अल्पविराम पोखरेली
–ओहो कति साह्रो दुखेका हुन् यी हातगोडाहरू! ए बाबु आइजा न यसो अँठ्याइदे। ६२ वर्षको धनपतलालले छोराको स्वर सुनेर बोलायो।
–अफिसमा गयो हाकिमको कचकच, घरमा आयो बाको गनगन एकातिर, बुढीको गनगन अर्कातिर। होइन के बा! तपाई कति कराउन सकेको हो? दुख्या भए पेनकिलर छँदैछ, खाइदिए दुख्न छोडिहाल्छ नि।
–सकियो त्यो औषधि र त दुख्यो नि! ऐया नि बाबा के साह्रो दुखेको हो भन्या!
–छोराको मासु खानै बाँचेका रैचन् तिम्रा बा त हकि? कति कराउन सकेको हो!
बुहारी भएकीले ओठे मुख लगाइरहँदा पनि छोरा चुप लागेको देखेर धनपतलाई झन् असह्य भयो।
भोलिपल्ट बिहान छोरा चिया लिएर जाँदा बाको छातीमा एउटा कागज हत्केलाले अँठ्याएको देखेर के रैछ भनेर झिकेर हेर्यो। मुक्तकमा लेखिएको थियो–
भालेको दोस्रो–तेस्रो डाँकोमा सुनौलो बिहानी हुन्छ,
औकातभन्दा बहिरको धाक र धक्कु फुटानी हुन्छ।
हाई सुखै हुन्छ नि छोरा चितामा राखेर आगो झोसिदिए,
धेरै कराउने मेरो यो रोगी थुतुनो डढेर खरानी हुन्छ।
पुछारमा लेखिएको थियो–बुढेसकालमा बुढाको बुढी, बुढीको बुढाबाहेक अरू कोही सहारा हुँदैनन् भनेर तेरा हजुरबाले भन्नुहुन्थ्यो, हो रैछ।
प्रकाशित: १४ फाल्गुन २०७८ ०४:२८ शनिबार