लता केसी
लामो बिदापछि विद्यालय खुल्यो। विद्यार्थीहरू खुसी भए। कक्षाहरू नियमित सञ्चालन हुन थाल्यो। स्वास्थ्य विज्ञानका गुरु कक्षामा पस्नुभयो। विद्यार्थीहरू जर्यकजुरुक उठे। अभिवादन गर्दै सम्मान पस्किए। गुरुले कालोपाटीमा पढाउने विषय लेख्नुभयो,‘शारीरिक अंग।’
शरीरका विभिन्न अंगहरूको परिचय र महत्वबारे गुरुले आफ्नो विद्वता बाँड्नुभयो। सबैतिर आँखा घुमाउँदै प्रश्न सोध्नुभयो, ‘हाम्रा आँखाहरूले देखेका विषयलाई हातले के गर्छ?’
एउटा विद्यार्थीले भन्यो, ‘लेख्छ सर अनि साहित्य जन्मिन्छ।’
अर्काले विवाद गर्यो, ‘लेख्ने त हातले होइन, कलमले हो।’
तेस्राले भन्यो, ‘हातले त मन परेका कुरा टिप्छ अनि मन नपरेका फ्याल्छ, सर।’
सबै विद्यार्थी गलल्ल हाँस्न थाले।
कक्षा शान्त गराउँदै गुरुले संकेत गर्दे सोध्नुभयो, ‘यो के हो?’
जवाफ एकैस्वरमा आयो, ‘कान हो, सर।’
–अनि यो?
–नाक।
–नाकले सुँघ्छ, कानले सुन्छ हो?
सामूहिक स्वरमा– हो सर।
एउटा विद्यार्थीले सोध्यो, ‘नाकले सुन्छ, कानले सुँघ्छ’ भन्दा के हुन्छ र सर?’
‘मान्यताविपरीत! भोलिको पुस्ताले गलत सिद्धान्त लेख्नेछ।’
प्रकाशित: १८ फाल्गुन २०७८ ०४:३१ बुधबार