२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

भट्किएको आत्मा

कविता

प्रतिमा तामाङ

अनायासै टुक्रिएर मुण्टो बिनाको म

शरीर मात्र लिएर भट्किएको म

शिर छोडी आफ्नै जन्मथलोमा

उच्छिटिएर शरीर मात्र समुद्रको तीरमा

एकान्त खोजी हिंडेको बेलामा

मान्छेले मेरो छाया देख्दा पनि

भूत भन्दै भाग्ने गर्छ

म दुई हात फैलाएर लम्किन्छु पछिपछि

सहाराको खोजीमा

शहरको ठूलो भिडभाडभित्र म

एक्लै भौतारिएको बेला

अनायासै मेरो गाउँठाउँमा

मेरो शरीर खोज्दै हिंडेका

कति बुद्धिजीवीहरूले मलाई

खोजी निकाले अनि मेरो

मृत शरीरमा लडिरहेको शिरको

जोड्ने प्रयास भयो

अब म जीवित मान्छे बन्नेछु

उवाहरूको उपकारले म एउटा  

झुन्डभित्र सामेल हुनेछु

मेरो जीवनको आधा भाग छिन्नभिन्न थियो

रहल भाग अब कस्तो हुने हो

समयले बताउँछ

म अर्धजीवित नारी सहाराको

खोजमा भट्किएको आत्मा

पुनः नयाँ जन्मको खोजमा

भौतारिएको आत्मा

यसो गर्दा पो हुन्छ कि,

उसो गर्दा पो हुन्छ कि

हरथोक अज्माएको नारी म

कहाँदेखि कँहासम्म पछारिंदै–थचारिंदै

यहाँसम्म आइपुगेकी नारी म

समझदार बुद्धिजीवीहरूले मलाई

सम्झेछन्–बुझेछन्

अबुझ निकम्माहरूले

गलत सोचेछन्

कुनै जन्मको कुकर्मको फल होला भन्ठानेथे

तर,

यसै जन्मको सुकर्मको फल पाएँ

धन्यवाद हजुरहरू

आजीवन आभारी रहनेछु।

प्रकाशित: १५ फाल्गुन २०७८ ०६:४७ आइतबार

अक्षर