समीर पाख्रिन
यात्रा चाहे त्यो एक गाउँबाट अर्काे गाउँको होस् वा एक शहरबाट अर्काे शहर अथवा एक देशबाट अर्काे देशकै किन नहोस् त्यो अत्यन्तै मनमोहक तथा रोमाञ्चक हुन्छ। कुनै पनि यात्रा वा भ्रमणबाट मानिसले अप्रत्यक्ष अथवा प्रत्यक्ष रूपमा धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने अवसर प्राप्त गर्दछन्। यात्रापछि मानिसमा सहज भावले नयाँ सोच, चिन्तन र चेतनाको विकास र विस्तार हुन्छ। नयाँ ठाउँ, समाज, परिवेश र भूगोलको अध्ययन अवलोकनबाट उसले आफूमा स्फूर्ति, जोश जाँगर, उमंग र ऊर्जा प्राप्त भएको महसुस सहजतापूर्वक गर्दछ।
विभिन्न उद्देश्य लिएर बर्सेनि लाखौं लाख मानिस एक ठाउँबाट अर्काे ठाउँको यात्रा गर्दछन्, रमाउँछन् र खुसी हुन्छन् तर तीमध्ये सबैले आफूले देखेका, भोगेका र अनुभूत गरेका कुराहरूलाई लेख्दैनन्। कतिले नजानेर गर्दैनन् त कतिले जानेर पनि गर्दैनन्। थोरै मानिस मात्र आफ्ना ती यात्रा अनुभूति र अनुभवलाई अक्षरमा उतार्छन्। ती विचारश्रृङ्खला र अभिव्यक्ति जब आख्यानका रूपमा पाठक समक्ष आउँछन् तब त्यसलाई हामी साहित्यमा नियात्रा भन्ने गर्दछौं।
नियात्रामा लेखकले आम सर्वसाधारण र जिज्ञासुहरूको पथप्रदर्शकको भूमिका निर्वाह गर्दछन्। अर्थात् आफू जताजता पुग्छन्, जस्तोजस्तो देख्छन् र अनुभूति गर्छन् ती कुरा पाठकहरूमाझ अभिव्यक्त गर्छन् अनि अन्त्यमा स्व–अनुभव र अनुभूतिलाई मनभित्र रहेको कल्पनाको दहमा एकत्रित गरी भावनात्मक र कलात्मक दृश्यमा रेखांकित गर्दछन्। आफू पुगेको वा डुलेको भूगोलको जनजीवन, सामाजिक आर्थिक अवस्था लगायतका कुरा लेखकहरू सहज रूपमा वर्णन गर्ने गर्छन्। लेखकको लेखनीबाट ती कुरा जन्मेपछि त्यहाँ जान नपाएकाहरू पनि लाभान्वित हुने गर्छन्।
नेपाली साहित्यमा यात्रा–नियात्रा विधाको इतिहास पुरानै छ। यसको साइनो खोज्दै जाँदा हामीले राजा गगनीराज र जंगबहादुर राणासम्म पुग्नुपर्ने हुन्छ। यसको इतिहास पुरानो भए पनि विस२०३० सालको दशकदेखि यता मात्र नियात्रा लेखनमा तीव्रता आएको पाइन्छ। नेपाली साहित्यमा अहिले धेरै स्रष्टा नियात्रा–यात्रा लेखनमा सक्रिय छन्। यो विधाका सयौं कृति प्रकाशित छन्। दुई दशकभन्दा बढी समयदेखि नियात्रा लेखनमा सक्रिय नवराज रिजाल ‘आँखाभरि देश,मनभरि परिवेश’ नामक कृतिका साथ यतिखेर हाम्रो माझमा आइपुगेका छन्। उनी नियात्राका वर्तमान समयका सक्रिय लेखक हुन्। यो कुराको पुष्टि २०७७ सालमा प्रकाशित उनको कृति आँखाभरि देश मनभरि परिवेशले गर्दछ।
कृति २०७७ सालमा आएर मात्र प्रकाशित भए पनि उनी नियात्रा लेखनमा धेरै पहिलेदेखि सक्रिय थिए भन्ने कुरा पुस्तकमा रहेका नियात्राहरूमुनि लेखिएको संकेतले पुष्टि गर्दछन्। पुस्तकमा भित्र रहेका रचनाको अन्त्यमा ती कुनकुन पत्रिकामा कहिले–कहिले प्रकाशित भएका थिए भन्ने उल्लेख गरिएको छ। यसले लेखकको लेखकीय जीवन जान्न र बुझ्न सहज हुन्छ। पुस्तकमा १६ रचना रहेकामा १४ रचना राष्ट्रियस्तरका विभिन्न पत्रिकामा प्रकाशित छन्। २ रचनाले मात्र यो कृतिमा सोझै प्रवेश पाएका हुन्। पुस्तकको पहिलो पाठ ‘मैले सबलाई बिर्सेछु’ २०५८ मा नेपालप्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘समकालीन साहित्य’मा प्रकाशित देखिन्छ। यसले उनी प्रकाशनमा हतारो नगर्ने शान्त स्वभावका लेखक भएको पुष्टि हुन्छ।
उनी बहु विधामा निरन्तर कलम चलाइरहेका स्रष्टा हुन्। धेरैले उनलाई पढेको, जानेको, बुझेको, सुनेको र बुझेको हुनुपर्छ भन्ने मेरो ठम्याइ छ। साहित्यका धेरै विधामा कलम चलाउँदै आएका रिजाल स्वभावले जति सरल, शान्त, मिलनसार, मृदुभाषी, कर्तव्यपरायण, वैचारिक र सैद्धान्तिक विषयमा निष्ठावान् देखिन्छन्। त्यति नै मात्रामा आफ्नो कर्म तथा कर्तव्यप्रति दृढ र अनुशासित पाइन्छन्। यो उनको सग्लो र अग्लो परिचय वा चिनारी पनि हो। यसैले उनलाई एउटा उद्देश्यमा निरन्तर हिँडाइरहेको पुष्टि हुन्छ।
२०७७ सालमा प्रकाशित ‘आँखाभरि देश मनभरि परिवेश’ उनको उन्नाइसौं कृति हो। त्यसपछि अन्य दुई कृति प्रकाशनमा आएका छन्। हालसम्म प्रकाशित कृतिको सूची यस्तो छ–अदृश्य पीडा (लघुकथा:२०५७), दयालु ढेडु (बालकथा:२०५८), डुमरवानाको सेरोफेरो (खोज अनुसन्धान:२०५८), बोक्सी बुढी (बालकथा:२०६०), बुद्धिमान न्याउरी मुसो (बालकथा : २०६२), छट्टु बाँदरको बिहे–बालकथा :२०६३), विखण्डित प्रवाह (कथा : २०६३), द थ्री फे्रन्ड्स (बालकथा: अङ्ग्रेजी २०६५), चुपचाप-चुपचाप (गजल : २०६६), रोजीको हवाइजहाज (बालउपन्यास : २०६७), माटो खोज्दै (लघुकथा :२०६७), नक्कलीको अक्कल (बालकथा : २०६७), जुनदाइ आए (बालकविता : २०६८), गुराँस फुलेपछि (बालकविता : २०६९), द बेबी काइट (बालकथा : अंग्रेजी २०७१), द स्ट्रिप्ड टाइगर (बालकथा : अंग्रेजी २०७३), गुपचुप गुपचुप (गजल : २०७७), आँखाभरि देश मनभरि परिवेश, अब उप्रान्त (कथा : २०७८) र भिखु र बल्छि २०७८)।
सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षकश्री पुरस्कार २०५६, नारायणी वाङ्मय पुरस्कार २०५७, राष्ट्रिय वाङ्मय सम्मान २०६३, अनेसास पुरस्कार २०६६, तेस्रो बालसाहित्य सम्मान २०७१, कालीगण्डकी साहित्य कला पुरस्कार २०७४, सुश्री लक्ष्मी कार्की स्मृति पत्रकारिता पुरस्कार २०७४, भोजपुरी साहित्यिक विकास मञ्चको सम्मान २०७६, डा.मनुमुक्त ‘मानव’ लघुकथा गौरव सम्मान २०७६, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान २०७६, प्रादेशिक प्रतिभा पुरस्कार २०७६, प्रेसकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार–२०७७, लघुकथा विशेष सम्मान–२०७७ जस्ता पुरस्कार तथा मानसम्मानद्वारा उनी सम्मानित र पुरस्कृत समेत भएका छन्।
मैदान, देवकोटा व्याख्यान संग्रह, मूच्र्छना, समायोजन, महेश आवाज, नेश्चिल, उत्तराद्र्ध, आलेखन, बालप्रज्ञा, प्रलेस, नवप्रज्ञापन लगायत विभिन्न पत्रपत्रिकाको सम्पादन तथा प्रकाशनमा सक्रिय उनी वर्तमानमा नेपाल साहित्यिक पत्रकार संघका उपमहासचिव र लघुकथा समाज नेपालका केन्द्रीय सदस्य समेत हुन्।
रिजालको प्रस्तुत नियात्रा कृतिमा देशका विभिन्न स्थानमा उनले फरकफरक समयमा गरेका यात्राको बयान छ। ती स्थानहरूमा पुग्दा उनले जेजे देखे र भोगे तिनीहरूलाई मनको चास्नीमा मजाले घोलेर पाठकसामु पस्केका छन्। उनको नियात्रा भौगेलिक वर्णन र विवरणमा मात्र सीमित छैनन्। उनले पुगेका ठाउँको विगत र वर्तमान कोट्याउँदै इतिहास र भूगोलको जानकारी पनि पस्कने प्रयास गरेका छन्। उनी जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँको भूगोल,जनजीवन, रहनसहन र वस्तुस्थितिको बयान गर्छन् र यसको जानकारी पाठकहरूका नाममा पस्कन्छन्।
भ्रमण लेखकको नितान्त व्यक्तिगत हो तर उनले आफू पुगेको ठाउँहरूको बयान यति मिठास किसिमले गरेका छन् कि देख्दै नदेखेका र पुग्दै नपुगेका पाठकहरूले पनि गतिलो आनन्द लिन कठिन छैन। यो उनको नितान्त मौलिक तर नौलो विशेषता हो। यसले ती ठाउँमा जान खोज्नेहरूलाई सहयोग त गर्छ नै जान नपाएकाहरूलाई पनि नगईकन जान्न र बुझ्न केही न केही भरथेग गर्छ। उनका यात्रा पढ्दा त्यहाँको जनजीवन र भूगोलको पनि गहिरो बोध सहज तरीकाले हुन्छ।
अहिले म उनको त्यही कृतिबारे केही लेख्ने जमर्कोमा छु। पहिले त यो किताब पढ्छु मात्र भन्ने सोच थियो तर पढेपछि नलेखी बस्न सकिन। तथापि कहिले के त कहिले के कारणले लेख्न ढिलाइ हुन पुग्यो। पहिलो पटक जब पढ्छु भनी कसिएको के थिएँ रुघाखोकीले ग्वाम्लङ्ङ अँगालो हाल्यो।
करीब पन्ध्र–सोह्र दिन लामो रुघाखोकीको प्रेमिल आलिंगनमा परें। त्यसैले ढिलै भए पनि पढेको छु भन्ने प्रमाणका लागि छोटकरीमा पुस्तकबारे केही लेख्न खोज्दै छु। यो मेरो विशुद्ध पाठकीय प्रतिक्रिया हो। कुनै सैद्धान्तिक वा गहन समालोचना पटक्कै हैन। यसकाण म यसलाई पाठकीय विचार वा दृष्टिकोण भन्न रूचाउँछु र मेरो लेख पढ्ने आदरणीय व्यक्तिहरूलाई पनि त्यही आधारमा बुझिदिन अनुरोध छ।
संग्रहमा समावेश पहिलो नियात्रा ‘मैले सबलाई बिर्सेछु’ हो। यसमा रिजाल झापा निवासी मित्र भगीरथ मिश्रलाई सहयात्री बनाएर बिर्तामोड, शनिश्चरे, खुदुनाबारी, सोक्तिम चिया कमान हुँदै इलामतर्फ बढेको र यात्रामा बाटो र बासमा भेटिएकाहरूको खुसी, गुनासो, दुःखपीडा सुन्दै एक यात्रीका रूपमा कहिले पैदल त कहिले मोटर चढेर इलाम पुगेको वृतान्त छ। यो क्रममा लेखकले सुखानीको जंगल र त्यहाँ मारिएका झापा विद्रोहका शहीदहरूलाई पनि बिर्सेका छैनन्। उनीहरूको साहदतले देशमा परिवर्तन ल्याउन सहयोग त गर्यो तर उनीहरूको परिवारको वर्तमानप्रति वर्तमान कतिको सचेत र सजग छ प्रश्न उठाएका छन्।
यस्तै पूर्व झापामा रहेको नेपालको सबैभन्दा होचो भूभागको नामले प्रख्यात कचनकवलको यात्रामा वीरगंज–काकरभिट्टा रुटमा चल्ने रैना सुपर एक्सप्रेस नामको रात्रि बसमा यात्रा गर्दाको होस् वा झापा पुगेर कचनकवलको अवलोकन र त्यसको दुरावस्थाबारे व्यक्त विचार, धारणा र अनुभूतिले ‘घुम्दैफिर्दै कचनकवल’ शीर्षकलाई जीवन्त तुल्याएको छ। के सोचेका थिए र के रहेछ यसको बयान पनि उनले यो नियात्रामा गर्न भुलेका छैनन्।
‘भावनाको बगरैबगर’ मा काठमाडौंको बल्खु र मकवानपुरको फाखेल हुँदै भीमफेदी पुग्ने बाटो उद्घाटनकै दिन हिँड्न लेखक र उनका मित्र नारायणजीलाई यात्राको अवसर जुरेको सन्दर्भ छ। फर्पिङ, फाखेल, कुलेखानी, हुँदै चिसापानी गढीसम्म पुग्दाको यात्रा वृतान्त सुखद् देखिए पनि भिमफेदी आइपुग्नै लाग्दा चिसापानी गढी नजिक दुर्भाग्यवश दुर्घटनामा परेर अप्ठेरो भएको सन्र्दभ छ। यो प्रसंगले पाठकलाई दुखित नबनाई छाड्दैन।
‘जिन्दगानी गोरटोमा’ लेखक र उनका सहयात्री पूर्व झापाको बिर्तामोड, इलाम, फिक्कल हुँदै भारतको पर्यटकीय सानो बजार मिरिक पुगेको सन्दर्भ छ। आफूले सानैदेखि सुने, पढे र बुझेजस्तै मिरिकमा नेपाली रहनसहन, भाषा,बोलचाल, नेपाली संस्कृति झल्किएको देख्दा खुसी लागे पनि अप्ठेरोमा पर्दा पनि नेपाली मुद्रा नचलेकामा दुःख लागेको लागेको प्रसंग कोट्याएका छन्। मनमा प्रश्न उठेको छ पचासौं किमि टाढाको अनेपालीभाषी भारतीय इलाकामा त नेपाली मुद्रा सहज रूपमा चल्छ भने नेपाली बहुल क्षेत्रमा नेपाली मुद्रा नचल्नुको तात्पर्य के हो? हो, उनको यो प्रश्न अत्यन्तै जायज र सान्दर्भिक छ।
नेपाली बजार पशुपतिनगर नजिकैको मिरिकले नेपाली मुद्रा प्रयोगमा नल्याउनुको कारण फरक भूगोल र नियम कानूनी बन्देज होला तर मुद्रा लेनदेनले व्यापार–व्यवसाय बढने, सम्बन्ध सुदृढ हुने कुरामा मिरिकवासीले सोच्नु आवश्यक देखिन्छ। भारतको बिहार र युपीसित सीमाना जोडिएको थुप्रै बजारमा नेपाली मुद्रा निर्बाध रूपमा लेनदेनमा आएको कुरा सबैलाई थाहै छ।
‘विदेशी बस्तीको सफर’मा उनी दमकको बेलडाँगीस्थित शरणार्थी शिविरमा पुग्दा देखेका दृश्यहरू छन्। आफूहरूले बिस्तारै बिर्सदै गएको संस्कृति र उनीहरूले संस्कृतिकै कारण देश छाड्नु परे पनि संस्कृति बिर्सन नसेको अवस्थाले उनको छाती कटक्क दुखेको प्रसंग छ र यसले जो कोहीलाई संवेदित नबनाई छाड्दैन। गरिरहेका धार्मिक अनुष्ठान, उनीहरूको दयनीय अवस्था, अप्ठेरा, असजिला आदिका बाबजुद माटो र जन्मस्थलप्रतिको प्रेम, सद्भावका साथ तथा देश अनि माटो गुमाउँदाको पीडा सुनेर लेखक भावविह्वल बन्छन्।
धार्मिक र पर्यटकीय विशेषता बोकेको प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डको बयान ‘सोद्धै खोज्दै गोसाईकुण्ड’ मा छ। धार्मिक आस्थाले भन्दा पनि भौगोलिक र प्राकृतिक सुन्दरताको मोहले त्यहाँको रमणीय दृश्यहरूको रसास्वादन गर्न आफू त्यहाँ पुगेको उनले बताएका छन्। यो कुराबाट उनी प्राकृतिक सुन्दरताका पक्षपाती रहेको पुष्टि हुन्छ।
‘हिँड्दै पाइला मेट्दै’ मा नेपाल बालसाहित्य समाजद्वारा घान्द्रुकमा आयोजित कार्यक्रमका लागि पुग्दाको अनुभव, मित्रहरूका तितो–मिठा व्यवहार अनि भनाइ र गराइ बिच रहेको भेद तथा चित्त बुझेनबुझेका कुराहरू लगायत घान्द्रुकको वर्तमान, यथार्थमा वास्तविक घान्द्रुक र त्यहाँका मनोरम दृश्यहरू, तथा समाज र परिवेशबारे उल्लेख गरिएको छ।
‘अमरसँग छत्रेदेउराली’ मा लेखकले तीन दिने नेपाल बन्दको समयमा पैदल यात्रागरी कीर्तिपुरबाट सीतापाइला हुँदै धादिङको छत्रेदेउरालीसम्म ४ घण्टा पैदल यात्रा गरेको बयान गरेका छ। बाध्यतापूर्वक हिँड्नुपर्दाको कष्टकर यात्रानुभूति, बन्दकर्ता र सरकारको सर्वसाधारण नागरिकप्रतिको हेलचेक्र्याइँ र गैरजिम्मेवारीपूर्ण रवैयाप्रति लेखकले कडा आक्रोश पोखेका छन्। उनी यो यात्रामार्फत अमरसिंह थापाको सम्झना गर्दै अब देशमा पुनः अमरसिंहहरूको आवश्यकता रहेको महसुस गर्न पुग्छन्। अमरसिंह थापाको इमानदारी र राष्ट्रप्रेमसित जोडेर देशलाई सम्झेको भाव यो नियात्रामा व्यक्त भएको छ।
‘हिमाल, हिउँ र हेराइ’ मा लेखकले हाम्रा हिमालहरू पग्लदै गएको र तिनीहरूको संरक्षण र संवर्द्धनतिर हाम्रो मन जान नसकेको सन्दर्भ भेटिन्छ। हामी मात्र वर्तमान बाँचिरहेका छौं। भविष्य पनि बाँच्नुपर्छ भन्नेतिर हाम्रो ध्यान जान सकिरहेकै छैन। उनले सेताम्मे हिमश्रृङ्लाको अवलोकनबाट आफू मन्त्रमुग्ध भएको एकातिर बताएका छन् भने अर्कातिर हिमश्रृङ्खला क्रमशः पग्लँदै जाँदा भविष्यमा आउन सक्ने विकराल अवस्थातर्फ पनि चिन्ता व्यक्त गरेका छन्।
‘सिन्धुलीगढी घुमेर हेर्दा’ मा उदयपुरको स्थानीय साहित्यिक पत्रिका उदयमञ्जरी र संगम अभियानको आमन्त्रणमा नेपाल साहित्यिक पत्रकार संघको सात सदस्यीय टोली उदयपुर पुगेर फर्कदा सिन्धुलीगढी मा लेखकले इतिहासका पाना मनमा खेलाएको सन्दर्भ छ। नेपाल एकीकरणको समयमा काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएका अंग्रेजी सेनालाई नेपाली बहादुरहरूले कसरी धुलो चटाए लेखकले बाटाभरि त्यो कुरा सम्झेका छन्। सिन्धुलीगढीको ऐतिहासिक महत्त्व र गोरखा सेनाले कसरी बहादुरीसाथ अंग्रेज सेनासित युद्ध गरी शत्रुलाई धुलो चटाए थिए त्यो गौरव गाथा सम्झिनु यसको खास उद्देश्य देखिन्छ।
‘स्मृतिमा बग्दाबग्दै’ मा कलङ्कीबाट गैंडाकोटस्थित मौलाकाली मन्दिर गन्तव्य रहेको लोकप्रिय बत्तीसौं स्रष्टा पदयात्रा कार्यक्रमको यात्रा वृतान्तसँगै मौलाकाली मन्दिरको विशेषता, सेनवंशीय राजाहरू र तत्कालीन अवस्थाबारेको भावनात्मक बयान छ।
‘भग्नावशेष पछिपछि’ मा शैक्षिक भ्रमणका क्रममा करीब ५० जना विद्यार्थी लिएर कपिलवस्तुको लुम्बिनी, बुटवल सिद्धार्थ राजमार्ग हुँदै पोखरा र त्यसपछि गोरखाको भ्रमण समेटिएको यात्रा वृतान्त छ। होटलको वादविवादलाई जेनतेन मत्थर पारेर अघि बढेसँगै पोखराका पर्यटकीयस्थलहरूको विशेषता लगायत गोरखाको ऐतिहासिक महत्त्व, रामशाह चोक, गोरखा दरबार, दरबार नजिकै ढलेको पृथ्वीनारायण शाहको सालिक र सालिकका बारेमा अभिव्यक्त विचारले लेखकको मन दुखेको र स्वार्थका लागि मानिस कसरी नाङ्गो बन्छन् भन्ने अभिव्यक्ति ज्यादै मार्मिक र हृदयविदारक छ।
‘सम्झनामा लेबरनगर’ एउटा साहित्यिक यात्राको स्मृति समेटिएको स्मरणीय यात्रा वृतान्त हो। यसमा लेखक कलानाथ स्मृति प्रतिष्ठानको निम्तोमा काठमाडौं हेटौडा हुँदै चितवनको नारायणी नगरपालिका वडा न–६ स्थित लेबरनगर बस्ती पुग्दाको विवरण छ। स्व.कलानाथ अधिकारीको व्यक्तित्व र कृतित्वसँगै उनले बसाएको लेबरनगर बस्तीबारे जानकारीले यस नियात्रालाई रोचक बनाएको छ।
‘कोटैकोटको नुवाकोट’ मा उनी लगायत नेपाल साहित्यिक पत्रकार संघका पदाधिकारीहरू नुवाकोट पुगेको, अधिवेशनपछिको पहिलो बैठक बसेको र त्यहाँको कार्यक्रममा भाग लिएको वृतान्त छ। लेखकले अहिलेसम्म नुवाकोट नपुगेका पाठकहरूलाई नुवाकोटको विभिन्न स्थानको जानकारीसँगै ऐतिहासिक महत्त्वका स्थानहरू समेत अवगत गराएका छन्।
नुवाकोटको अर्थ त्यहाँका बेलकोट, मालाकोट, धुवाँकोट, भैरुमकोट, प्यासकोट, कालिकाकोट, तुलजाकोट, सिमलकोट र सल्यानकोटसँग जोडिन्छ। ती कोटहरू मिलेर नुवाकोट बनेको हो। आजको नेपाल निर्माणको प्रमुख आधार वा किल्लाको रूपमा रहेको नुवाकोट प्राकृतिक रूपले समेत मनोरम छ। लेखकले नुवाकोटको विगत समेत कोट्याएर वर्तमानको जनजीवन, सामाजिक परिवेश आदि समेत उल्लेख गरेका छन्। यसले नुवाकोट र यसका आसपासका स्थानहरूबारें धेरै कुरा बुझ्न मद्दत पुर्याएको छ।
‘गुड्दै उड्दै रुविभ्याली’ मा लेखक २०७४ को स्थानीय तहको निर्वाचनमा आफू किन, कसरी र कस्तो अवस्थामा निर्वाचन अधिकृत बनेर धादिङको विकट गाउँपालिका रुविभ्यालीमा पुग्नुपर्यो। त्यसको यथार्थ विवरण छ। यसका साथै उनी त्यहाँ पुग्दा र पुगेपछि देखे–भोगेको परिस्थिति, परिवेश र समयको पनि जीवन्त चित्रण गरेका छन्।
उनी सहित निर्वाचन टोलीका अन्य सदस्य आकाशमार्गबाट निर्वाचनका लागि प्रस्थान गरेको तर लापा माविमा अवतरण गर्नुपर्ने हेलिकप्टर अवतरण गर्न असहज भएपछि नजिकैको भिरालो मकैबारीमा हेलिकप्टरमा रहेको भर्याङको सहयोगमा निर्वाचन सामाग्री सहित उत्रने क्रममा उनको टोलीलाई उपलब्ध दुई वटा मतपेटिकामध्ये सहायक निर्वाचन अधिकृतसँग रहेको मतपेटिका फुटेपछि टोली प्रमुख रिजाल अब मतदान कसरी सम्पन्न गराउने भन्ने चिन्तामा परेको ज्यादै मार्मिक विवरणछ।
‘मन गोड्दै सम्याउँदै’ संग्रहभित्रका १६ नियात्रामध्ये यो अन्तिम नियात्रा हो। यसमा साहित्यिक पत्रकारहरूको टोली प्रेस काउन्सिल नेपालले दाङमा गर्न लागेको साहित्यसम्बन्धी कार्यक्रममा भाग लिन दाङ पुगेर फर्केको सन्दर्भ छ। सन्दर्भ यति मात्र भए पनि बाटामा र कार्यक्रममा अनेकौं प्रसंग आएका छन् र लेखकले यसलाई टपक्क टिपेर नियात्राको रङमा घोलेका छन्। बाटामा भएका अनेक रोचक सन्दर्भलाई पनि उनले यहाँ जोडेका छन्।
समग्रमा भन्दा प्रस्तुत पुस्तकमा रहेका नियात्राहरूमा लेखकले हामीलाई कहिले पूर्वको झापा, इलाम, पशुपतिनगर, मिरिक, उदयपुर र सिन्धुलीगढी पुर्याउँछन् त कहिले घान्द्रुक, छत्रेदेउराली, रुविभ्याली, दाङ, लुम्बिनी, भैरहवा, बुटवल हुँदै पोखरा र गोरखासम्म पुर्याउँछन्। यसैगरी कहिलेकाहीं धुन्चे, गोसाईंकुण्ड, वालिङ, लेबरनगर, देवघाट, गैंडाकोट मौलाकालिका जस्ता स्थानहरूमा पुर्याएर त्यहाँको चिनारी प्रस्तुत गर्छन् । त्यति मात्र हैन आफूले भ्रमण गरेपछि ती स्थानहरूबारे मनमा उत्पन्न भाव, विचार र वृतान्त साह्रै सुन्दर तथा मन छुने शैलीमा सम्प्रेषण गरी पाठकहरूलाई आफूसँगै भावनात्मक रूपमा यात्रा गराउँछन्। यो उनको विशिष्ट गुण हो।
यस कृतिले हामी र हाम्रा पाठकहरूलाई पूर्व पश्चिमका कतिपय जिल्ला, केही हिमाली क्षेत्र तथा पर्यटकीयस्थलहरूको विस्तृत जानकारी मात्र पस्केको छैन ऐतिहासिक महत्त्वका विषयमा पनि प्रवेश गराएको छ। यी नियात्राहरू हामीलाई इतिहास र इतिहास पुरुषहरूप्रति स्मरण र सम्मान, भूगोलप्रति गौरव, सांस्कृतिक सम्पदाहरूप्रति मोह, धार्मिक मूल्यमान्यताप्रति सद्भाव राख्न पनि प्रेरित गर्दछन्। विचार तथा विश्वास जस्ता विषयलाई समेटी निजात्मक भावना, सघन विचार, सकारात्मक चिन्तन, उचित तर्क अनि दर्शनले सुशोभित र समृद्ध ‘आँखाभरि देश मनभरि परिवेश’ एक उत्कृष्ट नियात्रा कृति भएको मेरो ठम्याइ तथा मान्यता छ। यो मेरो आफ्नो धारणा हो।
मैले यो कृतिलाई अत्यन्तै पठनीय र संग्रहणीय पुस्तकका रूपमा हेरेको छु। यति सशक्त कृति नेपाली साहित्यका लागि प्रदान गरेकामा स्रष्टा नवराज रिजाललाई हार्दिक बधाई भन्नु म आफ्नो दायित्व पनि सम्झन्छु। उनको यस कृति धेरैभन्दा धेरै पाठकको मन जित्न सफल होस् र आगामी दिनहरूमा पनि उनको करकलमबाट यस्तै गतिला, रोचक जानकारीमूलक कृतिहरू जन्मिइरहुन् उनलाई फेरि पनि शुभकामना दिंदै म मेरो लेखको बिट यहीं मार्न चाहन्छु।
प्रकाशित: २५ फाल्गुन २०७८ ०६:०४ बुधबार