२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

धुम्राच्छादित

कविता

थापा लक्ष्मण

धुम्राच्छादित गगन

हतास भै आग्नेय गर्जन सम्प्रेषित गर्दैछ

वस्तीमा दुराचारी अट्टहास सही नसक्नु छ

तारकासुरको भोक

दादा इदी अमिनलाई थाहा छ

युद्ध पिपासा मनमा पालेर त हेर

कल्प कल्प

विवश युग बाँच्न अभिशप्त विश्व

कल्पक्षयको प्रतीक्षारत वसुधा, कठै!

म्लान मनुष्यता

हिटलरको चिहानघाट

प्रेत उठेर बेला बेलामा तनधारी बन्दछ

धेरै पटक लगायो

भोल्गाले रक्तिम तिलक

राइनको घाउका पाप्राहरू पटकपटक उक्काइरहे

रौद्र छ चाण्डालिक प्रान्त

थुरथुर कामिरहेका भँगेरा दीन

हिरोसिमाको खरानी उवाउ

दुर्दान्त घाउ

दुखिरहन्छ सिकन्दरको तरबारमा

खलिफाका दरबारका जगमा

कति मानव फोसिल चिच्याइरहे होलान्!

नरमेध अनुष्ठाता

चँगेज खाँको आराधना लिप्त छ

ट्यांकले पेलियोस् वा परमाणु बम विष्फोटन होस्

बाल्कनको घाउ

दुख्छ, बल्झन्छ र रगत पिप बग्दछ

शरशैय्या झेल्न विवश भीष्म

बन्द गर

अब मृत्यु गीतका कर्कश धूनहरू

बालकले तिम्रा ट्यांकतिर पिसाब गर्दैछ!

प्रकाशित: १५ फाल्गुन २०७८ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App