१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

फोटो

लघुकथा

खगेन्द्र बस्याल

दम्पतीहरू ठाँटिएर बिहे भोजमा आउने क्रम बाक्लिंदै थियो। जोडी नहुनेहरू नून खाएका कुखुराझैं झोक्राएका देखिन्थे। त्यहाँ भोजको मौकामा आफ्नो हैसियतको प्रतिस्पर्धा भइरहेको स्पष्टै झल्किएको थियो।

त्यहाँ फोटो खिच्नकै लागि विभिन्न सेल्फी पोइन्ट सजाइएका थिए। त्यहाँ उपस्थितमध्येका उज्ज्वलले आफ्नी पत्नीलाई तान्दै सेल्फी पोइन्टतिर लान खोज्दै थियो। उनी भने कुनै रुचि लिएकी थिइनन्।

बरु भनिन्, ‘अरूले खिचेको हेरेर रमाइलो गरौं न बरु।’ उसलाई श्रीमतीको कुरा पटक्कै मन परेन। यसैले आफूहरूलाई नजिकैबाट नियालेर हेरेको अन्दाजी बाह्र बर्से बालकलाई सोध्यो, ‘ए बाबू, भन त, मैले सँगै श्रीमतीलाई फोटो खिचौं भन्छु। उनीले टेर्दिनन्। हामीमध्ये कुनको बानी ठीक लाग्यो तिमीलाई।’

उसले भन्यो, ‘दुवैको बानी मन परेन।’

अचानक उसको कुरा सुनेर दुवै अचम्ममा परे। यसैले एकैसाथ सोधे,‘किन स्पष्ट रूपले बताऊ त?’

उसले दुवैलाई शिरदेखि पाउसम्म नियाल्दै गम्भीरतापूर्वक  जवाफ दियो, ‘मेरो विचारमा यो बिहे भोजको जमघट  पाहुनालाई नयाँ मित्रता गाँस्ने अवसरको साथै  हार्दिकताको नवीकरण गर्ने मौका  पनि हो। यहाँ आउनुभएकामध्ये केहीसँग तपाईंहरूको परिचय नभएको पनि हुन सक्छ। केहीसँग वर्षौंपछि भेट भएको हुन सक्छ। उनीहरूसँग फोटो खिचे पो आत्मीयताले नयाँ उचाइ लिने थियो। खाली आफू मात्रै फोटो खिच्दा अरूको नजरमा तपाईंहरू एक्लिएको आभाष हुँदैन त!’

प्रकाशित: ३० फाल्गुन २०७८ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App