यो टिप्पणी लेख्दै गर्दा युक्रेनको राजधानी किभमा रुसी सेना छिरेको छ र त्यसको प्रतिरोधमा चर्को गोली हानाहान भइरहेको छ। पश्चिमा मिडियामा रगतले लतपत सर्वसाधारणका तस्बिर छाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ‘पाठ पढाउन’ गरेको आक्रमणका कारण सर्वसाधारणमा हाहाकार मच्चिएको छ।
गएको वर्ष जुलाई महिनामा मात्र पुटिनले युक्रेनी र रुसी फरक छैनौँ, हामी एकै हौँ भनी घोषणा गरेका थिए। त्यसलाई पुष्टि गर्न उनले सात हजार शब्दको ऐतिहासिक निबन्ध वाचनसमेत गरेका थिए।
अधिकांश रुसी राष्ट्रवादीझैँ पुटिन पनि रुसी, युक्रेनी र बेलारुसीहरू ‘ब्रदर नेसन्स’ ठान्छन्। यस तर्कमा उनीहरूले रुसको प्रथम राज्य किभियन रुसलाई उभ्याउने गर्छन्, जसलाई नवौँ शताब्दीमा भाइकिङ राजा रुरीकिड्सले स्थापना गरेका थिए। भाइकिङ राजा रुरीकिड्सले त्यो बेला किभीय रुसको राजधानी किभमा बसालेका थिए। पछि भ्लादिमिर द ग्रेटको शासनका बेला उनले सन् ९७७ मा अर्थोडक्स क्रिस्चियानिटी अँगालेका थिए। यससँगै किभीय रुसको राष्ट्रिय धर्म अर्थोडक्स क्रिस्चियानिटी बन्न पुग्यो।
यसपछि १३औँ शताब्दीमा मंगोलहरूले किभीय रुसमाथि आक्रमण मात्र गरेनन्, राजधानी नै ध्वस्त बनाएपछि १५ औँ शताब्दीताका मस्को राजधानी रहने गरी नयाँ मुलुक बन्यो, जसको नाम रसिया (रुस) राखियो।
किभीय रुसको पतनपछि युक्रेन विभिन्न मुलुकहरूमा बाँडियो। १७ औँ शताब्दीसम्म आइपुग्दा युक्रेनका पश्चिमी भागहरू पोल्यान्ड र त्यो बेलाको हब्सबर्ग राजवंशले शासन गर्ने अस्ट्रियाको नियन्त्रणमा रह्यो। १८ औँ शताब्दीमा युक्रेनको पूर्वी भाग र खासगरी डाइपर नदीदेखि पूर्व रुसी साम्राज्यको भागमा पुग्यो। यहीबेलादेखि रुसी राष्ट्रवादीहरूले यसलाई आफ्नो अभिन्न अंगका रूपमा बुझ्नुका साथै किभको स्वतन्त्रताका रूपमा अथ्र्याउने गरेका छन्। तर युक्रेनीहरूले भने त्यस घटनालाई रुसले आधिपत्य जमाएको घटना मान्छन्।
साम्राज्यवादी रुसको सबैभन्दा प्रभावशाली महारानी क्याथरिन दि ग्रेटको समयावधिमा भने युक्रेनको स्थानीय भाषा र संस्कृति मासेर पूरै रुसीकरण गरियो। युक्रेनमा त्यो बेलाका प्रभावशाली राजनीतिज्ञहरूलाई देश निकाला गरियो। त्यसबेलादेखि नै युक्रेनलाई ‘छोटा रुस’ भनी नामकरण गरियो। यसलाई युक्रेनी राष्ट्रवादीहरूले भने दमनका रूपमा लिए।
यस दमनविरुद्ध १९ औँ शताब्दीदेखि पहिलो विश्वयुद्धसम्म त्यहाँका राष्ट्रवादीहरू संगठित हुन थाले। विश्वयुद्धले हब्सबर्ग साम्राज्य पतन गरायो भने रुसी साम्राज्य पनि पहिलेजस्तो रहेन। यही बेला युक्रेनीहरूले पहिलोपटक निकै छोटो समयका लागि स्वतन्त्रताको स्वाद चाख्न पाए। सन् १९२१ मा रुसी लाल सेनाले युक्रेन, पोल्यान्ड हुँदै अन्य मुलुकमा पनि समाजवादी शासनपद्धति स्थापना गर्दै अघि बढ्यो।
पछि युक्रेन सोभियत संघको सदस्य बन्यो। यसको उर्वर भूमि र ब्ल्याक सीसम्मको पहुँचका कारण यो क्षेत्र सम्पन्न हुँदै जान थाल्यो। शुरुमा सोभियत संघले युक्रेनी भाषा तथा संस्कृतिलाई प्रोत्साहन दियो तर पछि स्टालिननले रुसी भाषा र संस्कृतिलाई महत्त्व दिए।
जसका कारण युक्रेनको भाषा तथा संस्कृति खुम्चँदै जान थाल्यो। सन् १९३२–३३ ताका स्टालिनले ल्याएको कम्युन संस्कृति र सामूहिक खेतीले भने त्यहाँ कंगाली र भोकमरीको अवस्था ल्यायो। जसका कारण ४० देखि ७० लाख मानिसहरूको ज्यान गएको आकलन गरिन्छ। यस भोकमरीलाई स्थानीय भाषामा होलोडोमोर भनिन्छ।
यही अवधिमा स्टालिनले स्थानीय युक्रेनी, तातार र रुसीबीच घुलमिल गराउन २ लाख भन्दाको बसाइँसराइ गराए। यो बसाइसराइसँगै सन् १९५४ मा क्रिमिया युक्रेनको भाग रहेको घोषणा गरियो।
स्टालिनको पालामा युक्रेनी राष्ट्रवाद जोगियो र रुसविरोधी भावना बचिरह्यो। सोभियत संघ पतनअघि मिखाइल गोर्भाचेभले ल्याएका दुई नीति ग्लास्तनोस्त र परोस्त्रोइकाको नीति ल्याए। यो नीतिले कम्युनिस्टभित्र सुधार गर्ने कुरा थियो। यही मौकामा सन् १९९१ अगस्त २४ मा युक्रेनले आफूलाई स्वतन्त्र घोषणा गर्यो। ऊसँगै बेलारुस पनि स्वतन्त्र हुने क्रममा रह्यो। रुसबाट अलग हुन गरेको जनमत संग्रहमा ९० प्रतिशत युक्रेनी जनताले स्वीकार गरे। यस घटनाले रुसले बाल्टिक क्षेत्र र मध्य एसियासम्मको पहुँच गुमायो।
सोभियत ‘सेटलमेन्ट’का नाममा भएको यो क्षति रुसीहरूका लागि अकल्पनीय थियो। पुटिनजस्ता राष्ट्रवादी नेताका लागि यो अक्षम्य थियो।
१९९० को दशकमा स्वतन्त्रतापछि युक्रेनले राम्रा दिन भने देख्न पाएन। समाजवादी नीति हटाइएपछि उसले कडा आर्थिक चुनौती सामना गर्नुपर्यो। त्यसमाथि राष्ट्रव्यापी भ्रष्टाचार, गैरजिम्मेवार राजनीतिले जनता दिक्क हुन थाले। यसबाट सर्वसाधारणहरूले मसिहा खोज्न थाले। रुसी भाषा बोल्ने जनता स्वाभाविक रूपमा रुसतिर र खासगरी पुटिनको व्यक्तित्वबाट प्रभावित भई ढल्किए। बाँकी क्षेत्रका जनता भने युरोपेली संघमा आबद्ध हुन आतुर हुन थाले।
सन् २००४ को आम निर्वाचनमा रुसको प्रायोजनमा उठेका भिक्टर यानुकोभिचलाई अपदस्थ गर्न आन्दोलनहरू गरिए। उनले मतदानलाई गडबडी गरी राष्ट्रपति बनेको भन्दै उनका विरोधीहरू मच्चिए। खासगरी पश्चिमा मिडियाले भिक्टरविरोधी आन्दोलनलाई बढावा दिए। यस अवधिमा मच्चिएको आन्दोलनलाई ‘सुन्तले आन्दोलन’ (अरेन्ज रिभोल्युसन) भनी चिनिन्छ, यसले भिक्टर यानुकोभिच सत्ताच्युत गर्यो। उनीपछि राष्ट्रपति भएका भिक्टर युसचेन्को उनीभन्दा खराब देखिए।
त्यसैले सन् २०१० को निर्वाचनमा यानुकोभिच पुनः सत्तामा आए। उनलाई पूर्वीय र दक्षिणी युक्रेनमा बस्ने रुसी भाषीको निकै राम्रो सहयोग रह्यो। रुसले गर्ने सहयोग त छँदैथियो। एक हिसाबले नैतिक रूपमा भ्रष्ट युसचेन्कोप्रतिको अविश्वासले जनता पुनः रुसतिर फर्किएर हेर्न थालेको यो परिणाम थियो।
सन् २०१३ मा आइपुग्दा यानुकोभिचले युरोपेली संघको सदस्य हुन अस्वीकार गरे। युरोपेली संघको सदस्य राष्ट्रहरूले क्रमशः भौतिक प्रगति गरेको देखेका जनताहरू यसबाट रिसाए। उनीहरूले २०१४ को फेब्रुअरीमा भएको आन्दोलनमा उनलाई अपदस्थ गर्न खोजे। आन्दोलन यति हिंसात्मक भयो कि ८८ को ज्यान गयो। यसैमा पश्चिमा जासुसी संयन्त्रहरूले पनि खेल्ने अवसर पाए।
युक्रेनी इतिहासमा यस अवधिलाई युक्रेनीले ‘डिग्निटी अफ रिभोल्युसन’ भन्ने गरेका छन्। यस घटनालगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरूद्वारा घटाइएको ‘फाँसीवादी कू’को संज्ञा दिँदै तत्काल क्रिमिया र अन्य क्षेत्रमा बस्ने अल्पसंख्यक रुसी भाषीहरूको रक्षाको अपिलसँगै ‘आफ्ना जातिहरूका लागि उद्धार कार्यक्रम’ सञ्चालन गरे। उनले तत्काल रुसी भाषा बोल्ने युक्रेनीहरूलाई युक्रेनबाट अलग हुन उत्प्रेरित गरे। जसका कारण दोनेस्क र लुहान्स्क क्षेत्रमा गृहयुद्ध हुन थाल्यो।
यसपछि ती दुई क्षेत्रले आफूलाई स्वतन्त्र गणतन्त्रका रूपमा घोषणा गरे। युक्रेनले यसविरुद्ध सैनिक उपचार खोज्यो। यस गृहयुद्धमा १४ हजार सर्वसाधारण मारिए। फ्रान्स र जर्मनीले सन् २०१५ मा मिन्स्क सम्झौता गराउने प्रयास गरे। जसका कारण युद्धविरामको अवस्था सिर्जना भयो। यी दुई रिपब्लिक पुनः युक्रेनको भागका रूपमा रहे। यसको सीमामा रुसी सेना बस्यो।
सन् १९९० को फेब्रुअरीमा जर्मनीको एकीकरणको अवसरमा अमेरिकी विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) जेम्स बेकरले सोभियत नेता मिखाइल गोर्बाचेभलाई नाटोका सेनाहरू जर्मनीभन्दा एक इन्च पनि अघि नबढ्ने भनी आश्वस्त पारेका थिए।
यता बेलायती विदेश मन्त्री डग्लस हर्डले पनि १९९१ मा नाटोलाई विस्तार गर्ने आफ्नो कुनै योजना नभएको भनी आश्वस्त पारेका थिए तर भनेजस्तो हुन सकेन। हेर्दाहेर्दै जर्मनीपूर्वका नौ वटा पूर्वी युरोपेली मुलुकहरू नाटोका सदस्य राष्ट्र बन्न पुगे। यससँगै नाटोको सैन्य उपस्थिति पनि बढ्न थाल्यो। मस्कोले यसलाई अमेरिकी धोकाका रूपमा बुझ्यो।
सन् २००८ मा युरोपेली संघको सदस्य राष्ट्रका रूपमा आफूलाई मान्यता दिलाइयोस् भन्दै युक्रेनले निवेदन दिएको थियो। यसले चाहिँ रुस नराम्ररी झस्कियो। युरोपेली राष्ट्रको सदस्य हुनु भनेको त्यहाँ सैन्य उपस्थिति हुनु हो र युक्रेनमा गठबन्धन सेना उपस्थित हुनु भनेको आफ्नो नाकैअगाडि बन्दुक लिएर अमेरिकी सेना उभिनु हो।
जसरी क्युबामा सन् १९६२ को अक्टोबरमा रुसी सेनाले क्युबाको रक्षार्थ मिसायल ल्याउँदा अमेरिकालाई टाउको दुखेको थियो, अहिलेको रुसी टाउको दुखाई पनि ठीक त्यही हो। उसको सामरिक स्वार्थको नाकैमा नाटो सेनाले आणविक सहितका हतियारहरू तैनाथ गर्ने भएपछि रुसले आफ्नो प्रतिक्रिया दिएको हो। यसमा युक्रेनले चतुर्याइँपूर्वक काम गर्नुपर्ने थियो तर हालका राष्ट्रपतिमा कूटनीतिक चतुर्याइँ देखिएन। अर्कोतर्फ पश्चिमा शक्ति र रुसी शक्तिले युक्रेनको राजनीतिमा यति धेरै प्रभावित पारेर सम्बन्धहरू गिजोलिदिए कि अहिलेको यो अवस्था आउनु नै थियो, आयो।
यो खिचातानीमा सबैभन्दा बढी घाटा त सर्वसाधारणलाई छ। देशका लागि मर्ने मार्ने जमात त तुरुन्त तयार होला तर यो युक्रेनी संकटले लामो समयसम्म रुसले भनेजस्तो भाइभाइको सम्बन्ध नराम्रोसँग तिक्ततापूर्ण हुने र कहिल्यै पनि आत्मीय हुन नसक्ने अवस्थामा पुग्ने सम्भावना छ।
जसरी रुसी साम्राज्यका बेलामा स्वतन्त्रताको ढुकढुकी बढ्दै स्टालिनको पालामा उच्च बिन्दुमा पुगेको थियो र त्यसको परिणाम १९९० को स्वतन्त्रतामा गएर टुङ्गिएको थियो, यो तिक्तताले अझ कस्तो भूमिका खेल्ने हो, भविष्यले देखाउने प्रस्ट छ।
(विभिन्न समाचार स्रोतहरूबाट साभार)
प्रकाशित: १४ फाल्गुन २०७८ ०३:०६ शनिबार