१) नारी एकता
सीता रेग्मी
‘राति अबेरसम्म निद्रा परेन, झिलीमिली घाम पो लागिसकेछ!’
मदनप्रसादलाई उठ्नासाथ चियाको तलतल लाग्यो। उनी भान्सातिर गए, सुनसान थियो।
‘हैन कहाँ गएछन् सासूबुहारी नै!’ मदन बाबैले आफैं चिया बनाएर खाए।
एक्लै भकाएकाले टिभीको साहरा लिंदै समय बिताउन थाले। प्रत्यक्ष प्रसारण आइरहेको रहेछ। नारी दिवसको उपलक्ष्यमा नारी एकताको नारा लाइरहेका थिए ठूलो समूहमा महिलाहरू। उनले अझै ध्यान लगाएर हेरे। उनले आफ्नी श्रीमती र बुहारीलाई कहाँ गए भन्ने पत्तो पाए।
उनी खुशी भए, ‘अब भने साँच्चै नारी एकता हुने भो। घरमा शान्ति हुने भो।’
दिउँसोको खाना खाजा सबै आफैं बनाएर खाए।
साँझ झपक्कै पर्दा बुहारी आइपुगिन्, ‘आमा खै त बुवा?’
उनले ससुरा बा एक्लै देखेर प्रश्न गरिन्।
‘नारी दिवस मनाउन गैहोला नि?’
बाको उत्तर भुईमा नपुग्दै उनी बर्बराउन थालिन्, ‘बुढेसकालमा केको नारी दिवस, मठमन्दिर जानु नि बरु। हेर बालाई एक्लै पारेर।’
कुराले ठिक्क पारिन् बुहारीले।
‘के भनिस् अरे, बुढापाकाले जानै नहुने? तँचाहिं बस्दा हुँदैन थियो घरमा? मुखाले कहीं नभाकी!’
सासूको आगमनसगै सुरु भएको चर्काचर्की चलिरहेको थियो मदनप्रसाद बा भने अघिको नारी एकताको नारा सम्झेर दिक्क मान्दै भित्र पसे।
२) नारी दिवस
कुञ्जदेवी उपाध्याय
अमर सुटबुट कसेर घरबाट जान लागेको देखेर स्वप्नाले भनिन्, ‘म पनि जान्छु आज एकछिन पर्खनु है।
–मलाई हतार छ, तिम्रो कता जाने काम छ आज?
–आज नारी दिवस हो नि। त्यहीं एकछिन जान्छु।
केही काम छैन। त्यहाँ गएर के गर्छ्यौ। आफ्नो घरमा काम गरेर बस। ती दिवसहरूको केही अर्थ छैन।
स्वप्ना केही बोलिनन्।
अमर कार निकालेर बाटो लागे।
हतारहतार घरको काम गरेर स्वप्न मिटिङतिर लागिन्। ठूलै जमघट थियो। ऊ अलिक पछिल्तिर बसिन्। अमरलाई त्यहीं देखेर आफू छलिएर बसिन्। मिटिङ सुरु भएको थियो।
विशिष्ट अतिथिको भाषणको पालो आयो। घोषणा गरियो अमरको नाउँ। उनले निकै मिठामिठा कुरा गरे। हात ताली पड्कियो।
स्वप्ना मनमनै विचार गर्दै आइन्,पुरुषको चरित्र साँच्चै दुईमुखे हुँदो रहेछ। बातैपिच्छे पत्नीलाई दोष दिएर झगडा गर्ने मानिसहरू बाहिर गएर नारीको गुण गाएको देखेर समग्र पुरुषहरूको प्रति उनको विश्वास हरायो।
पुरुष प्रधान समाजमा नारीको स्थिति दिवसमै सीमित रैछ!
३) सम्मान
दुर्गा वनवासी
निकै व्यस्त छिन् उनी। महिला मुक्ति, महिला उद्धार तथा महिला अधिकारसम्बन्धी कार्यक्रम र सेमिनारका नसकिने कार्यक्रम, उपस्थिति, सम्मान, तालिम, योजना, न्याय आदिका ठेलीले भरिएको हुन्छ दिनचर्या निकै सशक्त, न्यायप्रेमी र लोकप्रिय महिला अधिकारकर्मीको रूपमा काठमाडौंमा मात्र होइन, निकै टाढासम्म एउटा छुट्टै स्थान र पहिचान बनेको छ उनको। अन्याय र उत्पीडनमा परेका महिलाहरूको सधैं भिडभाड रहन्छ उनको आँगनमा। धेरैपल्टका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार अनि सम्मानहरूले झनै उचालेका छन् उनको न्यायिक छविलाई। उनका पतिको पनि सधैं न्यानो साथसहयोग छ उनको अभियानमा। आज पनि एउटा संस्थाले उनलाई सम्मान गर्दै थियो।
निश्चित समयमा कार्यक्रम सुरु भयो। अन्य केही सम्मानित हुनु हुने महिलाहरूका साथमा सम्मान ग्रहण गरिदिन उनको नाम पनि उच्च आदरसाथ बोलाइयो।
कार्यक्रमका प्रमुख अतिथिज्यूको बाहुलीबाट सम्मान ग्रहण गर्नुपर्ने थियो। सम्मान ग्रहण गरिरहँदा प्रमुख अतिथिज्यूसँग नजर जुधाउने सामथ्र्य भएन उनको। मन्दमन्द रहस्यमय मुस्कानसाथ प्रमुख अतिथिज्यूले सम्मान गरिरहँदा उनको मुहार अझै फुस्रो भएको थियो। मनमा आँधीबेरी चलिरहेको थियो। आँखाअघि २० वर्षअघि मूलघर विराटनगरमा जितेन्द्रकी दोस्री पत्नीको रूपमा भित्रिएर सन्तानहीन पहिलीलाई दुवैले मिलेर घरबाट निस्कासन गरेको दृश्य चलचित्रझैं घुमिरहेको थियो।
४) नाम
लक्ष्मी रिजाल
‘मलाई एक कुनो देऊ बुहारी। त्यहीं थुप्रन्छु।’
सासू आर्तनादमा बुहारी स्वर थियोे, कुनो हैन पूरै संसार दिएकी छु। यतै विलौना बिसाऊ तर हाम्रो नाम नबेच।’
‘पापधर्म सम्झी छोरा।’ उनको अर्को क्रन्दनमा पुत्र बोली छरियो, ‘मैले सेवा गरेरै यत्रो भवनमा बस्ने अवस्था सिर्जना गर्देको छु। मेरो नाम भुल्नू र रामनाम जप्नू। किनभने म आफ्नो नामलाई असाध्य प्रेम गर्छु।’
५) स्वाङ
गंगा खड्का
यसपटकको नारी दिवसलाई अघिपछिभन्दा पृथक् बनाउनुपर्छ। यसका लागि के गर्न सकिएला?’महिला मुक्ति संघकी अध्यक्ष गरिमाले बैठकमा कुरा राखिन्।
लामो समयसम्मको छलफलपछि सर्वसम्मतिबाट नारी दिवसको दिन वृद्धाश्रममा भोजन गराउने कुरा पारित भयो।
अत्यन्तै सुनियोजित ढंगले भोजन ग्रहणको कार्यक्रमको तयारी भयो। वृद्धवृद्धाहरू पनि उत्साहजनक रूपले भोजनमा संलग्न भए।
एकजना वृद्धा भोजनमा सरिक हुन मानिनन्। उनी घुम्लुङ सिरक ओढेर सुँक्कसुँक रोइन्। भोजनमा सरिक हुन वृद्धाश्रमका व्यवस्थापकले अनेक प्रयास गरेपछि बल्ल उनले भक्कानिदै बोलिन्,‘मेरी बुहारीको हातले दिएको खानेकुराको प्रतीक्षा गरेर बस्ने मेरो बानी बल्लतल्ल छुटेको छ। आज त्यहाँ गएर खाएँ भने भोलिदेखि फेरि घरको यादले सताएर खानै रुच्दैन।’
प्रकाशित: २७ फाल्गुन २०७८ ०५:४० शुक्रबार