रमेश भट्टराई पुजारी
एउटा पोखरी थियो। पोखरीको छेउमा एउटा ठूलो सिमलको रुख थियो। रुखमाथि एउटा ठूलो गिद्ध र अन्य साना अनेकौं चराचुरुंगी बस्थे। तल पोखरीमा एउटा कछुवा लगायत थुप्रै जलचर बस्थे। गिद्ध रुखको टुप्पामा बसेर चारैतिर हेर्थ्यो अनि हेर्दैहेर्दै ऊ धेरैमाथि आकाशमा उड्थ्यो। जब ऊ रुखको टुप्पामा बसेर तल पोखरीमा रहेको कछुवाको सोझो व्यवहार देख्थ्यो, उसको मन पग्लिएर आउँथ्यो।
कछुवाले कसैलाई केही गर्दैनथ्यो,पानी खान आउने चराचुरुंगी लगायत सबैलाई बाटो छोडिदिन्थ्यो। उसलाई कसैले आक्रमण गर्न खोजेमा पानीमा फुत्त हामफाल्थ्यो र तल गएर लुक्थ्यो। कछुवाले कसैलाई आक्रमण गरेको गिद्धले कहिल्यै देखेन। कछुवाको सोझो व्यवहारले गिद्ध धेरै प्रभावित भयो र एकदिन तल ओर्लियो। नजिकैबाट कछुवाको निर्दोष आँखा देखेर गिद्धलाई झनै मन पर्यो र औधी माया पलायो। उसले कछुवालाई भन्यो, ‘कछुवा भाइ, तिम्रो व्यवहारले मलाई तिमीसँग मित्रता गाँस्न मन लाग्यो।’
त्यसपछि कछुवाले मायालु पाराले हेर्यो र भन्यो, ‘गिद्ध दाइ, मेरो बसाइ,मेरो हेराइ र मेरो सोचाइभन्दा तपाईं हजारौं गुणा माथि हुनुहुन्छ। हेर्नुस् त मेरो परिवेश,यहीं पोखरीमा घुम्छु,यहीं उपत्यकाभरि आँखा दौडाउँछु,यहीं घेराभित्रको आकाश छ मेरो दिमागमा, न म तपाईंलाई सहयोग गर्न सक्छु न काम लाग्न नै। तपाईं के आशा लिएर मसँग मित्रता गाँस्न चाहनुहुन्छ?
कछुवाको कुराले गिद्धलाई झन् ममता जाग्यो र नम्र भएर भन्यो, ‘भाइ,यहाँ सहयोगको कुरा होइन तिमी सन्तोषी छौ। थोरैमा सन्तोष गर्न सिकेका छौ किनभने तिमीले आफ्नो वरिपरि नराम्रो केही देखेका छैनौ। हेर मैले प्रायः पृथ्वी भ्रमण गरेको छु। तिम्रो र मेरो देखाइ फरक छ।
मैले मान्छेको संसार नियालेको छु। मान्छे जस्तो असन्तोषी र अपराधी त अर्को जीव त नै रहेनछ। मैले देखेको यथार्थतामा भ्रष्टाचार,विश्वासघात,निरंकुशता,द्वन्द्व, बलात्कार,गृहयुद्ध, काटाकाट र मारामार मात्र छ। कति हेर्नु यी आँखाले त्यस्ता खराब दृश्य। तिमीले थोरै देख्यौ। त्यसैले तिम्रो जीवन सरल छ। तिमी जति देख्दै जान्छौ,तिमी जति बुझ्दै जान्छौ, संसार झन् जटिल हुँदै जाने रहेछ भाइ। संसार जटिल हुनु नै जीवन जटिल हुनु रहेछ। यही जटिलताबाट जीवनमा सरलता ल्याउन म तिमीसँग मित्रता गाँसेर रमाउन चाहन्छु।’ कछुवाले गिद्धका कुरा बुझ्न सकेन तर गिद्ध र कछुवाको आँखा एक हुन खोज्दै थिए।
प्रकाशित: १९ फाल्गुन २०७८ ०४:५३ बिहीबार