाई पनि नेपालमा बोलाएर आधुनिक कलाको विकासको काममा लगाउने राजाको मन थियो।

विदेशीसँग नेपाली कलाकारको विवाहको कुरा काठमाडौं आइपुग्दा छटपटाएका राजाले के हो कुरा बुझ्नू भनी लन्डनस्थित तत्कालीन राजदूत सरदार ईश्वरीराज मिश्रलाई खबर पठाउनुभयो, जो फ्रान्सका लागि पनि राजदूत थिए। राजदूत मिश्र सबै कुरा बुझ्न पेरिस पुगे र विद्वान् गणितज्ञ र उनकी नेपाली प्रियसीलाई भेटे। अनि उनले ती विद्वान् एक ऋषितुल्य सज्जन रहेको र विवाहपछि पनि नेपाली कलाकारले नेपालमै काम गर्ने सर्त राख्दा मानेका रहेछन् भनी दरबारमा जाहेर गरिदिए। श्रीमान् समेत नेपालकै हितमा जीवन समर्पण गर्ने खबर सुनेपछि राजाको पनि केही चित्त बुझ्यो।

तर पेरिसमा विवाह गरेपछि नवविवाहित दम्पती फेरि क्यानडामै गए, विद्वान्लाई तत्काल गणित पढाउने प्रोफेसरको जागिर पुनः मिल्यो। नेपाली कलाकारलाई पनि पेरिसमा सिकेका एचिङ लगायत कलाका धेरै विधा पढाउने विभाग खोल्न र त्यहीँ पढाउन अनुरोध आयो। तर, नेपाली कलाकारको स्वतन्त्र भएर हिँड्न चाहने र राजाको इच्छाअनुसार नेपालै फर्केर कला र समाजसेवामा समर्पित हुने विचार भएकाले उनले स्थायी जागिरको नियुक्ति लिन मानिनन्। बरु म निःशुल्क पढाउँछु भनिन्।

केही वर्ष पढाएपछि विदेशी विद्वान् प्रोफेसरले आफ्नो र आफ्नी नेपाली पत्नीको सबै कमाइ नेपालको समाजसेवामा पठाउने व्यवस्था गर्न लागे। त्यसैको परिणाम थियो, क्यानडामा सन् १९८६ मा स्थापित सोसाइटी अव् द फ्रेन्ड्स अव् नेपाल (सोफोन)। त्यो संस्थाले जति रकम नेपाल पठाउँथ्यो, त्यति नै रकम क्यानडा सरकारको कनेडियन इन्टरनेसनल डेभेलपमेन्ट एजेन्सी (सिडा) ले त्यसमा थपिदिन्थ्यो। अनि सबै रकम सन् १९८५ मा नेपालमा स्थापित भएको सिर्जनात्मक कलागुठीमा आउने भयो।

त्यसरी कलागुठीको संरक्षकत्वमा नेपाली कलाकार र शिल्पीहरूले निःशुल्क तालिम पाएर रेशम खेती, रेशमी कपडा बुन्ने, रंगाउने, गान्धीको चर्खाको र मसिनको प्रयोग गरेर धागो कात्ने कपडा बुन्ने, म्याक्रेमे र सिरामिक्स लगायत राम्रा कलात्मक कृति बनाएर आफ्नो जीविकोपार्जन गर्ने गर्नुका साथै नेपालको परम्परागत शिल्प र कलाको संरक्षण–संवर्धनमा योगदान गर्न थाले। नेपालका धेरै भागबाट आएका हजारौं युवायुवतीले आज त्यस्तो तालिम पाएका छन् र स्वावलम्बी जीवन बिताइहेका छन्।

नेपाली कलाकार पत्नी नेपालमै बस्थिन् भने उनका पति गर्मीको छुट्टीमा चार महिना जति नेपाल आउँथे। यसरी नेपाल र क्यानडाका बीच उनको आवतजावतका तीन दशक बिते। सन् १९९४ मा अवकाश भएपछि उनी नेपाल आए र पेन्सन लगायत आफ्नो जीवनको सबै कमाइ कला गुठीलाई दिए। कतिसम्म भने आफूलाई दाजुहरूले दिएको पैतृक अंशको रकम सबै कलागुठीलाई दिए। अनि, उनी धेरै वर्ष बिरामी भई हालै नेपालमै दिवंगत भए। उनको सद्गत पशुपति आर्यघाटमा भयो। उनी थिए, प्रोफेसर कृष्ण मुरारि गर्ग, (१९३२–२०२२)।

प्रकाशित: ५ चैत्र २०७८ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App