१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

उघ्रिएको मन

कथा

गङ्गा कर्माचार्य पौडेल

‘ओहो अचेल यी अछुतहरू के विधि चढेका? त्यसैत्यसै छुँलाझैं गरी पेल्छन् वा...। धारामा पानी थाप्न गयो छोड्दै छोड्दैनन्। पहिला हामी सानो छँदा बाआमालाई मात्र हैन हामी केटाकेटीहरूलाई पनि देख्नासाथ दुई हात जोडेर जदौ हजुर भन्थे। अहिले त मुन्टो बटारेर हिंड्छन्।

ए हजुर! हजुर त यो गाउँको पण्डित हुनुुहुन्छ। सबैले मान्नुपर्ने मान्छे ती अछुतहरूलाई झपार्दिनुस्न्। गाउँमा त्यस्तो मनपरी गर्न पाइन्छ भनेर। पार्वतीले एकाबिहानै पतिलाई गुहार्दै भनिन्।

पण्डितले एकछिन यसो सोचेझैं गरेर भने,‘हुन्छ नि  भनिदिउँला तर तिमी पनि उनीहरू धारामा नआएको बेला पारेर पानी थाप्न जानु अनि सुन उनीहरूसित मुख पनि नचलाउनु नि।’

‘हिजो उनीहरूका बाउबाजे हाम्रै पुर्खाका जुठोपुरो खाएर हुर्केकाहरू आज हामीलाई हेप्न खोज्ने?बड...।

प्रजातन्त्र आयो भन्दैमा भुईमा न भाँडामा हुँदा रैछन् वा...। के ठान्या छन्? उनीहरू आफूलाई? गधालाई नुहाइदिएर गाई कहिल्यै हुन्न क्यारे।

पत्नीको  फतफत नसकिंदै प.भोलानाथ पल्लो गाउँका जगत क्षेत्रीको घरमा श्राद्ध गराउन हिंडे। जगत क्षेत्री दश वर्ष अमेरिका बसेर केही महिनाअघि मात्र नेपाल फर्किएका हुन्।

सिंगै एक दशक विदेशमा बिताउँदा त्यहाँको संस्कृतिले केही प्रभाव पारेको भए पनि आफ्नो संस्कार–संस्कृतिलाई बिर्सेका थिएनन् उनले। त्यसैले बाबुको तिथिमा श्राद्ध गर्न प.भोलानाथलाई घरमा आइदिन अनुरोध गरेका थिए।

भोलानाथ जगतको घर भएको ठाउँमा त पुगे तर त्यहाँ छाप्राको सट्टा भव्य महल ठडिएको देखी अचम्म मानेर बाहिरबाटै घरको भव्य नियालिरहे।

उनले पहिलेको कुरा सम्झेर मनमनै भने, ‘टुहराको दिन आउँछ भनेको साँच्चि हो रहेछ। जिम्मलको हली त्यो ठूले क्षेत्रीको (जगतको बाबु)आङमा कहिल्यै नयाँ लुगा परेन। सधैं जडाउरी लगाएरै म¥यो विचरा। अहिले यो घर भएको ठाउँमा उसको एउटा छाप्रो थियो। वर्षामा पानी चुहिन्थ्यो। त्यै पनि जिम्मलले बन्धकीमा पारेको कुरा सारा गाउँलेलाई थाहा छ। सोझो थियो विचरा ठूले क्षेत्री बाँचुञ्जेल जिम्मलको गुलामी गरेर भए पनि उसले छोरा पढाएर चाहिं बुद्धि पुर्‍यायो। आज यही आँखाले छाप्राको ठाउँमा महल देख्न पाइयो।’

यस्तै कुरा मनमा खेलाएर उभिइरहेको बेला एकजना केटाले घर्‍याक्क गेट खोल्यो। उसले पण्डित आएको थाहा पाएर होइन। सायद पसलमा केही सामान किन्न जान लागेको थियो। जे होस् केटाले पण्डितलाई देखेर भित्र बोलाएर आफूसँगै लग्यो र बैठक कोठमा बस्न अनुरोध गरी फेरि ऊ बाहिर निस्क्यो।

भोलानाथ थ्याच्च सोफामाथि बसेर बैठकमा सजाइएका सामानहरूमा आँखा डुलाउन थाले। कोठाका भित्ताहरूमा ठूलाठूला र आकर्षक तस्वीरहरू टाँगिएका थिए।

सोकेशमा थरीथरी विदेशी सामानहरू राखिएका थिए। एउटा कुनामा राखिएको एक्वरिएमको माछाहरूले कोठाको भव्यलाई अझ माथि उठाइरहेका थिए। त्यहाँ सजाइएका एकएक गरी हेर्दा पनि कतै भगवानको मूर्ति वा तस्वीर देख्न नपाउँदा भने उनलाई खल्लो लाग्यो।

झन्डै एक घण्टा जति बैठकमा प्रतिक्षा गर्दा पनि कोही नआउँदा उनको धैर्य अटल रहन सकेन। त्यसपछि सोफाबाट जुरुक्क उठेर प्यासेजमा ओहोरदोहोर गर्न थाले। केही बेरपछि जगतले कोठाको ढोका खोलेर बाहिर निस्कँदा पण्डितलाई देखेर भने, ‘बाजे नमस्ते, हिजो राति पार्टीबाट फर्किन अलि ढिलो भयो। त्यसैले राम्ररी निद्रा पुगेकै छैन।’

उनले  आङ तनक्क तन्काएर हाई गरे अनि बैठकतिर लगेर पण्डितलाई सोफामा एकछिन बस्दै गर्नुस् है भनेर फेरि कोठामा गए। भोलानाथलाई पनि बैठकमा बसिरहन मन लागेन। उनी त्यहाँबाट उठेर प्यासेजमा पुनः ओहोरदोहोर गर्न थाले।

केही बेरपछि जगतकी पत्नी सुमना आइन्। सुमनाले गुरु नमस्कार भन्दै दुई हात जोडिन्। पण्डितले अभिवादन स्वीकार्दै आशीर्वाद भनेर हात उचाले। तीनले गुरु भित्रै बसौं न भनेर फेरि बैठकमै लगेर सोफामै बस्न लगाइन्। भोलानाथलाई त्यहाँ बस्न मन थिएन र भने, ‘श्राद्धका लागि सामग्री तयार पार्दै गर्न पाए हुन्थ्यो।’

‘ए हस् गुरु एकैछिन म पहिला नुहाइहाल्छु है’ भनेर उनी पनि गइन्। पण्डित भोलानाथलाई अलि रिस उठ्यो। एक मन त श्राद्ध नगराई घर फर्कूंझैं पनि लाग्यो। फेरि आफूले आफैलाई सम्झाएर भने, ‘रिसले आफूलाई हानि, बुद्धिले शत्रुलाई’ भनेझैं मुखमा आएको गाँस छोड्नु हुँदैन। अमेरिकाबाट आएका छन्। दानदक्षिणा त टन्नै देलान् नि। एकछिन त बस्नै पर्‍यो। ‘दुध दिने गाईको लात्तो नि सहनुपर्छ भन्छन्।’

उनले मनमनै फेरि भने, ‘अचेलका मान्छेहरू साह्रै सोखिन छन्। पहिला कुखुराको डाँकोसँगै बिहानै उठेर ढिकीजाँतो, वस्तुलाई खोलेपानी गर्नुपथ्र्यो। घाम लागेर उठ्यो भने लाज हुन्थ्यो। त्यसैले राति बेलैमा सुत्नेर बिहानैै उठ्ने गर्थे। त्यो बेलाका मान्छेहरू उषाचर थिए भने अहिलेका मान्छेहरू निशाचर भएका छन्। जो रातभरि टिभी, कम्प्युटर,पार्टीभोज र डिस्कोमा रमाउँछन्। बिहानभरि सुत्छन्। मुसा, फ्याउरो,बाघ , सिंह, ब्वाँसो, लाटोकोसेरा जस्ता हिंस्रक जनावरहरू जस्तै रातमा सक्रिय हुन थाले अचेल मानिसहरू। यस्तो लक्षण राम्रो होइन।

‘बाजे,माफ गर्नुस् है अलिकति ढिला भयो।’

जगतको स्वरले मनमा कुरा खेलाई बसेका भोलानाथ झसंगै भएर यसो टाउकोे उठाएर हेरे। जगत  नुहाइधुवाइ गरेर कम्मरमा टावल बेरेर आएका थिए। उनको पछिपछि सुमनाले श्राद्धको सामान लिएर बैठकमा पसिन्। त्यसपछि कार्पेटमाथि पुराना पत्रिकाहरू फिंजाएर त्यसमाथि कागजका प्लेटहरू राखी धमाधम सिदा (दाल,चामल, नुन, घिउ,बेसार, आलु) राखिन्।

त्यो देखेर भोलानाथले भने, ‘दुनाटपरी छैनन्? कार्पेटमाथि श्राद्ध कसरी गर्ने? श्राद्ध गर्न त गोवर माटाले लिपेको चोखो ठाउँ चाहिन्छ।’

सुमुनाले भनिन्,‘अचेल कल्ले गाँस्ने दुना टपरी? पातका टपरी गाँस्न आउँदैन मलाई। सिन्काले उनेको पातभन्दा त कागजका प्लेटहरू नै सफा हुन्छन् नि।’

पत्नीका कुरालाई समर्थन गर्दै जगतले भने,‘हो बाजे, यो पातको जमाना धेरै पुरानो भैसक्यो। मान्छे अहिले कहाँदेखि कहाँ पुगिसके। हामी भने पातपतिङ्गर  गोबर, माटो प्रयोग गरेर उही जंगली जीवन जिइरहेका छौं। यी कागजका प्लेटहरू दुनाटपरीभन्दा चोखो, सफा र राम्रो पनि छ।’

उनले मनमनै भने, ‘मैले एक थोक बोले यिनीहरू दश थोक बोल्छन्। बिना अर्थ समय खेर फाल्नुभन्दा छिटो श्राद्ध सकेर घर जानु बेस। किन विवाद गरिहनु।’\

लल भैगो अब श्राद्ध सुरु गरौं। जल खोई त? भोलानाथले सोधेपछि जगत आफै गएर गिलासमा पानी ल्याए। भोलानाथले पितृको नाम उच्चारण गरी पहिलो चरणको कार्य सकेर दोस्रो चरणमा पिण्ड पकाउन ठाउँ नदेखेर सोधे, ‘अब कसौंडीमा दुध, घिउचामल हालेर पिण्ड पकाउनुपर्छ, कता पकाउने हो खोई?’

सुमनाले झटपट जवाफ दिइन्, ‘पिण्ड त राइसकुकरमा पकाएर कान्छीले अगिनै ठिक पारिसकिन्। म गएर ल्याउँछु भनेर थालमा भात राखेर ल्याइन्। त्यो देखेर भोलानाथले मनमनै भने, ‘पहिला जसोजसो बाहुन बाजे उसै स्वाहा भन्थे। अहिले जजमानले जसो भन्यो त्यसै पो गर्नुपर्ने स्थिति छ। आज कस्तो श्राद्ध गर्नुपर्‍यो। विदेशमा बसेकाहरूले गर्ने आधुनिक श्राद्ध भनेको यस्तै हुन्छकि क्या हो?  जजमान आफै पो सिकाउँछन् बा...। श्राद्ध नगरौं दक्षिणा हरिन्छ। गरौ अशुद्ध श्राद्ध कसरी गराऊँ? अहो कस्तो जमाना आयो भनेर भोलानाथको मनभित्र द्वन्द्व चल्यो।

सुमनाले थालमा ल्याएको भातलाई जगतले थालमै मुछेर डल्लो पारे। त्यसलाई पूजा गरेर तर्पण गरेपछि पण्डितले खोलामा सेलाउन पठाए। श्राद्ध सकेर भोलानाथ घर फर्कन लाग्दा सुमनाले पितृप्रसाद नखाई जानै दिइनन्।

तिनकै करले भान्छामा गएर दही, पुरी, तरकारी अचार स्वाद मनेर खाँदै थिए। त्यही बेला कान्छीलाई बोलाएर परिचय गराउँदै भनिन्, ‘गुरु, यिनै हुन् हाम्री कान्छी साह्रै मिठो खाना बनाउँछिन्। गुरुलाई चाहिं कस्तो लाग्यो कुन्नि?’

भोलानाथले पुलुक्क कान्छीको मुहारमा हेर्नासाथ खङ्ग्रङ्गै भए। किनभने कान्छी त्यहीं गाउँकी जुठे परियारकी कान्छी छोरी थिई। उनलाई खाँदै गरेको गाँस पनि निल्नु न ओकल्नु भयो। त्यसपछि बाँकी खानेकुरा थालमै छोडेर जुरुक्कै उठेर भने, ‘खाना मिठो छ तर अलि बढी भएर पूरै खान सकिनँ। अब  म जान्छु है।’

त्यसपछि त्यहाँबाट हिंडे।

बाटाभरि उनको मन भित्रै धेरै कुरा खेले। उनले केही वर्ष पहिलेको कानुनी व्यवस्था पनि सम्झिए अनि फेरि मनमनै भने,‘पहिला दलितहरूलाई अछुत भनेर छोइछिटो गरिन्थ्यो। २०२० सालमा राजा महेन्द्रले मुलुकी ऐन ल्याएर सामाजिक सुधार गरी उनीहरूलाई पनि समाजका आम नागरिक सरह नै समानताको हकअधिकार दिइएको थियो। त्यो बेलादेखि दलितहरूमा पनि जागरण आयो। अहिले लोकतन्त्र आएपछि त झन् दलितहरूको दिनै फिर्‍या छ अनि कोभन्दा को कम हुन्थे र?’

त्यही बेला झट्ट उनले एकपटक आफूमाथि घटेको एउटा अकल्पनीय  घटना सम्झिए, ‘म चार वर्ष पहिले नेपालगञ्ज गएको बेला सडक दुर्घटनामा पर्दा जीवन र मृत्युको दोसाँधमा परेको थिएँ। त्यतिबेला भिम विकले रगत नदिएको भए म त्यतिबेलै यो धर्तीबाट बिदा लिइसकेको हुन्थें। मैले त्यो कुरा बूढीलाई भनेकै छैन। यसरी मनमा कुरा खेलाउँदै जाँदा उनलाई बाटो कटेको पत्तै भएन।

एकसुरमा हिंड्दा घर नपसी अझ अगाडि पाइला बढाउन लागेका मात्र थिए पतिको बाटो हेरेर बसिरहेकी पार्वतीले हैन हजुर कता जान लाग्नुभएको? घर नपसेर भनेको स्वर सुने पछि झसंगै भएर घरतिर हेरे। पण्डितकी बाहुनीले उनका हातबाट सिदाको झोला समातिन्।

भोलानाथ आँगनबाट पिंढीमा उक्लेर राडी ओछ्याएर त्यसैमाथि थचक्क बसे। पत्नी पनि त्यहीं नजिकै बसेर झोलाको पोकाहरू एकएक गर्दै खोलिन्। त्यसपछि पितृप्रसादस्वरूप सुमनाले राखिदिएको पुरी, अचार र तरकारी झिकेर कपाकप खाँदै भनिन्,‘अचार त मिठो बनाउँदा रैछन्।’

भोलानाथ बाहुनीलाई पुलुक्क हेरे र मनमनै भने, ‘खाऊखाऊ दमैकी छोरीले बनाएको अचार मजासित खाऊ। खुब छोइछिटो गथ्र्यौ नि। अहिले नै भनिदिऊँ भने गाउँ नै थर्कने गरी कराउँछ्यौ। भैगो भन्दिन। उपयुक्त समय आएपछि भनौला नि।’

त्यही दिन साँझ भोलानाथ दम्पतीको एक्लो छोरा दिनानाथ बनारसबाट पढाइ पूरा गरी घर आइपुगेका थिए। छोरा आउँदा उनीहरूको खुसीको सीमा थिएन। पं.भोलानाथले आफू कर्मकाण्ड पढी जजमानी गरिरहेको हुँदा छोरालाई पनि त्यही विषयमा वनारस पढ्न पठाएका थिए।

दिनानाथले पनि बुवाको इच्छा अनुसार पढाइ सकेर वनारसमै दुई वर्षको कर्मकाण्डी पेशाबाट केही रकम पनि कमाइ ल्याएका थिए। त्यसैले आमाको भुइँमा खुट्टा थिएन।

साँझ छोरालाई मन पर्ने परिकारहरू बनाएर बाबुआमा, छोरासँगै बसेर खाँदा दिनानाथले भने,‘धेरै दिनपछि आमाको हातले बनाएको खाना खान पाउँदा पेट भरियो तर मन भरिएन। जति खाए पनि खाऊँखाऊँ लाग्ने स्वादिला छन् खानेकुराहरू भन्दै औला चाटीचाटी खाए।’

‘हो तेरी आमाको हातै मिठो छ। मलाई त आफ्नी बूढीले पकाएको जस्तो खाना अरू कसैले पकाको मिठो लाग्दैन।’ भोलानाथले भने।

पति र छोराले आफ्नो प्रशंसा गरेको सुनेर पार्वती दंग परिन्। त्यही बेला भोलानाथले छोरालाई विवाहको प्रस्ताव अघि सार्दै भने, ‘हेर छोरा, अब तँ ठूलो भइसकिस्। सक्षम पनि भइस्। अब आफ्नो खुट्टामा उभिन सक्ने भएपछि विहा गर्न ढिलो गर्न हुँदैन। हामीले तेरा लागि जोडा मिल्ने एउटी पढेलेखेकी सुशील र संस्कारी कन्या छानिसकेका छौं। रातमाटाका प्रकाण्ड विद्वान पण्डित हरिहर शर्माकी सुपुत्री गोमासित तेरो बिहे गर्ने निधो गरिसककेका भए पनि तेरो पनि विचार बुझूँ भनेर अहिले कुरा उठाएको।’

‘बुवा पनि, भर्खर त घरमा आएको छु। यस विषयमा बिस्तारै सोचौंला नि हुन्न।’ दिनानाथले भने।

‘किन सोच्नुपर्‍यो? हामीले हेरेपछि जात मिल्ने, पढेलेखेकी र राम्री छिन्। के तँलाई हामीले नराम्री स्वास्नी खोजौंला त?’ पार्वतीले थपिन्।

‘आमा पनि मैले त्यसो भनेको कहाँ हो र? बिस्तारै सोचौंला पो भनेको त।’ दिनानाथले भने।

‘अहँ, आज यतिखेरै निर्णय गर्नुपर्छ। पढेलेखेको मान्छे। हुर्केबढेको तन्नेरी देखेपछि छडँुलीहरू पछि लाग्न के बेर? अचेल गाउँमा अछुतहरूको विगविगी छ। कतै तिनीहरूले आफ्नो जालमा पारे भने...?’ शंका व्यक्त गरिन् पार्वतीले।

‘आमा पनि आज एक्काइसौं शताब्दीको जमानामा जातभातको कुरा गर्न छोड्नुभएको छैन। मानिस सबै एकै हुन्। कोही ठूलो कोही सानो र अछुत छैन। मानिसले नै आफ्नो स्वार्थका लागि जात छुट्टयाएका हुन्।’

छोराको कुरा सुनेर पार्वतीले उफ्रिंदै भनिन्,‘ त्यसो भनेर कहाँ हुन्छ? पहिले तिनीहरूले छोएको भाँडामा आगोको फिलुङ्गो राखी पानी खन्याएर झ्वाइइय गरेपछि मात्रै चोखो हुन्थ्यो। मान्छे मान्छे छुँदा पनि पानीको छिटो हाल्नुपर्थ्यो।’

दिनानाथले आमालाई सम्झाउँदै भने, ‘हेर्नुस् आमा, मानिस सबै समान छन्। उभित्रको गुण र दोषले मात्र मानिसलाई अरूबाट फरक छुटयाउँछ। मानिस ठूलो न उसको कर्मले हुन्छ न जातले। म एउटा उदाहरण सुनाउँछु। म जब हजुरहरूसित विदा भएर बनारस पढ्न भनेर गएँ। त्यहाँ पुगेको चार दिनपछि मलाई हनहनी ज्वरो आयो म बसेको घरबेटी शुद्ध ब्राह्मण मनिकर्णिका घाटका पण्डा थिए। उनले मप्रति मानवीय व्यवहार समेत नदेखाई बेवास्ता गरे तर म बसेको दुई घर पर नारद लोहारको घर थियो। उनले म विरामी भएको थाहा पाएर कोठामै मान्छे पठाई एम्बुलेन्समा राखी अस्पतालमा लगेर उपचार गराए।

निको नभएसम्म हेरविचार गरे त्यति मात्र कहाँ हो र? एक्लै बस्दा खानाको टायम मिल्दैन भनेर नतंग्रिएसम्म घरैमा राखी सेवा गरे। यदि उनीहरूले त्यसो नगरेका भए आज हजुरले मेरो मुख देख्न पाउनु हुन्थेन।’

छोराको कुरा सुन्नासाथ पण्डित भोलानाथले पनि आफ्नो मनको गाँठो फुकाउँदै भने, ‘म पनि नेपालगञ्ज गएको बेला सडक दुर्घटनामा पर्दा एकजना दलितले रगत दिएर नबँचाएको भए परलोक पुगिसकेको हुन्थें।

आज यसरी परिवारसँग बसेर आफ्ना अनुभूति सुनाउने मौका नै कहाँ मिल्थ्यो र मलाई। त्यो कुरा मैले तेरी आमालाई भन्न सकेको थिइन। किनभने अछुतको रगत परेको मेरो शरीरलाई उनले घृणा गर्लिन् भन्ने डरले नभनी बसें। उपयुक्त समयको पर्खाइमा थिएँ म। आज मुख खोलें। हेर पार्वती, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनी लक्ष्मीप्रसाद देवकोटाले मुनामदन कितापमा लेखेका छन्। सुनिहाल्यौ बनारसमा एउटा लोहारले छोराको ज्यान बचायो तर ब्राम्हण जस्तो उच्च जात भनाउँदो पण्डाले आफ्नै घरमा भएको परिवार सदस्य बराबरको एउटा मान्छेलाई मरे मरोस् भनेर छोडिदियो। अब तिमी नै भन दलित ठूलो कि ब्राह्मण ठूलो?

अर्को कुरा पनि सुन जगतको घरमा जुठे दमैकी कान्छी छोरीलाई भान्छे राखेका रैछन्। श्राद्धको नैवेद्य सबै उसैले पकाएकी रहिछ। मैले घरमा ल्याएको त्यही प्रसाद मजासित खायौ तिमीलाई केही फरक पर्‍यो त?

पति र छोराका कुराले पार्वतीको दिमाग नराम्ररी रन्थनियो। त्यसपछि दुई हातले चपक्क टाउको समातेर बसिन्।

उनले मनमनै भनिन्, ‘यदि त्यो दलितले बूढालाई रगत नदिएको भए...। यदि त्यो लोहारले छोराको उपचार नगराएको भए...। ओ होहो त्यतिखेरै पार्वतीले नराम्रो घटनाको कल्पना गरेर एक्कासि चिच्च्याइन नाइँ।

पण्डित भोलानाथ पत्नीलाई तुरुन्तै अँगालो मारे। त्यसपछि सोधे के भयो तिमीलाई? किन त्यसरी चिच्च्याएकी? उत्तिखेरै दिनानाथले पनि एक गिलास पानी ल्याएर आमालाई खान दिए।

पार्वतीले खुइइय लामो सास तानेर केही सम्झेझैं गरेर भनिन्, ‘म जन्मेको घरको वातावरण र म सानी छँदाको समाजको प्रभावले गर्दा दलितहरूप्रति म सधैं नकारात्मक रहें। छोइछिटो जस्तो सामाजिक भेदभाव गरेर उनीहरूलाई अन्याय गरें। आज मेरो आँखामा बाँधिएको पट्टी खुल्यो। गलत सोचाइको बादलले ढपक्कै ढाकेको मेरो मन छर्लङ्ग उघ्रियो। अब म छुवाछुत गर्दिन मरिजाउँ गर्दिन।’

आमाको विचारमा एकाएक परिवर्तन आएको देखेर दिनानाथ खुसी भए। पण्डित भोलानाथ त झन् खुसी नहुने कुरै भएन।

किनभने उनी ब्राह्मण भए पनि छुवाछुतको विरोध गर्थे। आमाले कसम खाएको मौकाको फाइदा उठाएर दिनानाथले झटपट आफ्नो विवाहको प्रस्ताव तेर्स्याउँदै भने, ‘आमा, म पण्डितकी छोरी गोमासित होइन,वनारसका लोहारकी छोरी बीनासित बिहा गर्छु है?’

छोराको प्रस्ताव सुनेर पार्वती मुसुक्क मुस्कुराइन् अनि उसको गालामा प्याट्ट हिर्काएर भनिन्, ‘बदमास कहींको।’ 

प्रकाशित: २७ फाल्गुन २०७८ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App